Comments Add Comment

माओवादीले गिजोलेको तेक्वान्दो बन्यो राखेपको टाउको दुखाइ

३० पुस, काठमाडौं । २४ स्वर्ण, १५ रजत र २१ कास्य गरी कुल ६० पदक । ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुदमा तेक्वान्दोले नेपाललाई दिलाएको पदक संख्या हो यो । यति धेरै अन्तर्राष्ट्रिय पदक अन्य खेलबाट अहिलेसम्म हात पारेको छैन ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा २४ स्वर्ण, १४ रजत र ८ कास्य गरी कुल ४६ पदक, एसियाली खेलकुदमा १ रजत र १२ कास्य गरी १३ तथा ओलम्पिकमा विधान लामाले जितेको ऐतिहासिक कास्य पदक तेक्वान्दोको शान हो ।

तर यो शान विस्तारै खुइलिन थालेको छ । तेक्वान्दोमा हात पारेको विगतको उपलब्धीले जति रोमाञ्चित बनाउँछ, वर्तमानको बिग्रहले त्यो भन्दा चिन्तित बनाउँछ ।

यसको मुख्य कारण हो, तेक्वान्दोमा राजनीतिकरण । तेक्वान्दोमा दुई वटा संघ लामो समयदेखि दाउपेचमा छन् ।

प्रकाशमशेर राणा अध्यक्ष रहेको नेपाल तेक्वान्दो संघ र शिव कोइरालाको अध्यक्षतामा रहेको राष्ट्रिय तेक्वान्दो युनियनबीचको विवाद फेरि उत्कर्षमा पुगेको छ ।

यस्तो विवाद हरेक प्रतियोगिताको पूर्वसंध्यामा सुरु हुन्छ र, खेलाडीहरुको तयारी नै प्रभावित हुन्छ । अहिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसध्यामा विवाद चर्किएको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गर्ने प्रतियोगिताको लागि सबैजसो खेलको जिल्ला तथा प्रदेशस्तरीय छनोट सकिएको छ । तर तेक्वान्दोको भने अहिलेसम्म छनोट हुन सकेको छैन ।

तेक्वान्दो संघका सचिवसमेत रहेका प्रशिक्षक दीपक विष्टले विवादका कारण तेक्वान्दो खेलमा ठूलो समस्या देखिएको बताए । उनले भने, ‘राखेपले विवाद नमिलाइ तेक्वान्दोलाई आठौं राष्ट्रिय प्रतियोगितामा सहभागी नगराउने भनेको छ । त्यसैले अहिले तेक्वान्दोको जिल्ला छनोट पनि रोकिएको अवस्था छ ।’

के हो विवाद ?

प्रकाशसमशेर राणा अध्यक्ष रहेको नेपाल तेक्वान्दो संघ र शिव कोइरालाको अध्यक्षमा रहेको राष्ट्रिय तेक्वान्दो युनियनबीच प्रतिष्ठाको लडाईं चलिरहेको छ ।

दुबैले आफू आधिकारिक भएको दाबी गर्छन् । तेक्वान्दो संघले विश्व तेक्वान्दो महासंघ र राखेपबाट मान्यता पाएको छ । तेक्वान्दो युनियनसँग भने राखेपको मात्रै सदस्यता छ । त्यसकारण अहिलेसम्म संघले नै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेलाडी छनोट गरेर पठाउने गर्छ । त्यसमा यूनियनले विवाद झिक्छ ।

तत्कालिन माओवादीका तर्फबाट डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राखेपले युनियन दर्ता गरेको थियो । माओवादी कार्यकर्ताको व्यवस्थापन गर्न अनावश्यकरुपमा नयाँ तेक्वान्दो संगठन जन्माइएको त्यतिबेलै आरोप लागेको हो । जागिर खाइदिने धम्की दिँदै आफूलाई युनियन दर्ता गर्न लगाएको र त्यो आफ्नो गल्ती भएको तत्कालीन सदस्यसचिव युवराज लामाले हालै स्वीकार गरेका छन् ।

एउटा संघ दर्ता भइसकेको अवस्थामा अनाधिकृत तवरले यूनियन स्थापना गराएसँगै समस्याको विजारोपण भएको हो । त्यसपछि नेपालमा तेक्वान्दोका दुई संघ समानान्तर अस्तित्वमा देखिए । नेपाल तेक्वान्दो संघले २०३९ सालदेखि तेक्वान्दोको अभिभावकत्व लिइरहेको थियो । पछि युनियनले पनि छिटफुट रुपमा राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन थाल्यो । जब ठूला प्रतियोगिता आउँछ, यी दुई संघबीच हानाथाप सुरु हुन्छ ।

प्रशिक्षक विष्ट भन्छन्, ‘राष्ट्रिय तेक्वान्दो युनियन राखेपले नै जन्माएको हो । तेक्वान्दो संघमा झगडा गरेर, फुटे बनेको होइन । राखेपले नै यसको समाधान निकाल्नुपर्छ ।’

आ–आफ्ना अडान

तेक्वान्दोको विवाद जटिल बनिरहँदा दुबै पक्ष आ–आफ्नै अडानमा देखिएका छन् । मिलेर जानका लागि संघले युनियनका केही पदाधिकारीलाई समेट्ने प्रस्ताव ल्याएको छ ।

तर, शिव कोइरालाको नेतृत्वमा रहेको युनियन यो प्रस्ताव कुनै पनि हालतमा नमान्ने अडानमा छ । विष्ट भन्छन्, ‘उहाँहरुलाई कुनै ठाउँमा एड्जस्ट गर्छौ भनेर आफ्नो तर्फबाट कुराहरु राखिसकेका छौं । तर मिलाउने नाममा अंशबन्डा गरेजस्तो गरिनु हुँदैन,’ सचिव तथा प्रशिक्षक विष्टले भने ।

दीपक विष्ट

यता युनियनका अध्यक्ष कोइरालाले भने संघले राष्ट्रियता बेचेको आरोप लगाएका छन् । उनले भने, ‘विवाद समाधान नभए नेपालमा तेक्वान्दो १०–१५ वर्षसम्म स्थगित हुन्छ । विवाद समाधान भएपछि ब्यूँतिन्छ । राष्ट्रियता बेच्नलाई खेलेको खेलको के अर्थ ?’

उनले थपे, ‘खेलाडीबीच प्रतिस्पर्धा गराएर सक्षमलाई छनोट गरिएमा त्यो राम्रो हो, तर ठेक्का लिएको, टेन्डर गरेको भन्दै विदेश गएर राष्ट्रियता बेच्ने, आफ्नो देशको रेफ्री नराख्ने, मेडल बेच्ने हो भने त त्यो सुस्ता, कालापानी भारतले मिचेकोभन्दा पनि ठूलो अपराध हो ।’

विवाद समाधान समिति

गत मंसिर १७ गते युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विवाद समाधान गर्नका लागि राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए । समितिका सदस्यमा सहसचिव अणप्रसाद न्यौपाने र राखेपका खेलकुद विकास प्रमुख कुलबहादुर थापा छन् ।

मन्त्रालयले समितिको म्याद फेरि एक महिना थप गरिसकेको छ । यो अवधिमा दुबै संघ एक हुनु या मिल्नु पर्ने दवाव छ । विवाद समाधानबारे के भइरहेको भन्नेबारे संयोजक तिम्सिनालाई सोध्दा अबको केही दिनमै निष्कर्ष निस्किने दावी गरे । उनले भने, ‘अब हामी करिब हप्ता/दस दिनभित्र निष्कर्षमा पुग्छौं । हामी तेक्वान्दो संघको गाँठो फुकाउँछौ । ढुक्क हुनुहोस् ।’

त्यसो त २७ कात्तिकमा राखेपले दुबै संघलाई तत्काल मिल्नका लागि सात दिने अल्टिमेटमसमेत दिएको थियो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा जिल्ला, प्रदेश छनोटमा समस्या आउने उल्लेख गर्दै तत्काल दुई तेक्वान्दो संघ मिल्न राखेपको निर्देशन थियो । तर, त्यसको दुई महिनाभन्दा बढि भइसक्दा पनि समस्याको समाधनतर्फ खासै पहल भएको पाहिँदैन ।

१० दिनमै विवाद अन्त्य गर्छु भन्दै ठोकुवा गरेका विवाद समाधान समितिका संयोजक तिम्सिनाले अहिलेसम्म दुबै पक्षलाई राखेर निचोडमा पुग्न सकिरहेका छैनन् । ‘यता यो संघको मान्छे त्यो संघमा जाने, त्यो संघको मान्छे यो संघमा आउने भन्ने सवाल होइन ।

दुई वटा संघ बराबर हैसियतका संघ हुन् । खैर ब्यक्तिगत हिसाबले उहाँहरुभन्दा म १० गुणा माथि होउला’ राष्ट्रिय तेक्वान्दो युनियनका अध्यक्ष शिव थप्छन्, ‘राजनीतिमा लागेको छुइन भन्ने अनि कहिले बाबुरामको चुनावमा, कहिले पासङको चुनावमा कहिले गगन थापाको विजयी र्‍यालीमा हिन्ने प्रवृत्तिले विग्रेको हो । नेपाल तेक्वान्दो संघले राजनीतिलाई धेरै मिसयुज गरेको छ ।’

यता, नेपाल तेक्वान्दो संघका विष्ट भने पदाधिकारी मिलाउने कुरा ठूलो नभएको बताउँछन् । उनी भन्छन्, ‘पदाधिकारी मिलाउने कुरामा अल्झिनु हुदैन । तेक्वान्दो संघले सबै खेलाडीलाई खुल्ला प्रतिस्पर्धामा लैजानुपर्छ । आर्मीमा कुनै खेलाडी छ भने आर्मीबाट लड्नु पर्‍यो । एपीएफमा छ भने एपीएफबाट लड्नु पर्‍यो । जिल्लाबाट लड्नु पर्‍यो । कुनै रेफ्री, कुनै पनि प्रशिक्षकले पक्षपात गर्दैन । पटक्कै शंका नगर्दा हुन्छ ।

अबको निकास के ?

राखेपका उपाध्यक्षसमेत रहेका विवाद समाधान समितिका संयोजक तिम्सिना पहिलो चरणको बयान मात्रै सकिएको कारण यसै भनिहाल्ने अवस्था नरहेको बताउँछन् ।

‘भर्खर एक चरणको बयान भयो । अहिले नै यो नै हुन्छ भन्ने अवस्था छैन । आधारहरु भयो भने विघटन पनि हुन सक्छ । पुनर्गठन पनि हुन सक्छ,’ उनले भने ।

खेलाडी तथा प्रशिक्षकहरु तेक्वान्दोको विवाद छिटो अन्त्य होस भन्ने चाहन्छन् । प्रशिक्षकसमेत रहेका विष्ट भन्छन्, ‘पदाधिकारी १०–१५ वर्षपछि मिले पनि हुन्छ । यसबाट देशलाई ठूलो नोक्सान हुँदैन । तर खेलाडीले खेल्न पाएन भने दशलाई नोक्सान हुन्छ । यो बुझ्न आवश्यक छ ।’

यता, राष्ट्रिय तेक्वान्दो युनियनका अध्यक्ष कोइरालाले भने, ‘अबको निकास भनेको कि दुई वटा संघ मिलेर एउटा नयाँ संघ बन्छ । कि दुबै संघ विघटन हुन्छन् र राज्यले आवश्यकता अनुसार नयाँ बनाउँछ ।’

तुहिँदै खेलाडीको सपना

गत वर्ष २०१८ मा इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद प्रतियोगिताको लागि राष्ट्रिय तेक्वान्दो युनियनले पनि टिमको तयारी गरेको थियो । यता, नेपाल तेक्वान्दो संघले पनि खेलाडीलाई क्लोज क्याम्पमा राखिरहेको थियो ।

विवाद चुलिदै जाँदा अन्तिमसम्म दुबै संघका खेलाडी तनाबमै थिए, खेल्न पाइन्छ या पाहिदैन भन्ने अन्योल थियो । अन्ततः नेपाल तेक्वान्दो संघका खेलाडी एसियाडमा भाग लिन इन्डोनेसिया प्रस्थान गरे । अर्को संघका खेलाडी क्लोज क्याम्प छोडेर घरतिर लागे ।

युनियनमा १८ देखि २० जना खेलाडीले एसियाडमा खेल्ने सपना बुनेर अभ्यास गरेका थए । तर सबै सपना दुई संघको टकराबले तुहियो । खेलाडी निराश भए । परिश्रम बालुवामा बग्यो ।

यो पछिल्लो उदाहरण मात्रै हो । पहिलेदेखि नै यस्तै विवाद हुदै आएको छ । यसले तेक्वान्दो खेलाडीमा प्रत्यक्ष असर परेको छ ।

तेक्वान्दोमा विवाद राखेपमार्फत तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रोपेका हुन् । त्यसकारण यसको समाधान पनि राखेपले छिट्टै गर्नु पर्ने थियो तर लामो समयभइसक्दा पनि राखेपले चिठी काट्नेबाहेक केही गर्न सकिरहेको छैन । संघको विवादले खेलाडीमा भने तनाब अवश्य बढेको छ ।

यसबारे प्रशिक्षक विष्ट भन्छन्, ‘हामीलाई राखेपले छिटोभन्दा छिटो निर्णय गर्छ होला भन्ने लागेको छ । त्यो निर्णय कुरेर बसिरहेका छौ । र, निर्णय गर्नु पर्छ तर इतिहास बोकेको खेललाई मार्नु चाहिँ हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment