Comments Add Comment

श्रृंखला खतिवडा बनिन् नेपाल- फ्रान्स दौत्य सम्बन्ध वर्षगाँठको सद्भावना दूत

२५ पुस, काठमाडौं । नेपाल र फ्रान्सको ७० औं दौत्य सम्बन्ध दिवस मनाउने क्रममा मिस नेपाल श्रृंखला खतिवडा सद्भावना दूत तोकिएकी छन् । दुवै देशका परराष्ट्र सचिवस्तरीय बैठकले श्रृंखलालाई सद्भावना दूत नियुक्त गरेको हो ।

सचिवस्तरीय वार्तापछि परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव शंकरदास बैरागी र फ्रान्सका विदेश सचिव मोरिस गर्दो मोन्तेनियोले संयुक्त रुपमा उनलाई सद्भावना दूत नियुक्तिपत्र हस्तान्तरण गरे । मिस नेपाललाई दुवै देशका सरकारी तहबाट सद्भावना दूत स्वीकार गरिएको सम्भवतः यो पहिलो पटक हो ।

दुई देशबीच सद्भावना दूत नियुक्त भएपछि श्रृंखलाले आफू विश्वको परिस्थिति बुझेको नेपाली युवाको प्रतिनिधित्व गर्दै सद्भावना दूतको भूमिकामा रहने बताइन् । उनले नेपालको पर्यटन सम्भाव्यतालाई प्रचार प्रसार गर्न र नेपाललाई प्रकृति, संस्कृति, कला, सभ्यता जस्ता विविध पक्षमा धनी देशका रुपमा विश्वमा चिनाउन लागिपर्ने बताइन् ।

नेपाल र फ्रान्सबीच दौत्य सम्बन्ध स्थापित भएको अप्रिलमा ७० वर्ष पुग्दैछ । यो वर्ष दुवै देशले सुंयुक्त रुपमा र आ आफ्नै ढंगले वर्षगाँठ मनाउने कार्यक्रमहरु तय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । दुई देशबीच यस वर्ष उच्चस्तरीय भ्रमण आदान प्रदान हुनेबारमो पनि सचिवस्तरीय वार्तामा छलफल भएको बैरागीले बताए ।

सोही अवसरमा नेपाल फ्रान्स दौत्य सम्बन्ध स्थापित भएको ७० औं वर्षगाँठ झल्काउने लोगो समेत सार्वजनिक गरिएको थियो । फ्रान्सेली दूतावासले बिभिन्न विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धाबाट आयुश कुँवरले बनाएको लोगो छानेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment