Comments Add Comment

विकासमा भन्दा विरोधमा समय खेर जाँदैछ : विद्या सुन्दर शाक्य

१३ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले काम गर्न खोज्दा पनि विरोध हुँदा अपेक्षित उपलब्धि हासिल नभएको दाबी गरेका छन् ।

काम नगरेको भनेर आलोचना खेप्दै आएका मेयर शाक्यले विभिन्न बखेडा झिकेर विरोध गर्ने परिपाटीको अन्त्य नहुँदा समस्या परेको बताए ।

सहिद सप्ताहअन्तर्गत आइतबार धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको काठमाडौंको सिफलमा भएको कार्यक्रममा मेयर शाक्यले विकासमा भन्दा पनि विरोधमा समय सकिँदै गएको बताए ।

‘सहिदको सपना पूरा गर्न समृद्धि र नागरिक स्वाधीनताका लागि काम हुनु पर्नेमा विरोधमा समय सकिँदै गएको छ’, उनले भने । तर, उनले कुन विषयमा कसले विरोध भएको भन्नेबारे भने प्रष्ट पारेनन् ।

राजनीतिमा विरोध गर्ने संस्कृति हावी हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । ‘संघीय संसदमा भएको चर्काचर्कीदेखि महानगरले काम गर्न खोज्दा जसरी पनि विरोध गर्नेले अपेक्षित उपलब्धि प्राप्त गर्न सकिएन’, उनले भने ।

सहिदहरुले जस्तै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने उनको भनाइ छ । ‘सहिद त धेरै छन् तर नाम भन्ने बेला चार सहिदको नाम आउँछ किनभने उहाँहरुले व्यक्तिगत उन्नतिभन्दा माथि उठेर सामुहिक समृद्धिका लागि ज्यानको बाजी लगाउनुभयो, त्यो बाटो हामीले पनि अनुसरण गर्नुपर्छ’, उनले भने ।

माथेमालाई विस १९९७ साल माघ १३ गते राणाहरुले काठमाडौंको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment