Comments Add Comment

विस्फोटक पदार्थ उत्पादन क्षमतालाई दोब्बर बनाउँदै सेना

२३ पुस, काठमाडौं । नेपाली सेनाले विस्फोटक पदार्थको उत्पादन क्षमता दोब्बर बनाउन लागेको छ । मकवानपुरको सुनाचरीमा रहेको इमल्सन प्लान्टको उत्पादन क्षमता दोब्बर वृद्धि गर्न लागेको हो ।

केन्द्रीय सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार हाल प्लान्टले वार्षिक १२ सय मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ ।

योजना अनुरुप ल्याइएका उपकरणहरु पूर्ण रुपमा प्रयोगमा आएपछि क्षमता दोब्बर हुने उनले जनाए । केही उपकरणहरु ल्याउन अझै बाँकी नै रहेको अधिकारीहरु बताउँछन् ।

‘नयाँ प्यान्टको केही उपकरणको इन्स्टलेसन भइरहेको छ । त्यो प्रक्रिया पूरा भएपछि २४ सय मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन हुनेछ’, भण्डारीले अनलाइनखबरसँग भने, ‘यसले अहिलेको माग धान्न सक्छौं भन्ने हामीलाई विश्वास छ ।’

यद्यपि, सेनाकै एक अध्ययनले हाल वार्षिक ३ हजारदेखि ५ हजार टनसम्म इमल्सनको माग रहेको देखाएको थियो ।

के गर्छ इमल्सन विस्फोटक पदार्थले ?

सैनिक प्रवक्ता भण्डारीका अनुसार यो विकासका लागि आवश्यक पदार्थ हो । यसलाई ‘सिभिल एक्सप्लोसिभ’ पनि भनिन्छ । विशेषतः पहाडी क्षेत्रमा सडक निर्माणका क्रममा प्रयोगमा आउँछ ।

‘सडक निर्माणका क्रममा ठूल्ठूला पहाडहरु फुटाउनेदेखि भिरालो क्षेत्रमा काट्न र फोड्न यसको प्रयोग हुँदै आएको छ’, भण्डारीले भने । विकास निर्माणका अलावा सेनाले आफ्ना अन्य गतिविधिमा पनि यसलाई प्रयोग गर्दै आएको छ ।

हाल अरुण तेस्रो जलविद्युत् आयोजनादेखि हुम्लाबाट चीन जोड्ने सडक निर्माणसम्म सेनाले उत्पादन गरेको विस्फोटक पदार्थको प्रयोग हुँदै आएको छ । अधिकारीहरुका अनुसार डोल्पाका सडकमार्ग, कर्णाली करिडोर, मेलम्ची, फास्ट ट्रयाक लगायतमा पनि यहीँको इमल्सनको प्रयोग गरिएको छ ।

सेनाले निजी क्षेत्रका निर्माण कम्पनीहरुलाई पनि यो पदार्थ उपलब्ध गराउँदै आएको छ । तर, त्यसको निगरानीमा सेनाको एउटा टोली आफैं खटिन्छ । संवेदनशील पदार्थ भएकाले कति आवश्यक हुन्छ, त्यसको अध्ययन गरेर मात्रै निजी क्षेत्रलाई दिइने सहायक रथी भण्डारी बताउँछन् ।

निजी क्षेत्रले विस्फोटक पदार्थ खरिद गर्दा सम्बन्धित जिल्लामा बनेको कमिटीबाट स्वीकृति लिएर गृहमन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेनाको जंगी अड्डा हुँदै प्लान्टसम्ममा स्वीकृति पाएपछि मात्रै ती पदार्थ दिइन्छ ।

यो पनि पढ्नुहोस कोरिया र अमेरिकासहित १० देशका सेना अमलेखगञ्जमा

उत्पादन र प्रयोग

०५९ सालमा स्थापना भएर ०६० सालदेखि उत्पादन सुरु गरेको इमल्सन उत्पादन प्लान्टमा हाल ३० जना इञ्जिनियर कार्यरत छन् ।

जंगलभित्र रहेको यो प्लान्टमा आल्मोनियम र सोडियम नाइट्रेटको समिश्रणबाट विष्फोटक पदार्थ बनाइन्छ । यो निर्माण गर्ने प्रक्रिया दुई तहमा हुन्छ । पहिलो तहलाई ‘वाटर मिक्स’ र दोस्रो तहलाई ‘वोइल मिक्स’ भनिन्छ ।

प्लान्टमा कार्यरत प्राविधिकहरुका अनुसार पहिलो तहमा आल्मोनियम र सोडियम नाइट्रेटलाई पानीमा घोलिन्छ । त्यसपछि दोस्रो तहमा ‘वाक्स भ्यास्लिन’ लगायतका वस्तुहरुको समिश्रण गरिन्छ । त्यसपछि ‘सेन्सोडाइज’ गरेर ‘सेमी लिक्विड’ बनाइन्छ । योसँगै प्याकेजिङका लागि विष्फोटक पदार्थ तयार हुन्छ ।

हाइड्रोलिकमा राखेर क्यूब आकारमा यसलाई प्याक गरिन्छ । एउटा कार्टुनमा २५ किलो विस्फोटक पदार्थ राखिन्छ । त्यसमा १ सय ९० वटा विस्फोटक पदार्थ हुन्छ ।

प्लान्टमा उत्पादित विस्फोटक पदार्थलाई बाकसमा हालेर निर्माण स्थलमा लगिन्छ । त्यहाँ ड्रिल गरेर डेटोरनेटरसँग राखेपछि मात्रै विस्फोट हुन्छ ।

हाल प्लान्टमा दुई प्रकारका इमल्सन विस्फोटक पदार्थ उत्पादन हुँदै आएको छ । पहिलो २५ एमएम र दोस्रो ३२ एमएम । यो दई प्रकारका विस्फोटक पदार्थको क्षमताको आधारमा वर्गीकरण गरिएको हो ।

टनेल अथवा विष्फोट गराउनु पर्ने ठाउँमा चाहिने स्पेस अनुसार यसको प्रयोग गरिन्छ ।

यो पनि पढ्नुहोस सेनाको घोडा फार्मः ‘प्रियंका’देखि ‘लण्डन ब्वाई’सम्म

क्यान्सरको जोखिम

कतिपय अवस्थामा सेनाले इमल्सन उपलब्ध नगराएका कारण विकास निर्माणका गतिविधि रोकिँदै आएका छन् । आखिर किन त ? एक प्राविधिक भन्छन्, ‘विस्फोटक पदार्थ निर्माणका लागि कच्चा पदार्थको अभाव हुँदा हामीले कहिलेकाहीँ इमल्सन उपलब्ध गराउन सक्दैनौं ।’ यद्यपि, हाल त्यस्तो समस्या नरहेको ती अधिकारी बताउँछन् ।

बेलाबेला कच्चा पदार्थ नपाइँदा सेनाका लागि विस्फोटक पदार्थ उत्पादन चुनौतीपूर्ण बन्ने गरेको छ । हाल सेनाका लागि आवश्यक कच्चा पदार्थ भारत, चीन लगायतका देशबाट आयात गरिँदै आएको छ ।

प्यान्टभित्र काम गर्ने अधिकारीहरुको स्वास्थ्यमा असर पुग्ने चिकित्सकहरु बताउँछन् । उनीहरुलाई क्यान्सर रोगको जोखिम हुन्छ । तर, सेनाले त्यसबाट बच्नलाई माक्सदेखि अन्य विभिन्न सावधानीको उपाय अबलम्बन गरेको दाबी गरेको छ ।

त्यस्तै, प्लान्टभित्र काम गर्ने अधिकारीलाई पर्याप्त दूध खान दिने गरिन्छ । एक प्राविधिक भन्छन्, ‘दूधले फ्लक्चुएसन घटाउँछ । त्यसैले यसको सेवनलाई जोड दिइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment