Comments Add Comment

कसरी बन्ने सच्चा पिता ?

तपाईं विवाहित हुनुहुन्छ । तपाईंका बालबच्चा छन् । अर्थात तपाईं कसैका पिता हुनुहुन्छ । बुवा हुनुहुन्छ । तपाईं एक पिता हुनुहुन्छ, किनभने ति सन्तानलाई जन्म दिनुभयो । तर, पिता हुनका लागि यति मात्र काफी छ त ?

तपाईं ठान्नुहोला, ‘मैले जन्ममात्र कहाँ दिएको छु ? उनीहरुलाई पालन-पोषण गरेको छु । लेखपढ गराएको छु । औषधी उपचार गराएको छु । लुगाफाटो किनिदिएको छु । सकेसम्म सेवा सुविधा दिएको छु ।’

सोच्नुहोस् त, के यतिले मात्र तपाईं एक पिता बन्न सक्नुहुन्छ ?

यहाँ आइपुगेपछि तपाईं केही घोत्लिनुहुनेछ । र, सोच्नुहुनेछ ‘आखिर मैले यो भन्दा बढी के गर्नुपर्छ ? उनीहरुलाई ख्वाउने, पिलाउने, पढाउने, हुर्काउने, खेलाउने, चाडपर्व मनाउने सबै काम गरिदिएकै छु ।’ पक्कैपनि एक जिम्मेवार पिताको नाताले यी सबै काम गर्नुभएको छ । तर यति मात्र पर्याप्त छ त ?

किनभने तपाईं उनीहरुका संरक्षक मात्र होइन । अहिलेसम्म तपाईंले उनीहरुको खातिर जे-जति गर्नुभयो, त्यो संरक्षकको हिसाबले गर्नुभयो । जस्तो कुनै बिरुवा रोपेपछि त्यसलाई हुर्काउने, बढाउने दायित्व स्वत तपाईंको हुन्छ । केवल एक संरक्षक बन्नु र पिता बन्नु अलग कुरा हुन् ।

पिता वास्तवमा आफ्ना सन्तानका संरक्षक मात्र होइनन्, रोल मोडल पनि हुन् । आर्दश पनि हुन् ।

तपाईंका सन्तानले आफ्ना पितालाई एक आदर्श बनाउन सकोस् । तपाईंबाट उनीहरुले आफ्नो जीवनका लागि धेरै उपयोगी कुरा जान्न र सिक्न सकोस् । तपाईं भन्नुहुन्छ, ‘तिमीहरु ठूलो भएपछि धनी बन्नुपर्छ, असल बन्नुपर्छ, ज्ञानी बन्नुपर्छ, बौद्धिक बन्नुपर्छ ।’

बच्चाले यी सबै कुरा सजिलै बुझ्दैनन् । त्यसपछि तपाईं कसैको नाम लिएर वा उदाहरण दिएर भन्नुहुनेछ, ‘फलानो जस्तै बन्नुपर्छ । फलानोले जस्तै सोच्नुपर्छ ।’

के तपाईं आफै यस्तो आदर्श बन्न सक्नुहुन्न ? जसलाई हरेर बच्चाहरुले उमंगमय भावमा भनोस् कि, ‘म मेरा बुवा जस्तै बन्नेछु ।’

भलै हामी सम्पूर्ण रुपमा सफल हुँदैनौ । सम्पूर्ण रुपमा पोख्त र निपूर्ण हुँदैनौ । तर, एक आदर्श पिता बन्न सक्छौं । यसका लागि कुनै छेकबार छैन । यस्तो पिता, जसको जीवनशैली, सोच-चिन्तन, कार्य-क्षमताबाट बच्चाहरु प्रभावित होस् । उनीहरु आफुलाई त्यस्तै जीवनमा ढाल्ने प्रयास गरोस् ।

तपाईंको जीवनशैली, खानपान सबैकुराबाट बच्चाले सिक्छन् । तपाईंले जतिसुकै ठूलो र आदर्शकको कुरा गरेपनि, पाठ पढाएपनि त्यसको असर उनीहरुमा नपर्न सक्छ । किनभने बच्चाहरुलाई उपदेश होइन, उदाहरण दिएर बदल्न सकिन्छ ।

यसैगरी पिता एक रोल मोडलको रुपमा मात्र होइन, साथी वा दौतरीको रुपमा पनि हुनुपर्छ ।

यसका लागि आफ्ना छोराछोरीसँग जतिसक्दो दुरी घटाउनुपर्छ । उनीहरुसँगको सामिप्य र स्पर्श बढाउनुपर्छ । तपाईंले आफ्ना छोराछोरीलाई सबै आवश्यक कुरा दिनुभएको छ । तर, तपाईंको उपस्थिती, सहभागिता पनि उनीहरुलाई खाँचो छ । त्यती मात्र होइन, तपाईंका बालबच्चा तपाईंसँग कुरा गर्न चाहन्छन् । संवाद गर्न चाहन्छन् । खेल्न चाहन्छन् । भलाकुसारी गर्न चाहन्छन् । कतिपय कुरा शेयर गर्न चाहन्छन् ।

तपाईंले उनीहरुको कुरा सुन्नुपर्छ । उनीहरुको चाहाना वा इच्छालाई सम्बोधन गर्नुपर्छ । उनीहरुको भावनालाई स्विकार गर्नुपर्छ । तब न तपाईं एक पिता बन्न सक्नुहुन्छ ।

छोराछोरी र तपाईंबीच उमेर अन्तर छ । तपाईं हुर्किएको र उनीहरु हुर्किएको युग एकै छैन । त्यसैले बद्लिदो अवस्थामा उनीहरु कसरी बाँच्न चाहन्छन्, कस्तो आकंक्षा राख्छन्, कस्तो सपना सजाउँछन् ? त्यो कुरा तपाईंले मनन गर्नुपर्छ । बच्चाको खुसी, उमंग, आकंक्षा र सपनामा तपाईं बाधक बन्नु हुँदैन ।

बच्चा के चाहन्छन् ? उनीहरु के कुरामा रमाउँछन् ? त्यो कुरा बुझ्न आवश्यक छ । उनीहरुसँग खेल्ने र रमाउने अतिरिक्त समय पनि तपाईंले निकाल्नुपर्छ । किनभने तपाईंका बालबच्चाले तपाईंबाट संरक्षण मात्र खोजेका हुँदैनन्, स्नेह, खुसी र स्पर्श पनि खोजेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment