Comments Add Comment

औद्योगिक उत्पादनको जाँचपास ढिलो भएको उद्योगीको गुनासो

२६ पुस, विराटनगर । औद्योगिक उत्पादन तथा कञ्चा पदार्थमा भन्सार जाचपास ढिलो हुने गरेको उद्योगीहरुले गुनासो गरेका छन् ।

विराटनगर भन्सार कार्यालयबाट औद्योगिक उत्पादनलाई भन्दा बढी खासाबाट आएका कन्टेनरलाई प्राथमिकता दिँदा जाचपास ढिलो हुने गरेको उनीहरुको गुनासो छ ।

बिहीबार भन्सार विभागका महानिर्देशक तोयम राय उद्योगीका समस्या बुझ्न उद्योग संगठन मोरङ पुगेका थिए । महानिर्देशक समक्ष उद्योगीले औद्योगिक उत्पादन र कञ्चा पदार्थ बोकेका ट्रक तथा कन्टेनर भन्सारको प्राथमिकतामा नपर्दा समस्या हुने गरेको बताए ।

खासाबाट तयारी सामान लिएर आएका कन्टेनर भन्सारबाट तुरुन्तै पास भए पनि उद्योगका सामाग्रीलाई समय लाग्ने गरेको उद्योग संगठन मोरङका पूर्वअध्यक्ष मुकेश उपाध्यायले बताए । औद्योगिक सामाग्री बकेका मालबहाक भन्सारमै थन्किदा लागत बढ्ने उनको गुनासो छ ।

उद्योगी प्रदीप मुरारका भन्सारमा औद्योगिक उत्पादन हेर्ने छुट्टै युनिट खडा गर्नुपर्ने बताउँछन् । भन्सारको प्राथमिकतामा नपर्दा झन्झट ब्यहोर्नुपरेको बताउदै उनले छुट्टै युनिट खडा गर्नुपर्ने बताए ।

उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष सुयष प्याकुरेलले भन्सारको काम छिटो नहुँदा आयात गरिएका कन्टेनरहरु सामान खन्याएर फर्कदा दुई दिनमा फर्कनुपर्नेमा ६ दिनसम्म लाग्ने गरेको गुनासो गरे । समय लम्बिदा उद्योगीहरुको लागत बढ्ने उनको भनाइ छ ।

व्यवसायीले निर्यातमुखी व्यवसाय गर्न प्रोत्साहन गरिरहेको सरकारले भन्सारमा पनि आयातीत तयारी सामाग्रीलाई भन्दा औद्योगिक उत्पादन र कञ्चा पदार्थको जाँचपास छिटो हुने व्यवस्था मिलाउन आग्रह गरे ।

महानिर्देशक तोयम रायले उद्योगी व्यवसायीका समस्या सामधान गर्न आफूले पहल गर्ने बताए । भारतसँग सहज व्यापार विस्तारका लागि मोरङमा दुईवटा नाका खुला गर्ने तयारी भएको बताउँदै उनले नयाँ भन्सार ऐन लागू भएपछि सहज हुने बताए । विभागले भन्सार ऐन परिमार्जनका लागि मस्यौदा तयार गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment