Comments Add Comment

व्यावसायिक बन्दै सुदूरका छलिया र हुड्के नाच

७ माघ, डोटी । ठूलाबडाको विवाह र बढाइँमा पुराना वीरयोद्धाका कथा तथा राजा रजौटाका गीतमार्फत देखाइने सुदूरपश्चिम प्रदेशको प्रसिद्ध छलिया र हुड्ने नाच हिजोआज व्यावसायिक बन्न थालेको छ । यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रमका लागि छलिया र हुड्के नाच्नेको माग हुने गरेको छ ।

विभिन्न ठाउँमा नाच देखाएवापत छलिया र हुड्के नाच्नेहरुको राम्रै आम्दानी हुने गरेको छ । पहिले ठूलाबडा एवं ठालुका घरमा विवाह व्रतबन्ध भयो भने मात्रै उक्त नाच देखाइने गरेको दिपायलका हुड्के गगने नेपालीले बताए । उनले भने, ‘पहिला नाच देखाएवापत एक छाक खाना तथा केही लुगाफाटो पाइन्थ्यो तर अहिले बोलाएको ठाउँमा देखाउँछौ र पैसा लिने गरेका छौंँ ।’

अहिले सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा महोत्सवलगायत धार्मिक कार्य चलेकाले सबैभन्दा बढी छलिया र हुड्के नाच्नेहरु व्यस्त हुने गरेको उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले बताए । उनले भने, ‘महोत्सवदेखि अन्य शुभ कार्य गर्दा हुड्के नभई शोभा हुँदैन, अहिले त हुड्के नाच्नेलाई अग्रीम बुकिङ गर्नुपर्छ ।’ यति मात्र नभइ दिपायल र तिखाका हुड्के नाच्नेहरुसँग एक महिना पहिलेदेखि नै सम्झौता गर्नुपर्ने अवस्था आएको महासचिव खड्काले बताए ।

दिपायलको हुड्के नाचले एक दिनको १० हजार तथा छलिया नाचको एक दिनको छलिया समूहले १५ हजारसम्म लिने गरेको छ । छलिया नाच प्रायःगरी बैतडी जिल्लावासीले नाच्ने गर्छन् ।

शिखर नगरपालिकास्थित मुडभराका रायभान ढोलीले छलिया र हुड्के नाचबाट नै आफ्नो गुजारा चलेको बताए । उनले भने, ‘महिनामा चार/पाँच ठाउँमा मात्रै हुड्के देखाउन पाए वर्षभरिको खर्च चल्छ ।’ रायभानले हुड्के नाच देखाएरै दुई छोरालाई क्याम्पसमा पढाइरहेको बताए ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशकै प्रख्यात बैतडीको छलिया नाचको अहिले सुदूरपश्चिमभरि नै माग हुने गरेको छ । सबैतिरबाट माग बढ्न थालेपछि छलिया र हुड्के नाच्नेहरु पनि व्यावसायिक बन्न थालेका छन् ।

विभिन्न ठाउँमा छलिया तथा हुड्के नाच्नेहरुले क्लब नै गठन गरेका छन् भने उनीहरु आफ्ना सन्ततिलाई समेत नाच्न र गाउन सिकाउन थालेका छन् । गत वर्ष डोटी, कञ्चनपुर, धनगढी, टीकापुर र साँफेबगर महोत्सवमा छलिया नाच देखाएर रु एक ला ५० हजार कमाइएको बैतडी छलिया समूहले बताएको छ ।

छलिया निकै जोखिमपूर्ण नाच पनि हो । बाजाका तालमा नाच्न नजाने चोटपटक लाग्ने गरेको दिपायलका समाजसेवी घनश्याम पाठकले बताए । ‘हुड्के नाचमा पुराना राजा रजौटा, वीर वीरंगना र देवि देवताहरुका जिवन गाथा गाउने गरिन्छ’, उनले भने, ‘छलिया नाच भनेको बाजाको तालमा हतियार नचाएर खेल्ने नाँच भएकाले नजानेमा चोट लाग्न सक्छ ।’

संस्कृतिविद् डा. बद्रीप्रसाद बिनाडीका अनुसार छलिया नाचले युद्धकलालाई झल्काउने गर्दछ । सुदूरपश्चिम प्रदेशमा रहेका छलिया, हुड्के, चौलो र भुवाँ नाचलाई व्यावसायिकतातिर लैजान सके यहाँको कलासंस्कृतिलगायत नाच्नेहरुको पनि जीवनस्तर माथि उठ्न सक्ने संस्कृतिविद् डा. बिनाडीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment