२६ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फामाथि विभिन्न किसिमका अनियमितताको आरोप लागेपछि राष्ट्रिय खेलकुद परिषदले छानविन अघि बढाएको छ ।
परिषदका सदस्य सचिव केशवकुमार विष्टले यस विषयमा एन्फाको स्पष्टिकारण मागिएको र त्यसको जवाफ आएपछि थप कदम चालिने बताए ।
केही दिनअगाडि चार जिल्लाका फुटबल संघहरुले पत्रकार सम्मेलन गरेर एउटा अडियो सार्वजनिक गरेका थिए । उक्त अडियोमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र विभिन्न पदाधिकारीहरुबीच रकमको लेनदेनको विषयमा भएको संवाद सुनिएको छ ।
एन्फाको निर्वाचनमा पैसाको चलखेल भएको आरोप लगाउँदै मणि कुँवर निकट समुहले सो अडियो सार्वजनिक गरेको थियो । उक्त समुहले अन्य ‘भ्रष्टाचार’ का अरु पनि थुप्रै आरोप लगाएको छ ।
यो विषयलाई परिषदले गम्भीरतापूर्वक लिएको सदस्यसचिव विष्ट बताउँछन् । उनले उपरोक्त आरोपहरुको सत्यतथ्य पत्ता लगाई दोषिहरुलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाए ।
‘यो विषय बाहिर आएपछि एक हप्तअघि हामीले स्पष्टिकरणका लागि एन्फालाई पत्र पठाएका छौं,’ विष्टले अनलाइनखबरसँग भने, ‘उहाँहरुबाट जवाफ आएको छैन । एक–दुई दिनमा आउला ।’
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने राखेपबाट आएको पत्रबारे अनभिज्ञता प्रकट गरेका छन् । एन्फाको पत्रको जवाफ किन नदिएको भन्ने प्रश्नमा उनले भने, ‘खोई मलाई त राखेपबाट पत्र आएकै थाहा छैन ।’
प्रतिक्रिया 4