Comments Add Comment

महंगा र बिलासी वस्तुको आयात रोक्ने योजना

१७ माघ, काठमाडौं । तीव्र दरमा ब्यापार घाटा बढेका कारण अर्थतन्त्रमा नकारात्मक सूचकहरु देखा पर्दै गएपछि सरकारले आयात नियन्त्रणको योजना तयार गरेको छ । ब्यापार घाटाले शोधनान्तर घाटालाई निरन्तर वृद्धि गरेपछि सरकारले महंगा, बिलासी र  आन्तरिक उत्पादनले थेग्न सक्ने केही वस्तुको विदशेबाट हुने आयातलाई खुम्च्याउन प्रस्ताव गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियन्त्रण गर्न सकिने केही वस्तु तथा सेवाको सूची तयार गरेर मन्त्रिपरिषदमा पेश गरेको छ । यदि यो सूची जस्ताको तस्तै पास भएमा केही बिलासी उपभोगमा वस्तुको आयात रोकिनेछ ।

सरकारले महंगा किसिमका गाडी, भाँडाकुँडा, फलफूल, बेभरेज, इलेक्ट्रोनिक्स सामग्री, मसला, कस्मेटिक सामान, गहना, खेलौना, रक्सी र सजावटका समाग्री लगायतको आयातमा नियन्त्रण गर्न प्स्ताव गरेको छ ।

वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार यसअघि सरकारले विभिन्न सन्धी तथा महासन्धीका आधारमा पनि विभिन्न वस्तुहरुको आयातमा रोक लगाएको थियो । २०६६ कात्तिक १६ मा राजत्रमा प्रकाशित गरिएको मन्त्रिपरिषद्को केही वस्तुको आयात रोक्ने सम्बन्धी सोही निर्णयलाई परिमार्जन गर्न लागिएको हो ।

‘त्यो निर्णयलाई समायानुकुल परिमार्जन गर्न लागेका हौं, हामीलाई अनावश्यक वस्तुहरुको आयात नियन्त्रण गर्न खोजिएको हो,’ उनले भने । यस्ता वस्तुक कुन-कुन कुन हुन सक्छन् भनेर सरकारले वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचनको नेतृत्वमा एउटा अध्ययन समिति बनाएको थियो । त्यसैका अध्ययन रिपोर्टका आधारमा सरकारले आयात नियन्त्रण गर्ने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको हो ।

ब्यापार घाटा कम गर्ने उपाय खोज्न अर्थ मन्त्रालयले पनि राजश्व सचिवकै नेतृत्वमा एउटा समिति बनाएर अध्ययन गरिरहेको छ । आयात रोक्न सकिने वस्तु तथा सेवाबारे राष्ट्र बैंकले पनि अध्ययन गरिरहेको छ ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा आयात ३४.२ प्रतिशतले बढेर ६ खर्ब ७ अर्ब पुगेको छ । अघिल्लो वर्षको यस्तै अवधिमा यस्तो आयात १८.२ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ३१.७ प्रतिशत, चीनबाट ४७.७ प्रतिशत र अन्य मुलुकबाट ३३.७ प्रतिशतले आयात बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, सवारी साधन तथा पार्टस, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, अन्य उपकरण तथा पार्टपुर्जा, तरकारी, फलफूल तथा चामल लगायतका वस्तुको आयात बढेको छ ।

कुल निर्यात ११.२ प्रतिशतले वृद्धि भएर ३७ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.१ प्रतिशतले वृद्धि भएको थियो ।

यो पाँच महिनामा कुल वस्तु व्यापार घाटा ३६.१ प्रतिशतले विस्तार भएर ५ खर्ब ६९ अर्ब ४९ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ६.२ प्रतिशत कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment