Comments Add Comment

महिनावारी शिक्षा : महिलासँगै पुरुषलाई पनि किन नदिने ?

मिस नेपाल–२०१६ की फस्ट रनर अप रोशनी खत्री पहिलो पटक महिनावारी हुँदा १२ दिनसम्म भूमिगत हुनुपर्‍याे । त्यसबेला उनको उमेर १२ वर्ष थियो । काठमाडौंमै जन्मि–हुर्किइन् रोशनी भन्छिन्, ‘त्यतिबेला म सात कक्षामा पढ्थेँ । भाइ हेर्न हुँदैन भन्थे । उ स्कुल जादा र आउँदा कोठाबाट चिहाएर हेर्थेँ ।’

ट्राभलर पूजा रिजालको भोगाइ रोशनीको भन्दा फरक छैन । सर्लाहीमा जन्मिएकी उनी काठमाडौंमा कक्षा ८ पढ्दै गर्दा पहिलो पटक महिनावारी भएको थियो । ब्राम्हण परिवारकी उनलाई दाजुभाइलाई हेर्न निषेध गरियो । बाबा नै ८ दिनको लागि घर वाहिर गएको सम्झदा अहिले पनि पूजालाई नराम्रो लाग्छ ।

पूजाकी आमाले छोरीलाई स्कुल पठाउँ कि नपठाउँ भनेर प्रिन्सिपलले सोध्नु भएन । प्रिन्सिपलले पठाउनुस् भनेपछि उनले स्कुल जान पाइन् । ‘म महिनावारी भएको हल्ला कक्षामा फैलिएछ’, पूजा सम्झन्छिन्, ‘केटाहरुले ए यो त नछोइने भएकी छे भन्दै गिज्याउँथे । अनि सबैतिरबाट अपमानित भएको महशुस गर्थेँ ।’

रोशनी र पूजाको अनुभव सँगै बसेकी गायिका तथा मोडल समृद्धि राईका लागि अनौठो भयो ।

राई परिवार, त्यसमाथि काठमाडौंमा हुर्किएकी उनले अहिलेस्म्म छोइछिटो भोग्नु परेको छैन ।भनिन्, ‘छाउपडीबारे त सुनेको थिएँ तर, काठमाडौंमै यस्तो हुन्छ भन्ने थाह थिएन ।’

००००

महिनावारी प्राकृतिक प्रकृया हो । तर, यसलाई धर्मसंस्कृतिसँग जोडेर छोइछिटो गने थालियो । अझैपनि सुदूरपश्चिममा छाउ बस्ने प्रचलन विद्यामान छ । बेलाबेला छाउ गोठ नभत्काएको पनि होइन । तर, छोउ वार्न छोडिएको छैन ।

शहरमा पनि महिनावारी हुँँदा ‘यो छुन हुन्छ, यो हुन्न’ भनेर धर्मसंस्कारसँग जोड्ने गरिन्छ ।

अनलाइखबर राउण्ड टेवलमा सहभागी रोशनी भन्छिन्, ‘एउटा तिहारमा टीकाकै दिन महिनावारी भयो । कसैलाई नभनी मन्दिर गएँ र भगवानसँग माफी मागेँ । फर्किएर दाजुभाइलाई टीका लगाइदिएँ ।’ उनका अनुसार दाइभाइलाई केही हुने त होइन भन्ने डरले पनि लमागेको थियो । तर, केही भएन । त्यसपछि ‘यो सब बकबास रहेछ’ भन्ने लाग्यो र महिनावारी हुँदा बार्न छाडिन् ।

आफूले बुझेपछि परिवारलाई बुझाउन मुस्किल छ । उनकै परिवारमा बहिनीहरुलाई पहिलो पटक महिनावारी हुँदा १२ दिनसम्म भूमिगत राख्दा नमज्जा लाग्यो ।

ट्राभलरले पूजाले पनि महिनावारी हुँदा परिवारलाई थाहै नदिइ दशैंको टीका लगाइन् । त्यसपछि मात्र आमालाई भनिन् । अरुलाई नभन है भनेको उनलाई याद छ ।

सामान्य प्राकृतिक प्रक्रियालाई संस्कारसँग जोडेर समाजले विभेद गरेकोमा रोशनीलाई भने निकै दिक्क लाग्छ । उनले भनिन्, ‘व्यावहार बदल्न कोही तयार छैन ।’

००००

शहरी क्षेत्रमा सेनेटरी प्याड सहज उपलब्ध छ । अपवाद बाहेक अरुले यही प्रयोग गर्छन् । तर, कार्यालय, सार्वजनिक शैचालयहरुमा अझै पनि प्रयोग भइसकेको सेनेटरी प्याड राख्ने डस्टविनहरु छैन । यो त भयो शहरको समस्या ।

ग्रामीण भेगमा महिनावारी हुँदा सेनेटरी प्याड प्रयोग गर्नुपर्छ भनेर थाहा पाउने कति होलान् ? थाहा भएपनि उपलब्ध होला कि नहोला ? यो प्रश्न मुख्य हो । अहिले पनि महिनावारी हुँदा महिलाहरुले पुरानो कपडा प्रयोग गर्ने गर्छन् । किशोरीहरु पहिलो पटक महिनावारी हुँदा साह्रै मानसिक तनावमा पर्छन् ।

पुराना कपडाहरु प्रयोगले संक्रमणको खतरा समेत हुने चिकित्सक रोशना डंगोल बताउँछिन् । ‘पुराना तथा फोहोर कपडा प्रयोग गर्दा संक्रमण हुनसक्छ । यसले पाठेघरको मुखका हुने क्यान्सरसम्म निम्त्याउन सक्छ’, डा. रोशना डंगोलले भनिन् ।

उनलाई बीचमै रोकेर गायिका राईले ‘मिन्सुरेशन कप’को प्रभावकारीताबारे जिज्ञासा राखिन् ।

ट्राभलर पूजाका अनुसार बाहिर जाँदा सेनेटरी प्याड किन्न समेत नपाइने गरेको छ । ३४ दिनको लागि एभरेष्ट बेस क्यापसम्म यात्रामा जाँदा सेनेटरी प्याड बोक्न बिर्सिँदा दुःख पाएको सुनाउँदै उनले भनिन्, ‘सोलुखुम्बु बजारबाट उकालो लागेपछि महिनावारी भयो । तर, नाम्चे बजारमा समेत प्याड भेटिनन् ।’

कपडा प्रयोग गर्न बाँध्य भएको भन्दै उनले पनि मिन्सुरेशन कपबारे चासो देखाइन् ।

चिकित्सक डंगोल भन्छिन्, ‘त्यसको सरसफाइ र व्यवस्थापनमा समस्या हुनसक्छ ।’ मिन्सुरेशन कप पुन प्रयोग गर्न मिल्ने प्याड हो । तर, पुनः प्रयोग गर्नुअघि अध्याधिक तापक्रममा उमाल्नुपर्ने हुन्छ । नभए संक्रमणको जोखिम हुन्छ ।

००००

गायिका तथा मोडल समृद्धि राईका लागि महिनाबारीसम्बन्धी यो बहस आफैंमा नौलो थियो । सहभागीहरुको कुरा सुनेपछि उनले निष्कर्ष सुनाइन्, काठमाडौंमै ‘मिनी’ छाउपडी रहेछ । यसबिरुद्व सक्दो बोल्नुपर्छ र सामान्यकरण गर्नुपर्छ ।’

छलफलका क्रमा नेपाल प्रहरीकी एसएसपी देउकी गुरुङ प्रहरी तालिमका क्रमको अनुभव सुनाइन् ।

महिनावारी भएपछि धेरै दौडधुप गरिनन्, ट्रेनरलाई भनेर छेउमा उभिइने । तर, तालिममा सहभागीहरुले हेरिरहे । उनलाई अप्ठ्यारो लाग्यो । सबैलाई सुनाउन पनि सम्भव थिएन । त्यसले अर्को पटकबाट उनले महिनाबारी हुँदा पनि भनिनन् ।

प्रहरी प्रशासनमा कार्यरत महिलाको आफ्नो पीडा छ । विगतमा शौचालय समेत राम्रो थिएन । यद्यपि पछिल्लो समय यसमा सुधार आएको छ । ‘पहिले त ट्वाइलेट पनि एउटै हुन्थ्यो । महिनावारी भयो भने निकै अप्ठ्यारो पथ्र्यौ’, एसएसपी देउती भन्छिन्, ‘अहिले भने महिला पुरुषको छुट्टा छुट्टै ट्वाइलेट बनाइएको छ । त्यसले गर्दा केही सहज छ ।’

त्यसैले उनलाई लाग्छ, ‘महिनाबारीबारे किशोरी र महिलामात्र होइन, पुरुषलाई यसबारे शिक्षा दिनुपर्छ । नभए यसलाई हटाउने अभियान सफल हुन सक्दैन ।

त्यसमा रोशनी, पूर्जा र डंगोल पनि सहमत छिन् । डा. डंगोलका अनुसार शहरमा त्यो कुसंस्कार मात्र भएको महसुस गरेका छन्, छोइछिटो पनि कम हुँदै गएको छ । तर, ग्रामिण भेटमा अझै सचेतनाको कमी छ, छोरीहरुसँगै आमाहरुलाई पनि शिक्षा दिन जरुरी छ । समाजका हरेक पुरुषले यसमा साथ दिन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment