Comments Add Comment

छोरी हराएको निवेदन लेख्दै गर्दा रामप्रसादलाई फोन : गुडियाको लास भेटियो

१३ माघ, विराटनगर । शनिबार साँझ बिराटनगर–८ वलुवाहीकी ११ बर्षीया रुपमती दास (गुडिया) लाई आमा मनिदेवीले भूजा किनेर ल्याउन २० रुपैयाँ दिएर पठाइन् । रातको ८ बज्नै लागेको थियो । घर नजिकैको पसलमा रुपमतीले भूजा पाइनन् ।

घर फर्किएर आमालाई पैसा फिर्ता दिइन् र छिमेकमा टिभी हेर्न भनेर निस्किइन् । बुबा रामप्रसाद रातको साढे ८ बजे घर फर्किँदा घरमा छोरी थिइनन् । ‘छिमेकमा सुतेकी छ होला भनेर राती खोजी गरिनँ,’ रामप्रसादले भने, ‘बिहान छिमेकमा जाँदा त्यहाँ थिइन ।’

बिहान साढे ५ बजेदेखि नै रामप्रसाद र उनको परिवारले छोरी खोजिरहेको थियो । घर नजिकै रहेको विराटेश्वर वृद्धाश्रम पस्ने गेट नजिकै चप्पल भेटियो तर, रुपमती त्यहाँ पनि थिइनन् । बिहान १० बजे भाइलाई लिएर रामप्रसाद छोरी हराएको रिपोर्ट लेखाउन जिल्ला प्रहरी कार्यालय आए ।

प्रहरी कार्यालयमा निवेदन लेख्दै गर्दा छिमेकीको फोन आयो, ‘निवेदन लेख्नु पर्दैन, गुडियाको लास खोलामा भेटियो ।’

स्थानीय नारायण आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत रुपमतीलाई घरमा गुडिया भनेर बोलाउँथे । आत्तिँदै रामप्रसादले प्रहरीलाई सो कुरा सुनाए । तत्काल प्रहरी नायव उपरीक्षक कृष्ण खड्का नेतृत्वमा प्रहरी टोली घटना स्थल पुग्यो ।

खोलामा विभत्स अवस्थामा भेटिएको गुडियाको शव वृद्ध हजुरआमा सितादेवीले किनारामा निकालेकी रहिछन् । बालिकाको शव घरदेखि करिब ५०० मिटर पर सिंघिया खोलामा माछा मार्न जानेले देखेका थिए । शव भेटिएको स्थान विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिका–२ को सिमा क्षेत्रमा पर्छ । दुबैतर्फ वस्ती पातलो छ । पानीमा तैरिरहेको अवस्थामा भेटिएकी बालिकाको मुखबाट रगत बगेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीका अनुसार शवको पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटना संवेदनशील देखिएकाले अनुसन्धानका लागि छुट्टै टिम बनाइएको केसीले जानकारी दिए ।

घरछेउमा गँजडीको अड्डा

मृत अवस्थामा भेटिएकी बालिकाको घरदेखि उत्तर–पश्चिमतर्फ पशु बधशाला निर्माणधीन अवस्थामा छ । बधशाला पछिल्लो समय गाँजा सेवन गर्नेहरुको अड्डा बनेको स्थानीय बताउँछन् ।

स्थानीय युवा अगुवा महम्मद नसरुलले टोलमा युवाहरुको झुण्ड रातिसम्म बस्ने भएकाले निगरानीका लागि प्रहरीलाई पहिले नै आग्रह गरेको बताए । स्थानीय बिमला सहनीकाअनुसार लागुऔषध सेवन गर्नेहरुको हुलले राति–राति घरको छानामा ढुंगा हान्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment