Comments Add Comment

प्रस्तावित राजदूत अधिकारी र ढकालको सुनुवाइ आज

३ माघ, काठमाडौं । सरकारबाट प्रस्तावित दुई जना राजदूतको आज सुनुवाइ हुँदैछ । फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको आज सुनुवाइ हुन लागेको हो ।

सुनुवाइका लागि बिहान ११ बजे संसदीय सुनुवाई विशेष समितिको बैठक बोलाइएको छ ।

गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो । तर पाँचै जनाविरुद्ध एउटा पनि उजुरी परेको छैन । त्यसैले सीधै सुनुवाइ गर्न पहिलो चरणमा अधिकारी र ढकाललाई आजको बैठकमा बोलाइएको समितिका उपसचिव केशव अर्यालले जानकारी दिए ।

आजको बैठकमा अधिकारी र ढकालले आफ्नो कार्ययोजना पेश गर्ने र त्यसमा छलफल हुने कार्यक्रम छ । उपसचिव अर्यालले भने, ‘प्रस्तावित राजदूतहरुले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि माननीयहरुबाट त्यसमा जिज्ञासा राख्ने, थप प्रष्ट हुने र सुझाव दिने लगायतका काम हुन्छ ।’

क्यानडामा नेपाली राजदूत आवश्यक नरहेको जिकिर

सरकारले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय तथा एन्डोरा, मोनाको र पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्तिको सिफारिस गरेको थियो ।

यसैगरी गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो ।

दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि र भृगु ढुंगानालाई क्यानाडाका लागि आवासीय राजदूत तथा क्युबा र जमैकाका लागि गैरआवासीय नेपाली राजदूतमा सरकारले सिफारिस गरेको थियो ।

यस्तै, मणिप्रसाद भट्टराई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा सिफारिस भएका छन् ।

संसदीय सुनुवाई विशेष समितिले १० दिनको म्याद दिएर यही पुस १८ गते उजुरी आह्वान गरेको थियो । तर, निर्धारित समयसम्म प्रस्तावित राजदूतहरुविरुद्ध कुनै पनि उजुरी प्राप्त भएन । तर क्यानडाका लागि राजदूत आवश्यक नरहेको जिकिर गर्दै समितिमा पत्र प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment