Comments Add Comment

रमाइलो चम्पादेवी (फोटोफिचर)

काठमाडौं । छुट्टी वा फुर्सदको दिन कसरी बिताउने ? कति धाउनु चिडियाघर, फनपार्क अनि सिनेमा हल ? धेरैलाई यस्तै लाग्छ ।

यदि तपाईं पनि एक दिने छुट्टीलाई कसरी फलदायी बनाउने भन्ने चिन्तामा हुनुहुन्छ भने चम्पादेवी एउटा विकल्प हुन सक्छ ।

चम्पादेवी पुग्न धेरै पैदलमार्ग छन् । मातातिर्थ-देउराली, टौदह-बोसन, थानकोट-चन्द्रागिरी, पुष्पलाल उद्यान-चम्पादेवी बैकल्पिक मार्गहरु हुन् । दक्षिणकाली हुँदै हात्तिवन जंगल सफारी उत्कृष्ट विकल्प हुनसक्छ ।

विहानीपख चम्पादेवीबाट रमाइलो सूर्योदय हेर्न सकिन्छ । साँझपख सूर्यास्त पनि कम्ति मनमोहक हुँदैन । असोज-कार्तिकको मौसममा चम्पादेवी पुग्ने पदयात्रीले उत्तरतिर सेता हिमालको अवलोकन गर्न पाउँछन् ।

यो बेला वर्षे झरिपछि खुलेको सुन्दर मौसममा ललितपुर, भक्तपुर र मकवानपुरको रमाइलो दृश्यावलोकन गर्न सकिन्छ । कार्तिक, मंसिरताका राजधानीलाई सेतो कपालले ढाके झैं सेताम्मे हुस्सु देखिन्छ भने माघ-फागुनको याममा गुराँस फुल्छ ।

फर्पिङ हुँदै चम्पादेवी पुग्न ढुंगा छापेको सुविधायुक्त हाइकिङ्ग रुट छ । २ हजार २ सय ५० मिटर उचाई छिचोल्न ३ घण्टाभन्दा धेरै समय लाग्छ । चुचुरोतिरको यात्रामा पानी भेटिन्न ।

जंगलमा कुनै पसल छैन । त्यसैले पदयात्रीले टेक्ने लौरो र केही बोतल पानी बोक्नु जरुरी छ । सल्लाघारीमा निरन्तर चल्ले सिरसिरे हावाले शितलता दिन्छ । मौसम अनुसार जंगलमा ऐंसेलु काफल खान पाइन्छ ।

चुचुरोमा पुग्ने क्रममा बाटैमा चम्पादेवी मन्दिरको दर्शन गर्न पाइन्छ । वैशाख १ गते नयाँ वर्षको दिन चम्पादेवी मन्दिरमा मेला लाग्छ । स्थानीय जनक तामाङका अनुसार मेलामा दक्षिणकाली, टौदह, किर्तिपुर, पागालगायत राजधानीका तीनै शहरबाट हरेक बर्ष ४० हजार दर्शनार्थी पुग्छन् । भूकम्पले भत्काएको चम्पादेवी मन्दिरको पुरातत्व विभागले ८ लाख बजेट छुट्याएर पुननिर्माण गर्दैछ ।

चन्द्रागिरीसम्म यातायात सुविधा पुगेपछि चम्पादेवी पुग्ने आगन्तुकको संख्या दिनानुदिन बढ्छ । सुन्दर राजधानी देखिने चम्पादेवी चन्द्रागिरी क्षेत्र फिल्म सुटिङस्थलको रुपमा परिचित हुँदै गएको छ ।

चम्पादेवीबाट हाइकिङ रुट नछोडी भष्मासुर, देउराली भञ्ज्याङ्ग हुँदै चन्द्रागिरी पुग्न सकिन्छ । लामो यात्रामा हिँड्ने साहस भएका यात्रुहरुले बाटोमा ताल्चा लगाएका स-साना सुन्दर झुपडी साना पसलहरु र रेष्टुराँ पनि भेट्छन् । यत्रतत्र सुख्खा पहाड, घाँसे मैदान, टार, जंगल छन् । उकालो चढ्दा गर्मी हुन्छ भने जंगलमा शितल । पर्यापर्यटनको एउटा अनुपम नमूना भेटिन्छ बाटोभरि ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment