Comments Add Comment

आजका पत्रिका : मुठभेडतर्फ मुलुक !

१२ माघ, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित पत्रिकाहरुले विपक्षीको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित भएको विषयलाई प्रमुख समाचार बनाएका छन् । त्यससँगै आन्दोलनमा जाने कांग्रेसको घोषणा र अनशन जारी राख्ने डा. गोविन्द केसीका प्रतिक्रियाहरु पनि समेटिएका छन् ।

यसै विषयलाई नागरिक दैनिकले मुलुक मुठभेडतर्फ गएको निष्कर्षसहित समाचार छापेको छ । ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरिरहेको बेला मार्सल प्रयोग गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि मुलुक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ,’ समाचारमा लेखिएको छ ।

नागरिक दैनिकले बाजुराको पाण्डुसेन गाउँपालिकाका धामीझाँक्रीले नै छाउगोठ भत्काउन थालेको समाचारलाई पनि महत्व दिएर पहिलो पृष्ठमा छापेको छ ।

कान्तिपुर दैनिकले ‘साइबर रेप’को पासो शीर्षकको समाचार छापेको छ । ‘सामाजिक सन्जालमार्फत अपरिचितसँग साथी बन्ने, प्रेमसम्बन्ध गाँस्ने र यौनसम्बन्धसम्म पुग्ने त चलेकै थियो । गोप्य सम्बन्धमा रहँदाको तस्वीर र भिडियो खिचेर मानसिक यतना दिने र बाध्यात्मक परिस्थिति सिर्जना गरी ब्ल्याकमेल गर्ने प्रवृत्तिसमेत हुर्कँदै गएको देखिएको छ,’ कान्तिपुरले लेखेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकमा लोपोन्मुख भाषालाई जोगाउन ट्युसन पढाउन थालिएको समाचार छ । पहिलो चरणमा भाषा आयोगले कुसुण्डा, बराम र तिलुङ भाषाको ट्युसन पढाउन थालेको समाचारमा उल्लेख छ । समाचारमा गोरखाको सुलिकोट गाउँपालिका बारपाकमा बराम समुदायले मातृभाषाको कक्षा लिँदै गरेको तस्वीरसमेत छ ।

मुर्झायो विद्यार्थी आन्दोलन

नयाँ पत्रिका दैनिकमा नेपालको विद्यार्थी आन्दोलन सुस्त बनेको विषय प्रमुख समाचारको रुपमा प्रकाशित छ । अखिल, अखिल क्रान्तिकारी, नेविसंघ लगायतका विद्यार्थी संगठनहरु मुर्झाएको समाचारमा उल्लेख छ । विगतमा व्यवस्थाविरुद्ध विगुल फुक्ने विद्यार्थीहरु वर्तमानमा आफ्नै मातृ पार्टीको कार्यालय घेर्ने अवस्थामा पुगेको भन्दै नयाँ पत्रिकाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसंघले गरेको प्रदर्शनसम्बन्धी तस्वीर राखेको छ ।

नेपाल समाचारपत्र दैनिकमा रानीपोखरी पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले नयाँ मोडल खोज्न थालेको समाचार प्रकाशित छ । पुनर्निर्माणका लागि मूल्यांकन गरेभन्दा बढी रकम प्रस्ताव आएका कारण महानगर नयाँ मोडालिटीमा जाने निर्णयमा पुगेको र विज्ञहरुसँग परामर्श सुरु गरेको समाचारमा उल्लेख छ ।

गोरखापत्र दैनिकमा ‘चिकित्सा शिक्षा विधेयक पारित’ र ‘राजदूतहरुको गठबन्धन अनावश्यकः प्रधानमन्त्री’ शीर्षकका मुख्य समाचारहरु छन् ।

हेर्नहोस् आज प्रकाशित पत्रिकाका फ्रन्टपेज

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment