Comments Add Comment

सिमरा गोल्डकप बिहीबारदेखि, १० टिम सहभागी हुने

२ माघ, सिमरा । सिमरा गोल्डकपको दशौं संस्करणको तयारी पूरा भएको छ । प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ ।

आयोजक नवजागृति युवा क्लबले सिमरामा बुधबार पत्रकार सम्मलेन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको छ । सिमरा रंगशालामा हुने प्रतियोगिता ३ गते (बिहीबार) देखि १२ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा ए डिभिजनका सात र मोफसलका पाँच टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा आयोजक क्लबले सार्वजनिक गरेको सम्भावित टिमहरुमा ए डिभिजनका त्रिभुवन आर्मी क्लब, सिएमजी संकटा, एपीएफ, सरस्वती युथ क्लब, हिमालयन शेर्पा, रुस्लान थ्रीस्टार क्लब, नेपाल पुलिस क्लब रहनेछन् भने मोफसलबाट विज्ञान मेमोरियल फाउण्डेसन बीरगञ्ज, मकवानपुर-११ र आयोजक नवजागृति युवा क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले ६ लाख र उपबिजेताले ३ लाख प्राप्त गर्नेछ । यो पुरस्कार राशी अघिल्लो वर्षको भन्दा ५०/५० हजारले बढाइएको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई सुजुकी मोटरसाइकल प्रदान गरिने नवजागृति युवा क्लबका सचिव शम्भुसिंह ठकुरीले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक लगायतका अन्य बिधामा जनही २० हजार प्रदान गरिने छ । खेलको म्यान अफ दि म्याचलाई आयोजकले यसवर्ष १० हजार नगदसहित ट्रफी दिने भएको छ ।

यस्तै, यस वर्षदेखि उदयमान खेलाडी पुरस्कार पनि दिइने भएको छ । खेल अवधिभरबाट उदयमान खेलाडी छनौट गरी नगद १५ हजार प्रदान गरिने छ ।

यसपटक ७ हजार दर्शकले प्याराफिटबाटै खेल हेर्ने अपेक्षा गरिएको क्लवका अध्यक्ष कासिम मियाले बताए ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले गर्नेछन् । पहिलो खेलमा मकवानपुर-११ र आयोजक क्लब नवजागृति भिड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment