+
+

कांग्रेसमाथि संसदमा सभामुखको हाँसीमजाक !

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १८ गते ४:३०

१७ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुले सभामुख कृष्णबहादुर महरामा मुलुकको प्रतिनिधिसभाको अनुहार नझल्केको आरोप लगाएको छ । चिकित्सा शिक्षा विधेयक पास गर्ने क्रममा सभामुखले दलीय मुढाग्रह देखाएको उनीहरुको आरोप छ ।

संसदको बिहीबारको बैठकमा कांग्रेसका सांसद मिनेन्द्र रिजालले सभामुखको भूमिकामथि प्रश्न उठाउँदै सभामुखले सबैको हुन्छु भनेर आस्वस्त पार्नुपर्ने माग पनि गरे । ‘सरकारलाई जनताप्रति उत्तरदायी बनाउने काम सांसदहरुको हो, यसको नेतृत्व सभामुखले गर्नुपर्छ’ उनले भने, ‘यहाँ सत्ता पक्ष पनि छ, विपक्ष पनि छ । सत्ता र विपक्ष भन्दा फरक मत राख्छु भन्नेहरु पनि छन् ।’

सबै अनुहारका बान्की सभामुखको अनुहारमा देखिनुपर्ने उनको भनाई थियो । ‘सभामुख ज्यू उच्च आसनमा हुनुहुन्छ’, सांसद रिजालले सभामुखलाई सम्झाए, ‘त्यो उचाई अहमका लागि होइन, टाढासम्म देख्न सकियोस्, सानो आजाव पनि सुन्न सकियोस् भनेर हो ।’

विगतमा आफुमाथि आक्रमण हुँदा समेत सभामुखले धैर्य देखाएको र त्यसबाट संविधान बनेको स्मरण गराउँदै उनले भने, ‘त्यही बेला पनि दुई तिहाई थियो तर, सभामुख त्यो बाटोमा हिड्नु भएन । त्यही कारण दलहरुबीच वार्ता र सहमति भयो । अब पनि प्रतिपक्ष आस्वस्त हुन चाहन्छ– सभामुख त्यही बाटामा जानुहोस् ।’

रिजाल बोलेसकेपछि कांग्रेस सांसदहरु उठे ।

सभामुखको जवाफ

सभामुख महराले प्रतिपक्षले आफूमाथि उठाएको प्रश्नको जवाफ दिन चाहेनन्, बरु हाँसिमजाक गरे ।

कांग्रेसले उठाएको अस्पतालको प्रश्नबारे सरकारले निर्णय गरेको भन्दै उनले प्रतिप्रश्न गरे, ‘यो सकारात्मक निर्णयमा खुसीका साथ उठ्नु भएको हो कि के हो माननीय सदस्यहरु ?’

खुसीमा उठिराख्नु पर्दैन भन्दै उनी आफैं हाँसे अनि ११ गते पास भइसकेको चिकित्सा शिक्षा विधेयकको विषय उठाइराख्नु नपर्ने बताए । त्यो प्रकृयामा कांग्रेसका सांसदहरु सहभागी भएको, पर्याप्त छलफलपछि पास भएको भन्दै सभामुख महराले भने, ‘विधेयक राष्ट्रियसभामा गएको छ, छलफल चलिरहेको छ, नयाँ उचाईमा उठ्छ ।’

तर, कांग्रेस सांसदहरु उठिरहे । नेकपाका सांसद विरोध खतिवडाले समय मागे, तर सभामुखले दिएनन् । बरु कांग्रेसका सांसदहरु सरकारको निर्णयमा खुसी भएर उठिरहेको भन्दै ठट्टा गरे, ‘विरोधमा उठ्नु भएको हो कि मैले बुझ्न सकिन ।

उनले काग्रेस साँसदहरुलाई धेरै बेर उभिनुभयो भने थकाई लाग्ला भनेर सम्झाए पनि । कांग्रेसको विरोध कायमै रहेपछि संसद बैठक २० गते सम्मका लागि स्थगित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?