२६ पुस, काठमाडौं । नेपाली समकक्षी शंकरदास बैरागीको निमन्त्रणामा बुधवार काठमाडौं आएका फ्रान्सेली विदेश सचिव मोरिस गर्दो एन्तानियो पत्रकार सम्मेलनमा एकाएक ‘नोस्टाल्जिक’ भए । ४५ वर्षअघि पर्यटकका रुपमा ट्रेकिङ गर्न आएका मोरिस दोस्रो पटक सरकारी पाहुनाका रुपमा नेपाल आएका थिए ।
फ्रान्सको सरकारी सेवामा प्रवेश गर्नुअघि विद्यार्थी जीवनमै उनी नेपाल आएका रहेछन् । उनी सन् १९७८ मा सरकारी जागिरे भए । त्यसको चार वर्षअघि अर्थात् सन् १७७४ मा २१ वर्षे अल्लारे ठिटो हुँदा ट्रेकिङ गर्न आएका थिए । सुन्दरीजल हुँदै हेलम्बुसम्म पदयात्रा गरेको स्मरण उनले नसुनाइरहन सकेनन् ।
नेपालसँग फ्रान्सको साइनो गाँसिएको ७० वर्ष पुगेको सन्दर्भमा उनी विविध विषयमा छलफल गर्न आएका थिए । द्विपक्षीय छलफलपछि भएको पत्रकार सम्मेलनमा भने उनले नेपाल र नेपालीसँग फ्रान्सको साइनो कसरी गाँसिएको छ भनेर ब्याख्या गर्न थाले । उनी फुक्र्याउने हिसाबले होइन, मनका कुरा सुनाउदै थिए ।
उनले जंगवहादुर राणा र नेपोलियन बोनापार्टको समयको कुरा गरेनन् । बरु पहिलो विश्वयुद्धमा नेपाली युवाले देखाएको वीरताको पटक–पटक चर्चा गरे । पहिलो विश्वयुद्ध अन्त भएको शतवार्षिकी मनाउन २ महिनाअघि पेरिस पुगेका नेपाली समकक्षी बैरागीसँग पनि उनले गोर्खाली वीरताको बखान गरेका रहेछन् ।
एन्तानियो भन्दै थिए– प्रत्येक फ्रान्सेलीले विश्वयुद्धमा नेपाली सहभागिता कहिल्यै बिर्सन सक्दैनन् । नेपालीको वीरता र विश्वयुद्ध अन्त गर्ने भूमिका हामी सम्झन्छौं । नेपालीहरु ‘पिस मेकर’ हुन् । हामी त्यसरी बुझ्छौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपाल प्रमुख साझेदार हो र नेपालीको वीरता हामीलाई थाहा छ ।
उनले प्रत्येक वर्ष ३० हजार फ्रान्सेली नागरिक पर्यटकका रुपमा नेपाल आउने गरेको तथ्याङ्कसमेत सुनाए । ती पर्यटक घुम्नमात्र होइन नेपालको कला, संस्कृति, सम्पदा र विविधतासँग साइनो गाँसेर फर्किने गरेको उनले बताए ।
एन्तानियोले भने–‘ती ३० हजार पर्यटकले फ्रान्समा फर्किएर नेपाल हाम्रो लागि किन महत्वपूर्ण छ भनेर सुनाउँछन् । यहाँको कला–संस्कृति र नेपालीहरुको बिनम्रताको बारेमा सबैलाई बताइरहेका हुन्छन् । हामी यसरी पनि जोडिएका छौं ।’
उनले यसो भनिरहँदा नेपाली शेर्पाहरुलाई कसरी बिर्सन सक्थे ? अन्नपूर्ण हिमालको पहिलो आरोहण गर्ने पनि फ्रान्सेली आरोही नै भएको सुनाउँदै एन्तानियोले नेपालसँगको साइनोको अर्को आयाम प्रस्तुत गरे । ३ जुन १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण लुइस लाच्नल र हर्जोग नामका फ्रान्सेलीले गरेका थिए । उनले १९७८ मा सगरमाथामा फ्रान्सको झण्डा फहराएको स्मरण पनि गरे ।
पर्वतीय साइनोलाई ब्यख्या गर्दै मोरिस भन्दै थिए– ‘हामी नेपाली शेर्पालाई कसरी बिर्सन सक्छौं र ? उनीहरु बिना कुनै पनि आरोहण सम्भव नै छैन । नेपालमा ठूला हिमश्रृंखला, पहाड र चुचुराहरु छन् । हामीसँग साना–साना चुचुरा छन् । तर हामीबीच पर्वतीय साइनो पनि गाँसिएको छ ।’
यी त थिए नेपालसँग फ्रान्सको साइनोका परम्परागत आधार । करीव ४० वर्ष फ्रान्सको कुटनीतिक सेवामा बिताएका मोरिसले नेपाल र फ्रान्सबीचका केही समान मूल्य र अब स्थापित गरिनुपर्ने नयाँ खाले सम्बन्धको पनि ब्याख्या गरे ।
नेपाल र फ्रान्स दुवै प्रजातान्त्रिक शासन प्रणालीमा विश्वास गर्छन् । यी दुवै देश विविधतामा बाँधिएका छन् । अनि दुवै देशमा मृत्युदण्ड बर्जित छ । उनले यी समानतालाई ‘कमन भ्याल्यु’ का रुपमा परिभाषित गर्दै ७० औं दौत्य सम्बन्धको वर्षगाँठ मनाइरहँदा नयाँ साइनो थप्ने प्रस्ताव राखे ।
मिस नेपाल श्रृंखला खतिवडालाई दुवै देशको साझा सद्भावना दूतका रुपमा नियुक्त गरेपछि उनीसँग अलग्गै गफिए । त्यसपछि उनले नेपाल र फ्रान्सबीच अब विश्वव्यापी सरोकारका मुद्दामा पनि सहकार्य हुनुपर्ने र त्यसमा फ्रान्स इच्छुक रहेको खुलाए ।
उनले नेपालसँगको नविन साइनोका आयाम खुलाउँदै भने– ‘हामी ग्लोबल कन्सर्नमा नेपालसँग सहकार्य गर्न चाहन्छौं । त्यसमा जलवायु परिवर्तन विरुद्ध लड्ने सन्दर्भमा सहकार्य हुनसक्छ । सार्वजनिक यातायात र श्रम सम्बन्धमा पनि हामी सहकार्य गर्न इच्छुक छौं । हिमतालहरु जोखिममा परेको सन्दर्भ हाम्रो लागि चिन्ताको विषय छ ।’
नेपालको चौथो पूरानो मित्र
फ्रान्स नेपालको चौथो पूरानो मित्र हो । बेलायत, भारत र अमेरिकापछि नेपालको दौत्य सम्बन्ध फ्रान्ससँग स्थापित भएको थियो । त्यसो त आजभन्दा करीव १६५ वर्षअघि नै जंगवहादुर राणाले फ्रान्सको भ्रमण गरेका थिए ।
औपचारिक सम्बन्ध स्थापित भएको ७० वर्ष पुगेका अवसरमा दुवै देशका विदेश सचिवस्तरीय बैठकमा यो वर्ष उच्चस्तरीय भ्रमण आदान–प्रदान गर्ने बारेमा पनि छलफल भएको परराष्ट्र सचिव बैरागीले बताएका छन् । तर त्यो भ्रमण कुन स्तरको हुने र कहिले हुने भन्ने टुंगो लागिसकेको छैन ।
जंगवहादुरपछि लामो समय नेपाल र फ्रान्सबीच औपचारिक भ्रमण भएन । यसबीचमा सन् १९८३ मा फ्रान्सका तत्कालिन राष्ट्रपति फँसिस मिट्राण्डले नेपालको औपचारिक भ्रमण गरेका थिए भने नेपालको तर्फबाट तत्कालिन राजा वीरेन्द्रले १९९४ मा औपचारिक भ्रमण गरेका थिए । त्यसयता दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान भएको छैन ।
२०५६ सालमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको फ्रान्स भ्रमण तय भएको थियो । तत्कालिन श्री ३ महाराज तथा प्रधानमन्त्री जंगवहादुर राणापछि प्रधानमन्त्री तहको यो पहिलो भ्रमण हुने थियो । तर कांग्रेसभित्रकै किचलोका कारण गिरिजाप्रसाद कोइरालाले अविश्वास प्रस्ताव ल्याएर हटाउन लागेपछि भट्टराईले राजिनामा दिए ।
उनले फ्रान्सको ऐतिहासिक भ्रमणपछि राजिनामा दिन्छु भन्दा पनि गिरिजाप्रसाद लगायत कांग्रेस नेताहरुले नमानेपछि संसदबाट भाबुक वक्तव्य दिदै राजिनामा गरेका थिए । नेपाल र फ्रान्सबीच दौत्य सम्बन्धको ७० औं वर्षगाँठ मनाइरहदा सन् २०१९ भित्र उच्चस्तरीय भ्रमण आदान प्रदान हुने सम्भावना भने देखिएको छ ।
प्रतिक्रिया 4