Comments Add Comment

सबल नेतृत्वले बदलेको आदिकवि भानुभक्त मावि

१२, माघ, चितवन । सरकारी विद्यालय भनेपछि नाक खुम्च्याउने जमात ठूलै छ । तर, पछिल्लो समयमा सरकारी विद्यालयको कायाकल्प गर्ने सवल नेतृत्व देखिन थालेको छ । भरतपुर महानगरपालिका– १ मा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालय संचालनमा यस्तै नेतृत्व देखिएको छ ।

लथालिंग विद्यालय सम्हाल्न २०७३ मंसिरमा आएको बद्री अधिकारीको टीमले गजब काम गरेर देखाएको छ । व्यवस्थापन समितिमा यो टीम आएपछि विद्यालयले भौतिक र शैक्षिक दुवै खाले प्रगतिमा फड्को मारेको छ । दुई वर्षअघिको १२ सय विद्यार्थी संख्या बढेर १६ सय पुगेको छ । सरकारी दरवन्दीका २९ र स्थानीय स्रोतबाट ३५ गरी ६७ जना शिक्षक–कर्मचारी काम गरिरहेका छन् । २०७४ यता यो विद्यालय स्रोत केन्द्र पनि बनेको छ ।

‘प्रअले मात्र चाहेर केहि नहुदो रहेछ, उसको भिजनसंग व्यवस्थापन समितिको मिसन मिल्यो भने मात्र विद्यालयले फड्को मार्ने रहेछ’, प्रधानाध्यापक विष्णुप्रसाद सापकोटा भन्छन्, ‘म नै प्रअ भएर तीनजना अध्यक्षसँग सहकार्य गरें, तर अहिलेको टिम आएपछि मात्र गर्न खोजेको काम फटाफट अगाडी बढ्न सक्यो ।’

५० बर्षअघि स्थापित भानुभक्त माविले गत दुई बर्षमा प्रगतिको फड्को मारेको प्रअ सापकोटाको भनाइ छ । स्वर्ण महोत्सव मनाउन लागेको यो विद्यालयमा अहिले मल्टिमिडियाको माध्यमबाट पढाइ हुन थालेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को सम्वन्धनमा ४८ विद्यार्थीले सिभिल ओभरसियरको कोर्ष गरिरहेका छन् ।

तीन बर्षे ओभरसियर कोर्षको लागि विद्यालयले जम्मा २ लाख ७० हजार रुपैयाँ शुल्क तोकेको छ । यो रकमबाट खर्च कटाएर विद्यालयकै भौतिक–शैक्षिक गुणस्तर सुधारमा लगाइने प्रधानाध्यापक सापकोटाले बताए ।

ओभरसियर पढाइका लागि आँपटारीमा रहेको १४ कठ्ठा जग्गामा ३८ लाख रुपैयाँमा प्रयोगशालासहित दुईवटा भवन निर्माण गरिएको छ । नारायणी लिफ्टको कार्यालय हाताभित्र परेको विद्यालयको ६ कठ्ठा ६ धुर जग्गा विद्यालय मातहत ल्याउने प्रयास थालिएको अध्यक्ष अधिकारीले बताए ।

के के भयो परिवर्तन ?

बद्री अधिकारी व्यवस्थापन समितिको अध्यक्ष बनेर विद्यालय प्रवेश गर्दा धुलाम्य थियो । न प्रधानाध्यापकको कार्यकक्ष गतिलो थियो न त शिक्षक बस्ने कोठा । न खानेपानीको व्यवस्था, न त शौचालय । शिक्षकहरु लडाईं हारेका सिपाही जस्ता थिए । ‘एकाउन्ट सिष्टम’ बेकामे थियो ।

सुरुमा त कहाँबाट काम थाल्ने भनेर खुट्यउानै मुश्किल भयो । ‘अनि हाम्रो टीमले पहिलो बैठक शिक्षकहरुसँग गर्‍यौं’, अध्यक्ष अधिकारी भन्छन्, ‘हामी आ–आफ्ना राजनीतिक आस्थालाई विद्यालयको गेट बाहिरै छाडेर आएका थियौं, त्यसैले अगाडिको सामुहिक बाटो तय गर्न कठिन भएन ।’

बैठकले विद्यालयका भवनहरू रंग्याउने र कोठाहरुलाई व्यवस्थित गर्ने कामबाट थालनी गर्ने निर्णय गर्‍यो । जस्मिन पेन्ट्सबाट ५० प्रतिशत छुटमा रंगहरु ल्याइयो । कुल ९ लाख रुपैयाँ खर्च गरेर विद्यालयलाई आर्कषक बनाइयो ।

धुलाम्य प्रेक्षालयमा टायल लगाउन अभिभावक भेला गराएर प्रति विद्यार्थी ५०० उठाउने प्रस्ताव पास गरियो । त्यसबाट ६ लाख रुपैयाँ उठेकोमा टायल लगाउँदा २२ लाख खर्च भयो । ‘त्यो पुर्ताल गर्न सहयोगी मनहरू खोज्दै हिँडियो’, अध्यक्ष अधिकारी भन्छन्, ‘पान खाएर विद्यालयका भित्तामा थुक्नेहरुलाई रोक्न ३ लाख ५० हजार खर्च गरेर एक जना सुरक्षाकर्मीसहित सीसी टिभी राख्ने काम पनि सहयोगी मन खोजेरै फत्ते गर्‍यौं ।’

त्यसपछि प्रद्यानाध्यापक र शिक्षकहरुको कार्यालयलाई आकर्षक र सुविधासम्पन्न बनाउने काम भयो । अनि कर्मचारी र सफ्टवेयर थपेर विद्यालयको एकाउन्ट सिष्टमलाई चुस्त बनाउने काम भयो । शिक्षक–कर्मचारीको विद्युतीय हाजिरी लिने व्यवस्था पनि गरियो । यसरी प्राथमिकता निर्धारण गरेर क्रमैसंग काम गर्दै विद्यालयको पूर्वतर्फको जमिनमा १३ लाख लागतमा हल बनाएर आवश्यक कूर्चीहरुको व्यवस्था गरियो ।

कक्षा ६ सम्म अंग्रेजी र त्यसमाथि कक्षा १० सम्म अंग्रेजी र नेपाली माध्यमबाट पढाइ थालियो । प्ले ग्रुप र नर्सरी कक्षा कोठालाई व्यवस्थित बनाउँदै नमूना मन्टेश्वरीका रुपमा सञ्चालन गरेपछि अभिभावकहरु प्रभावित भएका अध्यक्ष अधिकारी बताउँछन् । उनी भन्छन्, ‘विभिन्न व्यक्ति र निकायहरूबाट नयाँ स्रोत जुटाउँदै, अनावश्यक खर्च घटाउँदै र जनशक्तिको उचित परिचालन गर्दै एक–एक काम अगाडि बढायौं ।’

उनका अनुसार, विद्यालयको १९ वटा सटर ठेक्कामा लिनेले मासिक करिब एक लाख उठाएर विद्यालयलाई २१ हजार मात्र दिने गरेको थाहा पाएपछि त्यो २० बर्षे सम्झौता भंग गरेर आफैं भाडामा लगाउने गरियो । त्यसबाट विद्यालयको आन्तरिक आम्दानीमा मासिक ९० हजार वृद्धि भयो ।

विद्यालयको पुरानो भवन ।

३५ लाख खर्चमा आठ वटा नयाँ कोठा थपेर विहानीको पढाइ दिउँसो सार्दा खर्च घट्नुको साथै विद्यार्थीको संख्यासमेत बढेको उनले बताए । ‘सरकारी विद्यालय हो, सरकारले नै गर्छ भन्ने भावना भएको भए यो प्रगति हुने थिएन’, अध्यक्ष अधिकारी भन्छन्, ‘अब त हामीले विश्वास जगाएका छौं, विद्यालय उठाउन समुदाय नै जागेको छ ।’

भानुभक्त माविमा अहिले २८ वटा कम्प्युटरसहितको ई–लाइब्रेरी पनि छ । विद्यालयमा आउने अभिभावकहरुको लागि सफासुग्घर प्रतीक्षालय र मोटरसाइकल स्ट्याण्ड छ ।

अब विज्ञानमा प्लस टु

सरकारी विद्यालयहरुले विज्ञान विषय पढाउन सक्दैनन् भन्ने छ । कतिपयले चलाएका विज्ञानमा प्लस टु कार्यक्रम बन्द गरेका छन् । भानुभक्त माविले चाहिँ आगामी बर्षबाट सञ्चालन गर्ने योजना बनाएको छ । ‘एसईईमा राम्रो गर्ने हाम्रा विद्यार्थीहरु अर्को बर्षदेखि विज्ञानमा प्लस टु गर्न अन्यत्र जादैनन्’, प्रअ सापकोटा भन्छन्, ‘अरु विद्यालयबाट एसईई गर्नेहरुका लागि पनि हाम्रै विद्यालय आकर्षणको केन्द्र बन्ने छ ।’

२०७४ सालको एसईई परीक्षामा भानुभक्त मावि सामुदायिक विद्यालय तर्फ तेस्रो र जिल्लामा सातौं स्थानमा छ । ‘भौतिक प्रगतिमा कायापलट भएको छ’ प्रअ सापकोटाले भने, ‘अब गुणस्तरमा केन्द्रित हुन्छौं ।’

२०२५ सालमा बालकुमारी स्कुलको शाखाको रुपमा स्थापित यो विद्यालयले माघ २२ गते स्वर्णमहोत्सव मनाउँदै छ । स्वर्ण महोत्सवमा राष्ट्रपतिलाई सहभागी गराउने तयारी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment