Comments Add Comment

विद्यालय पुनर्निर्माणका क्रममा प्राविधिकले कमिसन मागेको गुनासो

Photo Credit : फाइल तस्वीर

११ माघ, भोजपुर । भोजपुरमा भुकम्पबाट क्षति पुगेका विद्यालय भवन निर्माणका लागि कमिसन मागिएको खुलेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्राविधिक तथा कर्मचारीलाई १० प्रतिशत कमिसन नदिँदा कतिपय आवश्यकता भएका विद्यालयले पनि भवन नपाएको गुनासो गरेका छन् ।

षडानन्द नगरपालिका कुदाककाउलेस्थित सावित्रा माविले कमिसन दिन नसक्ने भनेपछि भवनको योजना नपरेको प्रधानाध्यापक कुशल बस्नेत बताउँछन् । सर्वे गर्ने क्रममा आवश्यकता ठानेर सबै कागजात तयार गरेर पेश गरिएको तर पछि कमिसनमा कुरा नमिल्दा भवन नपरेको उनको गुनासो छ ।

‘प्रस्ताव पेश गर्ने छिमेकी विद्यालयका साथीहरुमाझ कुल वजेटको १० प्रतिशत कमिसन प्राविधिक र कार्यालयलाई दिनुपर्ने भनेपछि आफू एक्लैले निर्णय गर्न नसक्ने, व्यवस्थापन समितिमा कुरा राख्नुपर्ने भनेको तर पछि पहिलाकै भवनको काम गर्न नसकेको भनेर नयाँ भवन परेन’ वस्नेतले भने ।

षडानन्द नगरपालिका ३ खार्तम्छास्थित खार्तम्छा माविमा पनि प्राविधिकहरुले भवन बनाउने कामदार र मिस्त्रिहरु तराईबाट ल्याउनुपर्ने भन्दै अड्को थापेपछि काम केही दिन काम अवरुद्ध भएको छ । भूकम्प प्रतिरोधी भवन निर्माणका लागि तालिम प्राप्त कामदारहरु स्थानीयस्तरमै हुँदाहुँदै वाहिरबाट कर्मचारीको स्वार्थमा कामदार वोलाइएको गुनासो आफूकहाँ आएको नगरपालिकाकी उपप्रमुख मेरिका राईले बताइन् ।

उनले भनिन् ‘हामी कहाँ कमिसन बुझाउनुपर्ने कामदारहरु प्राविधिकको स्वार्थ अनुरुप लगाउनुपर्ने जस्ता कुराहरु आएका छन्, मैले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छु ।’

खार्तम्छा माविका प्रधानाध्यापक धनबहादुर तामाङबाट भवन निर्माणको १० प्रतिशत बजेट कार्यालयलाई बुझाउनुपर्ने कुरा सुनेपछि आफूले कुन आधारमा पैसा तिनुपर्ने भन्दै आपत्ती जनाएको उपप्रमुख राईले बताइन् ।

जिल्ला पूर्वाधार कार्यालय भोजपुरका प्रमुख इन्जिनियर राजनराज रेड्डीले फिल्डमा प्राविधिकहरुले गुणस्तरीय काम खोज्ने क्रममा भवनको काम जान्ने मिस्त्रीको कुरा गरेको हुनसक्ने बताए । उनले कमिसनको कुरा गलत भएको दावी गरे । ‘म मेरा मातहतका कर्मचारीहरुलाई सचेत पार्छु तर, नियतवश आफूहरुले कसैलाई केही भनेको छैन’ उनले भने ।

जिल्ला शिक्षा इकाइका जिल्ला प्रमुख मानबहादुर देवकोटाले आफूकहाँ पनि केही गुनासो आए पनि आधिकारिक रुपमा भवन पुनर्निर्माणका लागि समन्वय नभएकाले थाहा नभएको बताए । ‘योजना छनोट, व्यवस्थापनलगायतको प्रक्रियामा केही समन्वय छैन माथिबाट पनि केही आएको छैन उहाँहरु आफैंले गर्दै हुनुहुन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment