Comments Add Comment

बस चलाउने प्रतिस्पर्धामा स्थानीय सरकार

१५ माघ,  डोटी । माघ १० गतेदेखि डोटीको पूर्वीचौकी गाउँपालिकाले आफ्नै लगानीमा यात्रु ओसार्ने बस सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले ८१ लाख ७४ हजार रुपैयाँ लागतमा ३५ सिट क्षमताका दुई बस खरिद गरी सञ्चालनमा ल्याएको हो ।

जिल्ला सदरमुकाम सिलगढीदेखि गाउँपालिका-५ चौखुट्टेसम्म पहलवानसिं स्वार राजमार्गमा चल्ने गाउँपालिकाका बसहरुले यात्रुहरुलाई राहत पुग्ने गाउँपालिकाको दावी छ ।

पूर्वीचौकीले बस सञ्चालन गरेसंगै डोटीका तीन स्थानीय सरकार बसधनी भएका छन् । गतवर्ष दिपायल सिलगढी नगरपालिकाले दुई बस सञ्चालनमा ल्याएको थियो ।

दिपायल सिलगढी आउजाउ गर्न निकै समस्या भएको भन्दै नगर प्रमुख मञ्जु मलासीले स्थानीय निर्वाचनकै बेला आफुले जिते नगर बस सञ्चालन गर्ने प्रतिवद्धता गरेकी थिइन् । सोही प्रतिबद्धता अनुसार उनले पदभार सम्हालेको करीव ६ महिनामा दुई बस सञ्चालनमा ल्याएकी थिइन् ।

५३ लाख रुपैयाँमा दुई बस सञ्चालन गरेको नगरपालिकाले सुरुमा पूर्वीचौकीको शान्तिनगर देखि शिखर नगरपालिकाको केन्द्र तलकोटसम्म बस चलाएको थियो । गत महिना शिखर नगरपालिकाले पनि बस सेवा सञ्चालन गरेपछि दिपायल सिलगढी नगरपालिकाको बस चल्ने क्षेत्र खुम्चिएको छ । दिपायल सिलगढीले एक बस थप गर्ने तयारी गरेको छ ।

शिखर नगरपालिकाले ५६ लाख ६० हजार लागतमा दुई बस सञ्चालनमा ल्याएको छ । शिखरले दिपायल सिलगढी नगरपालिकाको दिपायल बजारदेखि डोटी डडेल्धुराको सिमाना कोराल खोलासम्म बसको रुट तय गरेको छ ।

दिपायल सिलगढी नगरपालिकाले नेपालमै पहिलोपटक स्थानीयलाई राहत दिने उद्देश्यले नगर बस ल्याएपछि अहिले बस सञ्चालनको दौडमा स्थानीय सरकार लागेका छन् । तीन स्थानीय सरकारहरुले ६ बसमा एक करोड ९१ लाख ३४ हजार रुपैयाँ बसमा लगानी गरेका छन् ।

स्थानीय सरकारले सञ्चालन गरेका बसहरुको भाडा दर सार्वजनिक यातायातका साधनहरु भन्दा झण्डै ३० प्रतिशतले कम छ । स्थानीय सरकारको बस ल्याउने प्रतिस्पर्धाले जनतालाई राहत भएको छ । तर, बस रुटकै कारण स्थानीय सरकारहरुबीच मनमुटाब बढ्ने संकेत पनि देखिएको छ ।

अर्को स्थानीय तहमा बस चलाउने सम्बन्धमा अहिले पनि स्थानीय तहहरु बीच मनमुटाव कायम छ । शिखर नगरपालिकाले दिपायल सिलगढी नगरपालिकाको सिलगढीसम्म सेवा दिन सुरु गरेपछि दिपायल सिलगढी नगरपालिकाले असहमति जनाएको थियो । बस सञ्चालन गर्नु पूर्व दुई नगरपालिकाले आपसमा सहमति गरेर रुट तय गर्नु पर्ने दिपायल सिलगढी नगर प्रमुख मञ्जु मलासीको भनाइ थियो ।

सो बिषयलाई लिएर दुबै स्थानीय तहका जनता र पार्टी कार्यकर्ताहरु आरोप प्रत्यारोपमा उत्रेपछि जिल्ला प्रशासन कार्यालय डोटीको समन्वयमा दुबै नगरपालिका बीच रुट सहमति भएको थियो ।

डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार शिखर नगरपालिकाले दिपायल सिलगढी नगरपालिको पिपल्लासम्म यात्रु ओसार्न पाउने गरी सहमति भएको छ । ‘स्थानीय तहहरुले ठूलो लगानी गरेर बस भित्र्याइरहनु भएको छ, उहाँहरुमा सामुहिक रुपमा काम गर्ने भावनाको बिकास गर्न जरुरी छ,’ निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘स्थानीय सरकारहरु सहमतिबाटै अघि जानु पर्छ ।’ उनले सबै स्थानीय तहहरुले जनतालाई राहत दिने नाममा ठुलो लगानीमा बस हाल्दा त्यसको उपयोगिता हुन्छ हुदैन भन्ने कुरा समयमै सोच्नु पर्ने सुझाव दिए ।

बस रुटको बिषयमा दिपायल सिलगढी नगरपालिकासँग समन्वय भइरहेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घ बोगटीले बताए । सिलगढीसम्म पूर्वीचौकीको बस लैजान पाउने सहमति भएको जानकारी उनले दिए ।

उनले बस सेवाको दिर्घकालीन ब्यवस्थापन चुनौतीपूर्ण रहेपनि क्षमताभन्दा बढी सवारी बोक्ने, झुण्डिएर यात्रा गर्नु पर्ने, छोटो दुरीका यात्रुले गाडीका लागि घण्टौं कुर्नु पर्ने जस्ता जनताका पीरमर्कालाई मध्यनजर गरेर गाउपालिकाले बस सञ्चालन गर्ने निर्णय गरेको बताए ।

लाखौं रकम खर्च गरेर बस सञ्चालन गरेको भएपनि यात्रुहरुको सेवा वाहेक स्थानीय तहहरुलाई कुनै फाइदा नहुने देखिएको छ । एक वर्षअघि देखि नगर बस सञ्चालन गरेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्माले एक बर्षको अवधिमा नगर बसले मुनाफा नदिएको बताए । ‘इन्धन, सवारी चालक र सहचालकको तलब र मर्मतको खर्च मात्र उठाइरहेको छ,’ शर्माले भने, ‘प्रचलित टिकटदर भन्दा सस्तोमा यात्रु बोकिरहेकाले पनि फाइदा नभएको होला ।’ नगरपालिकाले सार्वजनिक यातायातका साधन भन्दा ३३ प्रतिशत कम भाडा लिने गरेको छ ।

भरखरै सञ्चालनमा आएका बसहरुले मुनाफा दिन नसक्नुले भविष्यमा घाटामा जाने निश्चित प्राय छ । बसहरु जति पुराना हुँदै जानेछन्, त्यतिनै मर्मत गर्दै जानु पर्ने हुन्छ । बस सेवालाई कसरी दिगो वनाउने भन्ने योजना बिनै प्रतिस्पर्धाका आधारमा दौडाइएका बसहरु भविश्यमा स्थानीय सरकारका लागि टाउको दुखाइको बिषय हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment