Comments Add Comment

इराकमा गुर्खालीमाथि एउटा बुढो प्रश्न !

ड्याम्म बम पडि्कयो । अहिले म बङ्करमा छु । ‘इन कमिङ’को एकोहोरो साइरन अझै पनि फुकिरहेको छ मेल्ट्रीपुलिस । म कसरी बङ्करमा आइपुगे ? सोचिरहेको छु । ज्यानको माया सबैभन्दा बढी नहुँदो त म अझै नेपालमा ममीसँग कुरा गरिरहेको हुन्थे फोनमा । टिम भन्छ, यो उसको पहिलो पटक हो बङ्कर बसाई । मेरो हाकिम हो ऊ । सन् २००५ अगस्टमा इराक आएको । बसाइको पूरा तीन वर्ष भएको अवसरमा उसले हिजो मात्र हो पिज्जा पार्टी दिएको । म उसलाई सर टिम भनेर बोलाउँछु । नेपालमा आफ्नै दामलीहरुको नामको पछाडि सर झुन्ड्याउने क्रियाको निरन्तरताभन्दा अरु केही होइन । स्थान बद्लेर यहाँ अगाडि आएको छ सर । नाम मात्र काढेर त कसरी बोलाउनु हो हाकिमलाई ? यस्तै गलफक्तीपछि मैले सर जोडेको हुँ उसको नाममा । उसले मेरो नामको उ हटाइदियो । अर्थात मिस्टर डिप ।

मः किन ?

ऊः तिमीहरुको स्वभाव गहिरो हुन्छ ।

मः कसरी तिमी यो भन्न सक्छौ ?

ऊः किनकि तिमीहरु गुर्खाली हौ ।

मः किन तिमीलाइ यो लाग्छ कि हामी गोर्खालीहरु रहस्यमयी हुन्छौ ?

ऊः बुद्ध जन्मेको ठाँउका मानिसहरु एउटा खुकुरीको भरमा जस्तै युद्धमा पनि होमिन सक्छौ, के यो कारण पर्याप्त छैन ?

मः यसरी त तिमी हामीलाई मुर्ख पनि भनिरहेका छौ ।

ऊः तिमीले त्यसरी बुझेनौ भने मलाई खुशी लाग्नेछ ।

बङ्करबाट बाहिर निस्कनको लागि ‘इट्स क्लियर’ को साइरन बजेको छैन । के हामी बुद्धु भएकै कारण वीर भएका हौं त ? सोच्ने स्वतन्त्रतामा आफैंले आफैंलाई पनि रोक्न नसकिने । सर टिम पूर्व अमेरिकी सैनिक हुन् । विशुद्ध अमेरिकी सैनिक । अमेरिकी सोचका सैनिक । उनले हामी बङ्करमा नै रहेको बेलामा बाहिर निर्बाध काम गरिरहेको व्यक्तितर्फ चोर औला सोझ्याउदै भने, ‘यु नो डिप, हि मस्ट बि गुर्खा ।’

बढो गज्जपसँग ग्राउण्डम्यानको भूमिकामा एटिभी (एक प्रकारको सानो ट्याम्पु जस्तो देखिने सामान्यतया साना सामान आसारपोसार गर्ने साधन) चलाइरहेको छ उ । मेरो चिनजानको मान्छे । संयोग, उ गोर्खाको नै हो । मतलब नेपालको पनि गोर्खा जिल्लाको ।

तिमीहरुमा मुर्खताभन्दा माथिको साहस हुन्छ । जुन मुर्खहरुमा हुँदैन । जो अहिले एटिभी चलाइरहेको छ, ऊ मुर्ख लाग्दैन मलाई । उ आफ्नो काममा लगनशील छ । डिप के तिमीलाई यो लाग्छ कि हामी भएकै ठाँउमा नै बम खस्यो भने यो बङ्करले आप\mनो भुमिका सत प्रतिशत निभाउला ? मलाई सन्देह छ । म झुक्याएर कसैलाई आफंै झुक्कीइरहेको छु । र तिमी पनि ।  सहासी हुनु र मुर्ख हुनुमा आकाश जमिनको फरक छ । नेप्लिज र अमेरिकन जत्तिकै । तिमीहरु आफैं आफूलाई दिग्भ्रमित गर्न कम्मर कसेर लागेका छौ । तिमीहरु कर्म अनुसारको गर्व र घमण्ड गर्न जान्दैनांै । हामीहरु धेरैको सहायतामा काम फत्ते गर्छौं । क्रेडिट एकहोरो लिन्छौं । तिमीहरु ठिक बिपरित छौ ।

सर टिम धाराप्रवाहमा छ, केही मुर्खहरु पनि छन् । केही दिन अगाडि गल्फ क्याटेरिङ सर्भिसमा परीक्षणमा जाँदा एउटा घटनासँग मुखरित भए म । एक नेपालीले इन्डियनको अनुहारमा तातो भातले सेकिदिएछ अकस्मात । पुरै जलेको थियो मुहार । उसले बहादुर भनेछ त्यस नेपालीलाई । मलाई त्यो नेपाली मुर्ख लाग्यो ।

बाहिर सिमसिम पानी परिरहेको छ । जाडोको बिशेषता बर्णन गर्न नसकिने खालको हुन्छ इराकको । अझ गज्जब हुन्छ यहाँको माटो । लिसो जसरी टाँसिइरहन्छ जुत्ताका पैतालाहरुमा । कम से कम हरेक मानिसहरुको ३ देखि ५ इन्चको उचाई बढाइदिन्छ वषर्ाले । वषर्ाले पुरै शरिर भिजाउने हिम्मत गर्दैन । फुसफुस…. टाउकोमा लिखाको आकृति बनाउँछ । एक बुँद मात्र पनि पानीका उपस्थिति हस्तक्षेपकारी हुन्छ शरिरमा । कुनै बरफको टुक्राको जस्तो चिस्यानयुक्त । खालि पेटमा रक्सीको पहिलो निट प्याक जस्तो । जहाँ जहाँ पुग्छ त्यहाँ त्यहाँ चिरीदिएला जस्तो । आङ नै सिरि…ङ बनाउने ।

यु नो डिप ! टिम बोलिरहेको छ ।

इन्डियनहरुले तिमीहरुलाई ‘बहादुर’ भनेर पनि होच्याए । तिमीहरु होच्चियौ । जति तिमीहरुको नजरमा त्यस्ता इन्डियनहरु गलत छन् । त्यति नै गलत छौ तिमीहरु । जो अपमानित भएको महसुस गर्छौ । तिमीहरुले बहादुर हुनु भनेको गेटमा पहरेदारी गर्नु मात्र सम्झिन्छौ । अनि आफैं लज्जित हुन्छौ बेफ्वाँकमा । यद्यपि पहरेदारी गर्न सबैको हिम्मत कहाँ हुन्छ ? हामीहरुको डिक्स्नेरीमा बहादुर भनेको मात्र बहादुर हुनु हो । फगत पहरेदारी मात्र गर्नु होइन । तर पनि सोच त तिमी तिम्रो परिवार/साथी/श्रीमती/छोराछोरीको पहरेदारी गरिरहेका छौ । के पहरेदारी गर्नु गलत हो त? बहादुर हुनु, पहरेदारी गर्नु  पूर्ण मानिस बन्नु हो । सबैमा त्यो हिम्मत कहाँ हुन्छ ?

हामीले सुनेका छौ, तिमीहरुसँग माउन्ट एभरेस्ट छ । बुद्ध छन् । प

पूर्वीय अलौकिक संस्कृति छ । जलस्रोतको अपार सम्पदा छ । सुन्दर प्राकृतिक स्थलहरु छन् । तिमीहरु हरेक रंगहरुको उच्च समिश्रण हौ । तर तिमीहरु स्वनिर्मित ब्राउन कलर हौ । कालो हुन्छु कि भनेर डराउने । रातो रङको परिचय दिन नसक्ने । सेतो हुँ भनेर खुदलाई लागि रहने ।

…..

हामी अब आइ जी -औद्योगिक क्षेत्र)को लागि रवाना हुनुपर्छ । ड्यानियल म्याकेना ऊर्फ जोकर, हातमा रहेको कफी ग्लासलाई थ्य्रासब्यागमा फाल्दै अगाडि झुल्कियो । मैले इट्स क्लियरको सूचना सुनेन छु वा मेल्टि्रपुलिसले भनेन पटक्कै हेक्का रहेन ।

जोकर नाम अनुसारको काम गर्न व्यस्त छ । भेन्कट चार्री एकहोरो जोकरका ननजोकमा हाँस्ने प्रयत्न गरिरहेरको छ । भेन्कट आफ्नो राज्यमा गर्व गर्छ । बढो घमण्डका साथ । तेलंगनालाई ऊ आफ्नो राज्य मान्दछ । तेलंगना राज्य इन्डिया सरकारले दिन मानिरहेको छैन । तेलगंना आन्ध्र प्रदेशको एक भेग । जातिय राज्यको माग बडो उग्र रुपमा उठिरहेको छ । चार्री पनि पक्षपाती हो तेलगंना राज्यको । कुनै विशेष तर्क छैन । भन्छ, सबैलेे भनिरहेका छन् त्यसैले पनि ठिक यही हो, तेलगंना अलग हुनुपर्छ । अलग भएपछि सबै समस्याको हल हुने छ । हामी दबिएका सबैको हक अधिकार प्राप्त हुनेछ ।

टुक्रिएपछि केही पनि बस्तु, परिवार, समूह वा समुदाय अझै बलियो हुन्छ भन्नु मेरो हकमा कुर्तक शिवाय अरु केही होइन । अलग हुनु अनुचित पनि होइन । आफ्नो सोचेर अलग हुन सकिन्छ । यहाँ अलग हुने सबै दुस्मन भएर अलग हुन्छन् । विकासका लागि अलग हुन आत्मीय हुनुपर्छ । अझ जिम्मेवार हुनुपर्छ । अलग तेलंगनाको माग राख्नेहरु यो विषयमा सचेत छन् भन्ने लाग्दैन । उनिहरु बस् जातिय राज्यको माग गरिरहेका छन् । कुनै जाति, धर्म वा एउटा सीमित समुदायको स्वार्थ पूर्तिमा उचालिने विभाजनका मुद्दाहरु नै भोलिका ‘गुजरात दंगा’ का आधारहरु हुन् ।

जिएससिएस स्टोर्स साउदी अरबहरुले चलाएको नुनदेखि सुनसम्म पाइने पसल हो । अक्सर बाहिर निस्कदा त्यहाँ पस्ने निरन्तरता आज पनि जारी छ । हामीहरुलाई कमाइले पुग्दैन । हाकिमहरुको सकिदैन । साह्रै सस्तो सामान पाइन्छ उनीहरुका लागि । यद्यपि हामीहरुको बस्को बात होइन त्यहाँपनि सामान खरिद गर्न । हामीहरु तेस्रो मुलुकका कामदारहरुलाई विभिन्न समयमा लाग्ने ‘सेल अफर’ र हिन्दी फिल्मका डिभिडीहरु मात्र आकर्षणका केन्द्र हुन्भन्दा कहाँ फरक पर्छ र ? अर्को आकर्षण भनेको हाकिमहरुको ‘सरप्राईज गिफ्ट’ पनि हो । मैले केही हिन्दी फिल्मका डिभिडीहरु रोजेँ । जुन ५० प्रतिशत छुटको ट्यागबाट अतिरित्त पारिवारीक भएका छन् ।

तिमी इन्डियन हौ ? स्टोरको काउन्टरमा अरबी सजावटको अनुहार बोल्यो ।

होइन म नेपालबाट हुँ, के तिमीलाई थाहा छ, माउन्ट एभरेस्ट, बुद्ध र गोर्खालीहरुको बारेमा ?

मेरो प्रश्नले उसका ओठहरु पुरै बन्द भए । सेतो अनुहार क्रमशः रातो स्वरुपमा परिवर्तित हँुदै गयो । उसले मलाई पूर्ण बेवास्था गर्‍यो । मैले फेरि प्रश्न दोहोर्‍याएँ । उ झनै रातो भयो । रगत चुहिएला जस्तो । बाघको मुख जस्तो । बाँदरको तसरिफ जस्तो ।

जोकरले केही ड्राई फुडहरु किनेछ । चार्रीले मगदिरा फिल्मको कपि डिभिडी । मैले ६ वटा हिन्दी फिल्मका डिभिडी । ३ डलरका दरले १८. ५० प्रतिशत छुटले ९ डलर उसको सामुन्ने राखेँ ।

तिमीले १८ डलर तिर्नुपर्छ ।

किन ? यी ५० प्रतिशत छुटका होइनन् र ?

तिम्रा लागि होइनन् । इन्डियन र अमेरिकनका लागि मात्र हो त्यो अफर, तिमी ती दुबै होइनौ ।

तिमीले यसरी सिधै ठगी गर्न पाउँदैनौ । म मेल्ट्री पुलिसलाई कम्प्लेन गर्छु । जोकर जंगीयो ।

यो मेरो स्टोर हो मैले निर्धारण गर्ने हो यहाँको अफरहरु । तिमीले आफ्नो मर्जि गर ।

जोकरले उनीहरुको लागि अति सामान्य तर हामीहरुको लागि अति अश्लिल लाग्ने केही गालीहरु सामानसँगै त्यही स्टोरमा छोडेर निस्कीयो । चार्री र मैले सामान मात्र छोड्यौ ।

मलाई दिन कटाउन गाह्रो हुन्छ । फर्सीका बियाहरु बिना मेरो दिन कट्दैन । हामी अर्को स्टोरमा जाऔं । यो जोकरअघि स्टोरको मानिसलाई दिइरहेको गालीको अबतरण हो । पुरानै स्टोरमा जस्तै एउटा अरबी अनुहार गजधम्म परेर बसेको छ । चार्री र मैले अघिल्लो स्टोरको खरिदलाई निरन्तरता मात्र दिनुको बिकल्प छैन । जोकर आफ्नो सपिङको दायरा बढाउँदैछ । मलाई अघिको मान्छेको प्रतिक्रियाले हालको स्टोरमा रहेको मानिससँग कुरा गर्न उक्साहट गरिरहेको छ ।

के तिमी इराकी हौँ ? कुराकानीको बिटो मैले फुस्काएँ ।

हो । अनि तिमी ? उसले सकीनसकी अंग्रजी फड्कार्‍यो ।

म अक्मकिएँ । के भनुँ । के भनुँ भो । इराक बसाँइको यो ६ महिनामा पहिलो पटक म आफ्नो परिचय दिन डराइरहेको छु ।

तिमी इन्डियन हौ ? कालो अनुहार, फ्रेन्च कट दाह्रीले काम गर्‍यो । हिन्दी त म साउथ इन्डियन  र युपिका अधिकांश इन्डियनहरुभन्दा राम्रो बोल्न सक्छु । यही विश्वासले हो भन्ने स्वीकारोक्ति सहित मुन्टो हल्लाएँ ।

अहो ! तिमी अमिताभ बच्चनको देशका हौँ । मलाई उनका फिल्महरु अत्याधिक मन पर्छ । के तिमी पनि हेर्छौ, उनका फिल्महरु ?

उसलाई अमिताभ बच्चनका धेरै फिल्महरुको कथासमेत थाहा रहेछ ।

मैले अघिल्लो स्टोरमा भएको घटना, पात्र, समय र राष्ट्रियता फरक राखि सुनाए ।  किन उसले यस्तो ब्यबहार गर्‍यो ?

ऊः हामीलाई गुर्खालीहरु मन पर्दैन । उनीहरु क्रुर हुन्छन् । अत्यन्त क्रुर ।

मः होइन उनीहरु त बहादुर छन् भन्छन् त सबैले ।

ऊः तिनीहरुलाई बहादुर भन्न सकिँदैन । मुर्ख भन्न सकिन्छ, क्रुर मानिस भन्न सकिन्छ । अमेरिकाभन्दा पनि क्रुर । अमानवीय ।

मः कसरी ?

ऊः मैले सुनेसम्म इराकमा पहिलो ल्यान्ड भएको हेलिकप्टरमा गुर्खा रेजिमेन्टको टोली थियो । उनीहरुको पाइलालाई अरु सैनिकहरुले पछ्याएका हुन् ।

उनीहरु जुन गाँउमा पस्छन् । गाँउ पुरै खाली हुन्छ । जाँदा लोग्ने मान्छेहरुलाई मार्छन्, र्फकदा महिला र बच्चाबच्चीहरुलाई । तिमी कल्पना गर्न सक्छौ त्यो आतंक ? युद्धको सामान्य अन्तर्राष्ट्रिय कानुन पनि मान्दैनन् ।

मः तिमी कसरी यति यकिनका साथ यो भन्न सक्छौ कि यो सबै यो गोर्खालीहरुको काम हो ?

ऊः तिमी समाचारहरु पढ्दैनौ, सुन्दैनौ ? फरक हो ती समाचारहरु तिमीहरुले पढ्ने अखबारहरुमा आउँदैनन् । गुर्खाली रेजिमेन्टको निर्माण नै क्रुर युद्ध कार्यहरुको लागि भएको हो । अनि तिमी चाहन्छौ कि तिनीहरुलाई छुट दिइयोस् ? तिनीहरुलाई ?

तिमीलाई याद छ १२ जना गुर्खालीको हत्या भएको त्यो दिन । सबै अरुलाई छोडिएर किन गुर्खालीहरु मात्र मारे तिनीहरुले । तिमीहरुको देश -इन्डीया !) का मानिस पनि त समातिएका थिए । मलाई अरु केही कारण छ जस्तो लाग्दैन । तर, ती मरेका मानिसप्रति मेरो साहनुभुति छ । जसले आफ्नो भूमिमा मर्न पाएनन् । आफ्नो देशका खराब मानिसहरुको कारणले मृत्युबरण गर्न बाध्य भए । आफ्नो देशका लागि मर्न पाएनन् ।

म आतङ्कवादी होइन । हामी आतङ्कवादी होइनौं । विश्व समुदायलाई चिनाइएकोजस्तो । आफ्नो देशको रक्षा गर्नु आतङ्कवादी हुनु हो ? आफ्नो समुदायको हक हितका लागि लड्नु आतङ्कवादी हुनु हो ? हो भने यहाँ को आतङ्कवादी होइन ? अमेरिकनहरुले धेरै इराकीलाई आतङ्कवादी बनाइदिएका छन् । वास्तवमा असली आतङ्कवादीहरु त अमेरिकन हुन् । बि्रटिस हुन् । अनि गुर्खालीहरु फगत साससहितका यन्त्र मानब । गुरिल्लाहरु । बलियासँग कमजोर नझुकेपछि अक्सर बलियाहरु कमजोरलाई पत्तासाफ गर्नको लागि आतङकवादीको बिल्ला भिराउँछन् । मलाई मेरा मानिसहरुको माया तिनीहरुकोभन्दा बढी लाग्छ । मेरो देशको माया लाग्छ ।

तिनै गुर्खालीहरुकै देशमा पनि आतङकवादी छन् रे । गुर्खालीहरु कस्ता हुन् भने ‘सगरमाठा’लाई अरुले माउन्ट एभरेस्ट भनेकै भरमा त्यसकै पछि दौडिदिने । उनीहरु त  फगत इन्डीयनहरुले भनेका जस्ता ‘बहादुर’ मात्र हुन् ।  ब्रिटिस वा अमेरिकनहरुले भनिदिएको बाहेक के तिनीहरुसँग गुर्खालीको स्पष्ट परिचय छ ? जो सबैभन्दा पहिले तिमी आफँैलाई चित्त बुझ्दो होस् ?

जोकरले बजाएको हर्नले कानको जालि नै फुट्ला जस्तै भयो ।

बालुवाको आँधि बिस्तारै हामीतर्फ बढिरहेको छ । अब केहीबेरमा डम्म अध्याँरो हुनेछ । बिल्कुल चुकजस्तो । छिटो आऊ ।

६ वटा फिल्मको ३ डलरका दरले १८ । ५० प्रतिशत छुटले ९ डलर उसको सामुन्ने राखेँ ।

……..

मि राउडिङ  राउडिङ यू नो फाउडिङ । चिम्सा आँखा अलि तन्काउदै एक फिलिपिनो झुल्कीयो । अघिका दुई फरक घटनाहरुले प्रश्नका ठेलीहरु अनलोड गरिरहेका छन् दिमागमा । गेरी मिलसँग भेट्ने मेरो पुरानो आकांक्षा हो । भेन्कट चार्री उनका अनेक युद्धकिस्सा सुनाउँछ हरेक औद्योगिक क्षेत्रको भ्रमण पश्चात । उनी पूर्व बेलायती सैनिक हुन् । म औद्योगिक क्षेत्रका हाकिम मिलसँग उनका युद्ध किस्सा सुनेर फ्रेस हुन आएको छु । फ्रेस हुनलाई सधै हाँस्यप्रधान कुराहरुको आबश्यकता पर्दैन ।

म तिमीसँग भेट हुन लालायित थिएँ । गेरिले झट्का दिए ।

किन? मैले सोधे ।

मैले यहाँ धेरै गुर्खालीहरुसँग भेट गरेको छु । उनीहरुसँग दोहोरो कुरा हुन पाउँदैन । उनीहरुले मेरो भाषा कम बुझ्छन् । म तिमीहरुको भाषा अत्यन्त्यै कम बुझ्छु । केही गालीका भाषा मात्र बुझ्छु । सैनिक जीवनभरि पनि गुर्खा रेजिमेन्टका किस्साहरु मात्र सुनेँ । उनीहरुसँग भेट भएन । भेट गर्न सकिने बेलामा भेट्ने कुनै कारण थिएन मसँग । कारण, भएपछि कहिले मसँग समय रहेन । कहिले सायद तिनीहरुसँग पनि ।

म फक्ल्याण्डको टापु जान पाइन । मेरो अत्यन्त मिल्ने साथि जेफ गएको थियो । जेफ भन्थ्यो, एउटा पागलपन छ गुर्खाहरुसँग । अदम्य सहास । बाघकोजस्तो मुटु । के तिमीले हामीमा त्यो कुराको कल्पना गर्न सक्छौ गेरि ? एउटै मानिस यति सहासिलो, मुर्ख र शान्त कसरी हुनसक्छ ? तिमीले गुर्खाहरुलाई भेट्यो भने त्यसको सरल जवाफ पाउने छौ ।

फक्ल्याण्डको युद्ध गुर्खाली बिना बेलायतले के गर्ला ?, मैले कल्पना पनि गर्न सक्दिन । अर्जेन्टिनासँग बेलायतले जित्ने सम्भावना नै थिएन, साथमा गुर्खा हुन्थेन भने । साढे ६ सय अर्जेन्टिनाका सैनिक मारिए र ढाइ सय बि्रटिस सैनिक । हामीले विजय प्राप्त गर्‍यौं । त्यो १० हप्ता भएको घमासान लडाई मात्र गुर्खालीको सहास र बहादुरीको दस्तावेज हो । ‘आयो गुर्खाली’ अरु नेपाली भाषा नबुझेपनि बि्रटिसले बुझ्ने पहिलो भाषा हो । गोर्खा रेजिमेन्टको प्रवेशले पनि दुस्मनको भूमि नै कम्पन हुन्थ्यो । मलाई बहुत गर्व छ । मैले त्यस्तो दस्तासँग काम गर्ने मौका पाएँ, जुन हरेक सैनिकलाई बिरलै मात्र प्राप्त हुन्छ । एउटा पूरा देशको सेनाभन्दा त्यही देशको एउटा टुकुटी अधिक शक्तिशाली छ । पुरै निर्भर छ त्यो टुकुडिमाथि हरेक युद्धहरु ।

एउटा यति क्रुर ब्यक्ति पनि त्यत्ति शान्त हुन सक्छ । इमान्दार हुनसक्छ । जिम्मेवार हुन सक्छ भने त्यो ब्यक्ति गुर्खाली बाहेक अरु कोही हुनै सक्दैन । गेरि, मेरो स्यालुट रहन्छ ती महानुभाबहरुलाई सदासर्वदा । अक्सर यस्तै कुराहरु सुनाउँछ जेफ हरेक बसाईंमा जब गुर्खालीको कुरा निस्कन्छ ।

बोस, मि कमिङ राआ….. गेरिको कथाक्रमलाई एउटा साउथ इन्डियनको रेडियो आवाजले भाँजो हाल्यो । गज्जब गजबको अङ्ग्रेजी सुन्न पाइन्छ यहाँ ।

गेरि तिमी कसरी बुझ्छौ यस्तो अङग्रेजी ? मैले सोधे

के मसँग अरु कुनै बिकल्प देख्छौ तिमी ? के तिमीसँग कुनै बिकल्प छ ? उ मुस्कुरायो ।

छोडिदेउ यी कुराहरु, अँ भन त तिमीहरु स्वयंलाई बढो गर्व लाग्छ होला है? मैले जवाफ दिनुभन्दा पनि माथि उल्लेखित दुई घटनाक्रम उसलाई इतिबृतान्त पस्किए । उसले फेरि प्रश्न गर्‍यो, तिमीलाई तिम्रो परिभाषामा के लाग्छ ? तिमीहरु के हौ हृवाइट म्यान, ब्ल्याक म्यान वा ब्राउन म्यान ?

…….

त्यो प्रश्न आज १० वर्ष ६ महिनाको भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment