+
+

कोरिया र अमेरिकासहित १० देशका सेना अमलेखगञ्जमा

गौरव पोखरेल गौरव पोखरेल
२०७५ पुष २२ गते २२:१२

२० पुस, बारा । नेपाल सेनाको प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयमा ६२ विदेशी अधिकारीले अभ्यास गरिरहेका छन् । ती विदेशी अधिकारीसँगै नेपाली सैनिक अधिकारीहरुले पनि संयुक्त अभ्यास र तालिम गरिरहेका हुन् ।

बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा रहेको प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयका अनुसार यो वर्ष तालिम लिने विदेशी सैन्य अधिकारीमा चीनबाट सहभागी हुनेको संख्या बढी छ ।

शिक्षालयका अनुसार चीनबाट २०, श्रीलंका र दक्षिण कोरियाबाट ८/८, पाकिस्तानबाट ७, भारतबाट ६, बंगलादेशबाट ५, अमेरिकाबाट ४, म्यानमारबाट २ र मलेसिया र केन्याबाट १/१ जना सैन्य अधिकारीले तालिम लिइरहेका छन् । अधिकारीहरुका अनुसार विदेशी अधिकारीसहित नेपाली सेनाले पनि संयुक्त अभ्यास गर्दै आएको छ ।

त्यसका अलावा सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका केही अधिकारीलाई पनि तालिम दिने गरेको छ । ती तालिमका कारण द्वन्द्वका बेला सुरक्षाका यी ३ अंगहरुलाई सहज हुने गरेको छ । यसअघि माओवादी द्वन्द्वका वेला ०५८/०५९ सालमा सेनाले सोही प्रकृतिको ‘भेरिफाइड’ तालिम नेपाल प्रहरीलाई दिएको थियो ।

‘बाँच्छु, लड्छु सधैंभरि’लाई आदर्श वाक्य मानेर ०३४ सालमा स्थापना भएको शिक्षालयले हालसम्म नेपाली र विदेशी गरी १३ हजार ४ सय ३२ जनालाई तालिम दिइसकेको छ ।

विभिन्न प्रकारका तालिम

शिक्षालयको उद्देश्य प्रतिविद्रोह र प्रतिआतंकवादको क्षमतालाई अभिवृद्धि गर्दै समकालीन तालिम तथा सैद्धान्तिक विकासबाट नेपाली सेनालाई आवश्यक जनशक्ति तयार पार्नु रहेको अधिकारीहरु बताउँछन् । सैनिक केन्द्रीय प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार विभिन्न देश सहभागी भएर तालिम गर्दा अनुभव र ज्ञान आदनप्रदानको मौका मिल्छ ।

‘हामी पनि विदेश तालिममा जान्छौं । उताबाट पनि आउँछन्’, तालिममा विदेशी अधिकारी सहभागी हुनु पछाडिको कारण खोतल्दै भण्डारी भन्छन्, ‘यस्तो कार्यक्रमले एक्सपोजर पनि दिन्छ ।’ उनका अनुसार नेपाली सेनाले विदेशीलाई तालिम दिन थालेको ०६७ सालबाट मात्रै हो ।

हालसम्म तालिम लिने अधिकांश अधिकारीहरुले नेपाली सेनाको प्रशंसा गर्ने गरेका छन् । सैनिक प्रवक्ता भण्डारीले अनलाइनखबरसँग भने, ‘हालसम्मका सहभागीहरुले राम्रो फिड ब्याक दिएका छन् । प्रोफेसनल तालिम र दक्ष प्रशिक्षकहरुका कारण हरेक वर्ष तालिम लिने विदेशी अधिकारीको संख्या बढ्दो छ ।’

प्रशिक्षकहरुका अनुसार तालिममा युद्धको समयमा जंगलमा खानेकुरा केही नहुँदा कसरी बाँच्ने भनेर पनि सिकाइन्छ

हाल शिक्षालयमा प्रति–आतंकवाद र जंगल वारफेर तालिमसँगै प्रशिक्षक प्रशिक्षण, सूर्य किरण, महाहन्ट लगायत सञ्चालित छन् । अपरेश सूर्य किरण सबैभन्दा लामो समयसम्म चलेको संयुक्त सैन्य अभ्यास हो । अहिलेसम्म यो अभ्यासको १६ औं श्रृङ्खला सम्पन्न भइसकेको छ ।

यो अभ्यास वर्षमा दुई पटक हुने गरेका छन् । अधिकारीहरुका अनुसार यो एक पटक नेपालमा हुन्छ भने अर्को पटक भारतमा हुने गरेको छ । नेपालमा बाराको यो शिक्षालयमा हुने तालिम भारतमा भने अधिकांश समय मिजोरममा भएको छ ।

शिक्षालयमा दिइने अर्को चर्चित तालिम भनेको अपरेशन ‘महाहन्ट’ हो । नेपालका राष्ट्रिय निकुञ्जहरुमा हुने गरेको वन्यजन्तुको चोरी, सिकारीविरुद्ध यो अपरेशन चलाइएको हो ।

अधिकारीहरुका अनुसार राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षणतिर हुने चोरी शिकारीलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा यो तालिम केन्द्रित हुन्छ ।

ती तालिमहरुका अतिरिक्त हतियार, बारुद लगायतको विषयमा पनि शिक्षालयमा तालिम दिइन्छ । सैन्य अधिकारीहरुका अनुसार शिक्षालयमा तालिम दिने कतिपय अधिकारीहरु स्थायी दरबन्दी भएका छन् । त्यस्तै, कतिपय अधिकारीहरुलाई भने काजमा ल्याएर पनि खटाउने गरिएको छ ।

रात्रीकालीन समयमा पनि तालिम

जंगल क्षेत्र बढी ओगटेको शिक्षालय १ सय १३ विगाहामा फैलिएको छ । यहाँ राति पनि तालिम गर्न सकिने व्यवस्था मिलाइएको छ । तालिमको प्रकृतिअनुरुप रातिको समयमा अभ्यास गराइने प्रशिक्षकहरु बताउँछन् ।

कतिपय तालिमहरु शारीरिक पक्ष ओरियन्टेड पनि हुन्छन् । त्यस्तो अवस्थामा कतिपय विदेशी प्रशिक्षार्थीलाई गाह्रो हुने गरेको अधिकारीहरुको अनुभव छ । ‘जंगलमा झोलाभरि कम्तिमा २० किलोको सामान बोकेर हतियारसहित दौडिने लगायतका कामहरु घन्टौंसम्म गराइन्छ’, एक सैनिक अधिकारीले भने ।

अधिकारीहरुका अनुसार यहाँ हुने तालिम प्रकृतिअनुसार अवधि निर्धारण हुन्छ । प्रशिक्षकहरुका अनुसार तालिममा युद्धको समयमा जंगलमा खानेकुरा केही नहुँदा कसरी बाँच्ने भनेर पनि सिकाइन्छ । यो तालिम ३ दिनदेखि एक हप्ता वा त्योभन्दा बढीको पनि हुन्छ ।

समयअनुरुप दक्ष जनशक्ति उत्पादन गर्दै शिक्षालयका प्रशिक्षकहरुको संख्या बढाउनु आवश्यक देखिएको छ

जसमा सेनालाई जंगलमा पठाइन्छ । तर, उनीहरुलाई खानेकुरा केही लग्न दिइँदैन । ‘हामीले पहिल्यै जंगलमा केके जरिबुटी, फलफूल र कन्दमुलहरु पाइन्छन् भनेर सिकाइसकेका हुन्छौं । त्यसपछि जंगलमा खुला छाडिदिने हो’, एक प्रशिक्षकले भने, ‘त्यसपछि उनीहरु आफैं गएर अनुभव गर्ने हो ।’

जंगलमा पानी कसरी भेट्टाउने भन्ने विषयमा पनि तालिममा समावेश हुन्छ । ‘गिठ्ठा, भ्याकुर जस्ता चिजहरु चिनेर पकाउने पनि अभ्यास हुन्छ’, ती अधिकारीले अनलाइनखबरसँग भने । त्यसक्रममा जंगलभित्र ‘होस्टाइल इन्सर्जेन्ट’ पनि राखिन्छ । युद्धको समयमा कसरी तत्काल विपक्षीको सामाना गर्ने भनेर यो प्रयोग गरिँदै आएको हो ।

त्यस्तै, कम्पास, म्याप लगायतको प्रविधिलाई प्रयोग गर्ने विधिको बारेमा अभ्यास गरिँदै आएको छ ।

समस्या र चुनौति

सेनामा मेजर तहमा बढुवा हुनलाई जंगल वा हिमाल वारफेर तालिम लिनु अनिवार्य छ । हिमाल वारफेरको कक्षा भने जोमसोममा हुन्छ ।

बारामा कक्षा सञ्चालकको क्रममा बैशाखदेखि भदौसम्म कालो बिच्छीले सताउने गर्छ । जुन सैनिक अधिकारीहरुलाई चुनौतिपूर्ण हुन्छ ।

जंगलमा बाघ, भालु लगायतका जनवारसँग आम्नेसाम्ने हुनसक्छ । विशेष अवस्थामा ‘सेल्फ प्रोटेक्सन’का लागि उनीहरुलाई हतियार प्रयोग गर्ने अधिकार पनि दिइएको छ ।

आगामी दिनमा शिक्षालयको मुख्य चुनौति भनेको हाइटेक प्रविधिमा तालिम दिनु हुनेछ । अहिले भइरहेको परम्परागत तालिमलाई प्रविधिमैत्री बनाउँदै लैजानु आवश्यक देखिन्छ ।

त्यस्तै, समयअनुरुप दक्ष जनशक्ति उत्पादन गर्दै शिक्षालयका प्रशिक्षकहरुको पनि संख्या बढाउनु आवश्यक देखिएको छ ।

विदेशी नागरिकको तालिमका लागि नेपाल सरकारले न्यूनतम खर्चको व्यवस्थापन गरिदिएको छ । उनीहरुको खानेकुरा, बस्ने बन्दोवस्ती र स्टेशनरीको सुविधा निःशुल्क उपलब्ध हुँदै आएको छ ।

लेखक को बारेमा
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment