Comments Add Comment

नेपाली भाषा साहित्यको परिभाषा संशोधन गरौं, लेखनमा सुधार गरौं

भाषा र साहित्यसँग मानिसको अनन्य सम्बन्ध हुन्छ । भाषा साहित्य सभ्यताको सूचक मात्र नभई देशविदेशमा आफ्नो पहिचान, प्रतिष्ठा र प्रभावको मुख्य आधार पनि हो । त्यसैले पनि भाषा साहित्य हाम्रो मुख्य चासोको विषय हुनुपर्छ ।

प्रत्येक भाषा साहित्यको प्रभाव र पृष्ठभूमि आ-आफ्नै छन् । यहाँ बढी चर्चा गर्न खोजिएको विषय चाहिँ नेपाली साहित्य, नेपाली भाषा साहित्यको पृष्ठभूमि र नेपाली साहित्यभित्र कुन कुन कुरालाई अटाउने ? अन्य मुलुकको अभ्यास कस्तो छ ? मुलुकको पहिचानसँगै भाषिक पहिचान कसरी आउने गर्छ भन्ने हो ।

भारतीय साहित्य भन्नेवित्तिकै भारतका २९ राज्य र ७ युनियनभित्र बोलिने ७८० भाषाहरुको साहित्यलाई जनाउँछ । बिटि्रस साहित्य भन्नेवित्तिकै युके, आयल्स अफ म्यान, च्यानल आइसल्याण्ड भित्र बोलिने एंग्लो नरमन, क्रोनिस, स्कटिस ग्येलिक, वेल्स र अंग्रेजी आदि भाषाको साहित्यलाई जनाउँछ । त्यस्तै पाकिस्तानी साहित्य भन्नाले उर्दु, पास्तु, वालुची, सेराइकी, पञ्जावी र सिन्धु भाषाको साहित्यलाई जनाउँछ ।

नेपाली साहित्य भन्नेवित्तिकै नेपालभित्र बोलिने १२५ भाषामा लेखिएका सबै भाषाको साहित्यलाई नेपाली साहित्य मान्नु पर्दछ ।

कर्णाली प्रदेशको सिँजा उपत्यकाबाट खस भाषाको आरम्भ भएको हो भन्ने कुराको प्रमाण दुल्लु दामुपालको शिलालेखलाई लिइन्छ । उक्त शिलालेख वि.स. १०३८ स्थापना भएको मानिन्छ ।

खस भाषाभित्र मुख्य ३ प्रशाखा जुम्ली, डोटेली र कुमाउनी अर्थात कतिपयले चाहिँ ११ प्रकार -जुम्ली, डोटेली, बैतडेली, अछामी, दैलेखी, बझाङ्गी, बाजुरेली, दार्चुरेली, डोल्पाली, डडेल्धुरी र गढवाली) मा विभक्त गरेका छन् ।

ती विभक्त गरिएका मध्ये हामीले नेपाली नामाकरण गरिएको भाषा, जो हामी बोलिरहेका छौं, पढिरहेका छौं, लेखिरहेका छौं, यो चाहिँ खसभित्रको जुम्ली भाषा नजिक भएकाले यसलाई खसजुम्ली भन्न सकिन्छ वा खससिँजाली पनि भन्न सकिन्छ ।

भाषाको सवाल भएकाले लवज र शब्दलाई प्राथमिकता दिनुपर्ने हुन्छ । त्यसैले खसभित्रका प्रकारहरुमध्ये धेरै शब्द र लवज जुम्लीबाट भएकाले खसजुम्ली भन्न सान्दर्भिक हुन्छ । खस भाषामात्र भन्न सकिने स्थिति छैन । यस भाषाको मुख्य उत्पतिको बोली ‘खस भाषाँ स्वयं चाहिँ अहिले पनि संरक्षण गर्नुपर्ने अवस्थामा छ ।

‘खस जुम्ली’ भाषालाई ‘नेपाली’ भाषा भनी नामाकरण गरिएपछि केही असहजता र दुविधा थपिएको देखिन्छ । तर, यस बहसबाट निकास पाउन सक्छांै । सार्वभौम मुलुक नेपाल हुनुको नाताले नेपालका नागरिक वा नेपालीहरुले बोल्ने भाषालाई नेपाली भाषा भन्ने परम्परा छ । सामान्यतया पहिलो पहिचान -मुलुक) सँगै जोडेर अन्यले चिन्ने गर्छन् । यो स्वाभाविक पनि हो ।

हाम्रा चाइनिज मित्रहरुले बोलेको सुन्दा उनीहरु चाइनिज भाषामा कुरा गरिरहेका छन् भन्छौं, तर उनीहरु वास्तवमा म्याण्डरिन वा क्यान्टोनी भाषामा बोलिरहेका हुन्छन् । मुख्य पहिचान (देश) संग अन्य सहायक पहिचान जोडिने प्रचलन विश्वभर छ ।

तर, हाम्रो मुल पहिचान (देश) नेपाल छ र भाषाको नाम नै नेपाली राखिनुले, के प्रोत्साहित गर्दछ भने जो नेपाली (खसजुम्ली) बोल्दछ, त्यो मात्र नेपाली हो अथवा जो नेपाली हो, उसले खसजुम्ली भाषा बोल्नैपर्छ भन्ने कसैले वितर्क पनि गर्न सक्छ । अर्थात, खसजुम्ली नबोल्ने नेपाली होइनन् भन्न सक्छ ।

तेस्रो व्यक्ति अर्थात अन्य मुलुककाले हामीलाई नेपालका नागरिक वा नेपाली पहिचान भएकाले हामीलाई नेपाली जाति देख्छन्, हामीले जुनसुकै भाषा बोले पनि नेपाली बोले भन्छन, हाम्रो आ-आफ्नै जात थर भए पनि उनीहरुले नेपाली जाति भन्छन्, त्यो अर्कै पाटो रहयो । यहाँ चर्चा गर्न चाहेको विषयचाहिँ नेपाली शब्दको, नेपाली साहित्यको र नेपाली भाषा साहित्यको हो ।

नेपाली शब्दको सन्दर्भमा नेपाल मुलुक भएकाले राष्ट्रियता नेपाली, नेपालभित्र बोलिने सबै भाषाहरुको साहित्य नेपाली साहित्य र खसजुम्ली (नेपाली) भाषालाई देवनागरी लिपी प्रयोग गरी लेखिएको साहित्य नेपाली भाषा साहित्य हो । यहाँ यी माथिका ३ वटै कुरा सही र स्वीकार्नै पर्ने हुन्छ ।

यो अर्थमा कि नेपालभित्र बोलिने विभिन्न मातृभाषाहरुसहित खसजुम्ली भाषाको साहित्यलाई नेपाली साहित्य भन्नै पर्नेहुन्छ र अर्को महत्वपूर्ण कुराचाहिँ खसजुम्ली भाषालाई मात्र ‘नेपाली भाषा’ नामाकरण भइसकेको एवं मान्यता पाइसकेको हुनाले खसजुम्ली भाषाको साहित्यलाई मात्र पनि नेपाली साहित्य मान्नै पर्ने स्थिति छ । हामी यी दुई कुरालाई ख्याल गर्दै स्पष्ट हुन आवश्यक छ ।

देशको नाम नेपाल भएकाले भाषाको नाम नेपाली भनी नामाकरण गर्न आवश्यक थिएन । छिमेकी मुलुक भारतको भारती भाषा छैन, भनिन्दैन । त्यहाँ हिन्दी, तमिल, मराठी, अंग्रेजी लगायत अनेक भाषा बोलिन्छ ।

फिलिपिन्स देशको फिलिपिना भाषा नभनी तागलोक भाषा नै भन्छन् त्यो लगायतको १ सय ८७ भाषा फिलिपिन्समा छन् । त्यसैले खसजुम्ली भाषालाई नै यथावत नाममा सरकारी भाषा बनाएको भए भाषाको नाम र यसको बुझाईमा दुविधाहरु आउने थिएन्न ।

कसरी र कहिले खस जुम्ली भाषालाई नेपाली नामाकरण गरियो त ? कमल प्रसाद मल्लद्वारा सम्पादित एक पुरानो पुस्तक ‘प्रस्पेक्टिभ अन कन्टिन्यूटी एण्ड चेञ्ज’ पुस्तकको पेज ४५७ मा ‘प्रधानमन्त्री चन्द्र समशेरले सन् १९०५ मा नेपाली भाषा बाहेक अन्य भाषामा लेखिएका डकुमेन्टहरु प्रशासन र अदालतहरुमा अमान्य हुने बनाए भन्ने उल्लेख छ ।

त्यस्तैगरी अर्को दस्तावेजमा भनिएको छ “गोर्खा राज्यको विस्तारसँगै लादिएको खस कुरा वा गोर्खा भाषाको साम्राज्य हेर्दा हामी भाषाको मामिलामा लोकतान्त्रिक गणतन्त्रमा होइन, सुरेन्द्र वीरविक्रम शाह र जंगबहादुर राणाको शासनमा बाँचिरहेका छौँ, जसले गोर्खा भाषाको शासनलाई थप कठोर बनाएका थिए । उनीहरूले वि. स. १९१० सालमा एक इस्तिहार जारी गरी सरकारी कामकाज चलाउन भने तत्पश्चात खस कुरा वा गोर्खा भाषाबाहेक अन्य भाषाको प्रयोगमाथि बन्देज लगाएका थिए, जुन बन्देज अद्यापि लागू रहेको छ ।”

युग पाठकले माङ्गेना पुस्तकमा लेखेका छन्- ‘सन् १९२० को दशकदेखि नै नेपाली भाषाको प्रचार गर्नेमा दार्जीलिङबाट सुधपा (सूर्य विक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान) प्रमुख थिए । सुधपाकै दबावमा सन् १९३२ मे महिनामा कलकत्ता विश्वविद्यालयले पढाई गराउने विषयको नाम ‘नेपाली पहाडिया खसकुरा’ लाई ‘नेपाली’ शब्दले विस्थापित गरयो ।’

त्यही सेरोफेरोमा खसजुम्ली नजिकको भाषालाई नेपाली भाषा भन्न शुरु भएको भेटिन्छ । यस भाषालाई राज्यबाट संरक्षण प्राप्त भएकोले संमृद्ध बन्न सकेको स्पष्ट हुन्छ । यसको अर्थ के पनि हो भने भाषाको संमृद्धि, राष्ट्रकै सम्मृद्धि हो र भाषा सँमृद्धिको निम्ति राज्यबाटै संरक्षण हुनुपर्दछ भन्ने दृष्टान्त पनि हो ।

माङ्गेना पुस्तककै पृष्ठ ५३ मा भनिएको छः ‘देशकै नाममा इकार जोडेर शासकीय भाषालाई जब नेपाली बनाइयो, तब अरु भाषा र संस्कृतिहरु स्वतः बहिष्किृत भए ।’
यो तथ्यसँगै हामी स्वस्थ बहस गर्न सक्छौं । खसजुम्ली भाषालाई नेपाली भाषा नामाकरण गर्नु सही थियो या गलत ? के नाफा र के घाटा भयो ?

खसजुम्ली भाषालाई नेपाली नामाकरण गर्नुले अन्य भाषालाई उपेक्षा गरिएको अर्थात नसमेटिएको निक्यौल गर्दै प्राडा. टंक न्यौपानेले सबै भाषाहरुको साहित्यलाई समेटनको निम्ति ‘नेपालीय’ भन्ने शब्दको प्रयोग गरौं भनी प्रस्ताव पनि गर्नुभएको छ । यो सवाललाई अब महत्वका साथमा हेरिनु पर्दछ कि ?

खसजुम्ली भाषालाई विभिन्न कालखण्डमा विभिन्न नामले पुकारिन्थ्यो । त्यसको अर्को उदाहरणः ‘नेपाली भाषाको काल विभाजन ऐतिहासिक घटनाक्रम भाषिक पुरातनको आधारमाः सिंजाली भाषा वि.स.११५०-१४५० सम्म, पर्वते भाषा वि.स. १४५०-१८५० सम्म, गोर्खाली भाषा वि.स. १८५०-१९९० सम्म र राष्ट्र भाषा नेपाली भनेर वि.स.१९९० पछि भएको उल्लेख छ ।’

नेल्सन मण्डेलाले भनेका थिए, ‘जसलाई भनिएको हो, उसले बुझ्ने भाषामा बोल्दा उसको टाउकोमा गएर बस्छ र उसैले बोल्ने भाषामा कुरा गर्यौ भने उसको मुटुमा गएर बस्दछ ।’

अर्का चिन्तक पेड्रो काल्डरोले भनेका छन्, ‘भाषा सबैभन्दा खतरनाक हतियार हो ।’ त्यसैले यो भाषाको हतियार कसरी र कताकता चल्यो, अब हिसाब-किताब गरेर सुस्पष्ट हुन आवश्यक छ ।

खसजुम्ली भाषालाई नेपाली नामाकरण गर्नुको फाइदा बेफाइदा दुबै छन् । यद्यपि खसजुम्लीहरुको विरासतलाई सम्मानपूर्वक ब्यवस्थापन गर्ने सवालमा पनि चिन्तन आवश्यक छ । गोर्खा राज्यको एकात्मककरणसँगै उसको राज्यको प्रभुत्व कायम गर्न पक्कै एक भाषी नीतिले सहयोग पुर्‍याएको कुरा यसको नाफा पक्ष रहयो भने अन्य मातृभाषीहरु ओझेलमा परे र महेन्द्रीयवादमा रुमलिएका छन् । त्यो यसले पुर्‍याएको घाटा हो ।

के हो महेन्द्रीय राष्ट्रवाद ?

राजा महेन्द्रले  “एउटै भाषा एउटै भेष, एउटै राजा एउटै देश” को नारा लगाई खसजुम्ली भाषालाई नेपाल राज्यको भाषाको मान्यता दिई पुरै देशभर सरकारी कामकाजको भाषाको रुपमा कडाईका साथ लागु गरी अरु भाषालाई एक हिसावले दमन नै गरे ।

त्यसैगरी नेपाललाई पहिलोचोटि धर्म सापेक्ष राज्य घोषणा गरेर अन्य धर्मको अस्तित्व अस्वीकार गरे । देशको ऐन कानुन धर्म प्रेरित बनाई एक समुदाय बिशेषलाई देशको ठेक्का दिए । यसको मतलव पहाडे आर्यहरुलाई प्राथमिकता दिने र अरुको अस्तित्व अस्वीकार गर्ने कार्यलाई नै महेन्द्रीय राष्ट्रवाद भनियो ।

त्यसको पक्षपोषण गर्न अन्य भाषा बोल्ने वा अन्य धर्म मान्नेलाई गाई खाने भाषा वा धर्म भनियो र जेल हालियो । तराईका सीमाहरुमा पहाडी समुदायलाई लगेर राखी सीमाको रक्षा गराउने नाटक मञ्चन गरियो ।

नेपाली समाज अहिले पनि महेन्द्रीय राष्ट्रवादले थिलथिलोमा छ । नेपालीहरुको मस्तिष्कमा एक देश, एक नरेस, एक भाषा, एक भेष भन्ने मन्त्रले लामो समय गाँजी रहयो र अझै पनि उही विरासतका धङ्धङ्गी बाँकी छन् ।

सबै गणराज्यहरु मासेर एक देश, सबै शासकहरु मासेर एक राजा, अन्य पोषाकहरु मासेर एक भेष बनाउँदै गर्दा सबै जात र थरहरु मासेर एक थर मात्र बाँकी राख्न खोजिएको थियो कि ? स्वाभाविक प्रश्न उठ्न सक्छ । बहूभाषा बोलिने मुलुकमा यस्तो नीति आउनु सर्वदा दुःखद कुुरा थियो । यस विषयमा सबैको अध्ययन र चासो हुनु जरुरी छ ।

नेपाली साहित्यको सापेक्षित परिभाषा र दायित्व

बर्मा, भारत, भुटानमा बस्ने नेपालीहरु खसजुम्ली (नेपाली) भाषा बोल्छन, लेख्छन् । तर, उनीहरुसँग नेपाली नागरिकता छैन । उनीहरुलाई त्यहाँ नेपाली जातिको रुपमा चिन्छन् । उही नेपाली समुदायबीच मात्रै आ-आफ्नो थरले चिनिन्छन् ।

भाषा यति ठूलो कुरा हो, भाषाकै कारण राष्ट्र र राष्ट्रियता बन्ने गर्दछ । त्यसैले अब नेपाली साहित्य तथा भाषा साहित्यको पुनव्र्याख्या हुन जरुरी छ । भाषा र साहित्यलाई भूगोलको सीमाभित्र बाँधेर राख्न सकिँदैन । नागरिकताको आधारमा अलग्याउन मिल्दैन ।

सामान्यतया ‘नेपालभित्र बोलिने सबै (मातृ) भाषाहरुको साहित्य तथा देशविदेशमा नेपाली पहिचान भएका र नेपाली परिचयमा गौरव गर्नेले आफ्नो मातृभाषामा लेखेका साहित्य नेपाली साहित्य हो । यो ब्याख्या र परिभाषाले मात्र अब पूर्णता र सापेक्षतातर्फ लैजान सक्छ भने ‘नेपाली (खसजुम्ली) भाषालाई देवनागरी लिपिमा लेखिएको साहित्य नेपाली पहिचान र प्रतिष्ठा भइसकेको छ । यसको श्रीवृद्धिको निम्ति हरप्रकारको कार्य गर्नुपर्ने पनि दायित्व हाम्रै हो ।

मानिसले मातृभाषा, सम्पर्क भाषा, अन्तर्राष्ट्रिय भाषा तथा छरछिमेकका भाषा बोल्ने गर्दछन् । उनीहरुको मातृभाषाको साहित्यलाई कसरी व्यवस्थित गर्ने ? उनीहरुद्धारा सिर्जित साहित्यलाई कसरी नामाकरण गर्ने ?

उदाहरणका निम्ति- नेपाली भारतीय साहित्य, नेपाली बर्मेली साहित्य, नेपाली बि्रटि्रस साहित्य योसँगै मातृभाषाको सवालमा चाहिँ लिम्बु भारतीय साहित्य, लिम्बु नेपाली साहित्य र लिम्बु वर्मेली साहित्य स्वभाविकरुपमा आउनुपर्छ । त्यस्तै गरी पहिलो तथा मुख्य पहिचान/चिनारी -देश) को नामबाट छाँयामा पर्ने अवस्थालाई हामीले कसरी व्यवस्थापन गर्ने ? चिन्तनको खाँचो छ ।

भाषाको सवालमा लेखक राजेन्द्र महर्जनले लेख्नुभएको छ ‘भाषाको मामिला हेर्दा यस्तो देखिन्छ, हामी महेन्ऽकालीन राष्ट्रवादको दुर्गन्धी दहमै भैँसी जस्तै रमाइरहेका छौं ।’ वास्तवमा हामी त्यो महेन्द्रकालीन विरासतभन्दा ध्वनी विज्ञानसम्मत अगाडि किन नजाने ?

खस भाषा/खसजुम्ली भाषा

खसजुम्ली भाषाको उन्नत रुप नेपाली भाषा हो भन्ने तथ्य त स्थापित भइसकेको छ । आमरुपमा खस भाषा इतिहासकालीन बृहत जुम्लाराज्यको खसान क्षेत्रमा बोलिने लवज हो । त्यसको सिंजा केन्द्र थियो । तर, त्यसको भाषिक प्रभाव क्षेत्र २२ खोला र १४ दरा समेटिएको भूभाग हो । अर्थात् तिब्रिकोट, जुम्ला, चौधबिस, रास्कोट, हुम्ला, गुम मुगु, खत्याड, सोरु, डोल्पा, बाजुरासम्म ।

भाषाका अध्येताहरुले पनि यो भाषालाई जुम्ली, जुम्लेली, खसकुरा र सिंजाली भनेर पनि चिनिने उल्लेख गरेका छन् । समाज भाषा वैज्ञानिक सर्वेक्षण अन्तर्गत सन् २०१६ मा ‘जुम्ली नेपाली भाषा’को अध्ययन भएको थियो । अध्ययनले जुम्ली नेपाली भाषा बाजुरा, बझांग र अछाममा पनि बोलिने गरेको उल्लेख गरेको छ ।

यद्यपि यसमा डोल्पा, जाजरकोट, दैलेख, सल्यान, रुकुमतिर पनि बोलिने जानकारी छ । भाषा वैज्ञानिक सर्वेक्षण २०१६ को अध्ययनको फिल्ड प्रतिवेदनअनुसार जुम्ली नेपाली भाषीमध्ये ७५ प्रतिशतले अरुसँग कुरा गर्दा प्रायः ‘नेपाली भाषा’ को माध्यम प्रयोग गर्ने गर्दछन् ।

नेपाल भाषा

नेपाल देश, नेपालको राष्ट्रियता नेपाली, नेपाली साहित्य, नेपाली भाषा साहित्यको बारेमा हामी माथि स्पष्ट भयौ यद्यपी ‘नेपाल भाषाँ शब्द पनि नजिक छ । काठमाडौंलाई मात्र नेपाल भनिने पुरानो प्रचलन अनुसार काठमाडौं -तत्कालिन नेपाल) भित्र धेरैले बोल्ने भाषा नेवार भएकोले नेवार भाषाको नाम नै ‘नेपाल भाषाँ रहेको हो ।

नेपालभाषा समृद्ध बन्दै गएको बखत सन् १९८९ मा जुद्ध शमशेर समक्ष बालकृष्ण शम्शेरले गरेको बिन्तिपत्रमा लेखेका छन्ः ‘राष्ट्रिय एकताको निम्ति एउटा राष्ट्रभाषा हुनु अत्यावश्यक रहेको छ… ।

त्यसकारण नेवार भाषालाई उपेक्षा गरिएको भए पनि संयुक्त राष्ट्रसंघमा नेवार अक्षर रञ्जना लिपि नै नेपालको लिपि भनी दर्ता भएको छ । नेवार समुदायभित्र १२ वटा लिपि प्रचलनमा रहेको अर्को रोचक पक्ष छ भने ११ भन्दा बढी उपजातहरु छन् ।

विश्वमै लेखन, लिपिको विविधता झनै रमाइलो पाइन्छ । एक नेवार समुदायको १२ वटा लिपिको ठीक विपरीत एक ल्याटिन अल्फावेट लिपिलाई अंग्रेजी भाषासहित विश्वका १३० भाषाले प्रयोग गर्छन् । त्यस्तै, मायान लिपिलाई विश्वका ३२ भाषाले प्रयोग गर्ने गर्छन् । अर्थात ३२ भाषाको लेखन लिपि मायान हो ।

हाइपोथेटिकल

खसजुम्ली भाषाको सट्टामा थारु भाषालाई ‘नेपाली भाषाँ नामाकरण गरी सरकारले राज्यबाट पक्षपोषण गरेको भए अहिलेको अवस्था कस्तो हुनेथियो होला ? अत्यन्तै चर्चित डा. बाबुराम भट्टराई एसएलसीमा के बोर्डफष्ट हुने थिए होलान् ? भानुभक्त आचार्यले बाल्मिकीको रामायण खसजुम्ली (नेपाली) भाषामा अनुवाद गरेर घरघर पुर्‍याएको भए पनि के यस्तो समृद्ध हुन सक्थ्यो होला ?

खसजुम्ली भाषालाई कसले शुरुवात गर्‍यो त नेपाली भाषा भनी बोलाउन ? सम्भवतः नेपालबाट दार्जीलिङ, कुमाउ र बनारसतिर गएकाले बोल्ने भाषालाई त्यहाँका समुदायले पहिले पहिले नेपाली भाषी भन्न शुरु गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

विश्लेशक सिके लालका अनुसार नेपाली’ भाषा अंग्रेजले गोर्खाली सिपाहीका लागि बनाइदिएका थिए भनेका छन् ।

लेखन विवाद

खसजुम्ली (नेपाली) भाषालाई देवनागरी अक्षरमा लेखिने प्रचलनको सवालमा नेपाल सरकारले २०६९ सालमा स्वीकृत गरेको ‘नेपाली वर्ण विन्यास’ (पुस्तक) ले धेरै ध्वनी विज्ञान नजिक लगेको थियो । अन्य भाषीलाई देवनागरी लेखनमा सरल हुने भएकाले नेपाली साहित्य विस्तारको ढोका खुलेको थियो ।

लेखन जति सजिलो हुन्छ, त्यति नै अन्य भाषीले सिक्न सक्छन् । तर, त्यसको ठीक विपरीत विसं ०७४ मा मानक नेपाली भाषा अभियानले ध्वनी विज्ञानलाई नभई ऐतिहासिक विरासतको आधारमा लेखनको मानक वनाएका छन् । जसले सयांै ग्रन्थहरुलाई त बचाएका छन तर भाषा लिपिलाई बाहिर विश्वमा लैजाने बाटो चाहि साँघुरो बनाएको छ । यसलाई सामान्य रुपले मात्र हेर्न मिल्दैन ।

नागरी लिपी भारतको देवनगर (काशी) बाट प्रचलन शुरु भएकाले यसको नाम ‘नागरी’ भनिएको हो । पछिबाट देव थपेर देवनागरी भनिएको हो । यस नागरी लिपीमा जम्मा ५२ अक्षर, १४ स्वरवर्ण र ३८ ञ्यञ्जन वर्ण हुन्छन् । यस नागरी लिपीमा संस्कृत, हिन्दी, मराठी, कोंकणी, शिन्धी, काश्मीरी, डोगरी, नेपाली, बोडो, मैथिली लगायत ९ भन्दा बढी भाषाहरु लेखिन्छन् । यसको विकास ब्राम्ही लिपिबाट भएको हो ।

अन्य मुलुकको अभ्यास हेरौं । परम्परागत लेखनमा रहेको चाईनिज म्याडरिनको ३ हजार ब्यञ्जन तथा स्वरवर्ण अक्षरहरुलाई सरलीकरण गरेर २६ अक्षर, २३ ब्यञ्जनवर्ण र २४ स्वरवर्ण बनाउँदा पनि उनीहरुको इतिहासको विरासत बाँचेकै छ । तर, नेपाली लेखन चाहिँ ध्वनी विज्ञानबाट पछि फर्किएर इतिहासको विरासत जोगाउनमा लागेको छ । जुन कुरा भाषा साहित्यको विस्तारमा बाँधक हो । जति सजिलो लेखन, त्यति नै विस्तार हुदै जाने भएकाले त्यही नै भाषा साहित्य समृद्धिको आधार हुने गर्दछ ।
भाषा समानता र समाबेशी सवाल

उसो त वि.स. १९०५ मा सुब्बा सिरधोज लिम्बुलाई प्रदान भएको सनदमा अंग्रेजी, उर्दु र नागरी लिपी भएको छाप लगाईएको छ । त्यसले स्पष्ट पार्छ कि १ सय ७० बर्षअघि नेपालको प्रसासन सबैको अस्थित्व ग्रहण गर्ने समावेशी थियो ।

त्यस्तै ‘वि.स. २०१५ सालमा विश्वेश्वर प्रसाद कोइराला सरकारले प्राथमिकदेखि विश्वविद्यालयसम्म नेपाली बाहेक हिन्दी, मैथिली र नेवारी भाषामा पठनपाठनको अनुमति प्रदान गरेको थियो । अफसोच ! दरबारको आदेशमा रेडियो नेपालबाट हिन्दी र नेवारी भाषाको कार्यक्रम र समाचार वि.सं. २०२२ सालमा बन्द गराइयो ।

वि.सं. ०५४ साल चैत्र ११ मा काठमाडौं महानगरपालिकाले नेवारी भाषा, धनुषा जिविस र राजविराज नगरपालिकाले मैथिली भाषालाई स्थानीय कामकाजी भाषाका रूपमा लागू गर्न प्रयत्न गरेको थियो । तर, न्यायाधीशद्वय कृष्णजंग रायमाझी र टोपबहादुर सिंहको संयुक्त इजलासबाट वि.सं.०५६ साल जेठ १८ गते नेपाली बाहेकको मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नु संविधान विपरीत हुने आदेश जारी गरे ।’

एक भाषा नीति लागु गर्नुको मुख्य कारण प्रसासनिक सजिलोको निम्ति थियो । तर, त्यो एक भाषी नीतिले खसजुम्ली नबोल्ने जातिलाई पढाईमा पछाडि पारिरहेको थियो । खसजुम्ली भाषी बाहेककालाई पढाईमा भकालोको काम गरिरहेको थियो । प्रेमचन्ऽ समशेर देखि शुरूभएको भाषिक नीतिलाई पूर्व राजा महेन्ऽको पालामा अझ कडा पारियो ।

रोचक पक्षचाहिँ बहुदल पश्चात विसं ०४६ मा कानुन बनी मावि तहमा विसं ०५६ देखि संस्कृत भाषालाई एसएलसी (हालको एसईई) सम्म अनिवार्य र पछि ऐच्छिक गरियो । तर, विसं ०६३ मा हटाउन बाध्य हुनुपर्‍यो । यसलाई अनिवार्य गर्नुको कारण संस्कृत भाषा प्राचीन भाषा भएकाले संस्कृत जान्दा मात्र चुरोकुरा जान्न सकिन्छ भन्ने थियो ।

धेरै विद्वानहरूले संस्कृत अनिवार्य गर्नुको उद्देश्य खसजुम्ली नबोल्ने समुदायलाई शिक्षामा रोक्नु हो भन्ने आरोप पनि लगाए । प्रष्ट खसजुम्ली बोल्न नसक्ने लगभग ६० प्रतिशत मातृभाषीले संस्कृत उच्चारण गर्नै सक्दैनथे र सबै विषय उत्तीर्ण नगरे एसएलसी पास नहुने भएकाले षडयन्त्र छ भन्ने आरोप पनि लगाए ।

दोस्रो कारण, दाङ, काठमाडौं र धरानमा रहेको तत्कालीन महेन्द्र विश्वविद्यालय र हालको नेपाल संस्कृत विश्वविद्यालयमा अध्ययन गरेकालाई रोजगारीको ब्यवस्था हुने बुझे । रोजगारी प्राप्त हुनेभएपछि संस्कृत अध्ययनमा आकर्षण तथा संस्कृत भाषाको संमृद्धि थियो तर संस्कृत चाहि सबै जनताको विरासत थिएन । त्यसैले पनि हटाउन पर्ने आवाज उठ्यो र हटयो ।

नेपालको विगत २ सय बर्षको इतिहासमा प्रभाव, प्रतिष्ठा र अवसरको निम्ति भाषाले नै भूमिका खेलेको पाईन्छ । त्यसैले भाषा र सरकारको नीति सबैभन्दा महत्वपूर्ण कुरा हुन् ।

थाँती रहेका काम

नेपाली शब्दको आयाम अनेक र महत्वपूर्ण छन् । नेपाली साहित्य र नेपाली भाषा साहित्यको परिभाषामा सुधार तथा परिमार्जन गर्दै विस्तार गर्न आवश्यक छ । परिभाषामा नेपाल बाहिर जन्मिएका, पहिचान नेपाली भएका र नेपाली परिचयमा गौरव गर्नेले बोल्ने भाषाको साहित्यलाई कसरी नेपाली साहित्यमा जोड्ने ?

जुनसुकै भाषामा लेखिएको भए पनि साहित्यको मर्म, भावना, सुगन्धले कुन साहित्य हो भन्ने कुरा जनाउँछ । यो मान्यतासँगै विदेशमा रहेकाले विदेशकै सुगन्ध बोकेको साहित्य खसजुम्ली (नेपाली) भाषा र नागरी लिपीमा लेखेको साहित्यलाई कसरी नेपाली साहित्य भन्न सकिन्छ ? कसरी समन्वय गर्न सकिन्छ ? अब हाम्रो परम्परागत बुझाईको नेपाली साहित्यको परिभाषा किन अपूर्ण छ ? परिवर्तित परिस्थितिमा अझ खुल्ला भई प्रभावकारी ढङ्गले नेपाली साहित्य, खसजुम्ली भाषा साहित्य र नेपाली पहिचान एंव प्रतिष्ठाको निम्ति अझ जुझारु भई कसरी अघि बढ्न सकिन्छ ? आदिबारे चिन्तन र बहस हुन जरुरी छ ।

उपसंहार

खसजुम्ली भाषाको विकसित रुप नै अहिलेको नेपाली भाषा हो भन्ने कुरामा दुईमत छैन । यद्यपि जुम्ली भाषा र अहिलेको नेपाली भाषामा धेरै अन्तर पाइन्छ । त्यसैले यसलाई खसजुम्ली भनिएको हो । भाषा आफैं परिवर्तन र विकसित हुँदै जाने चीज भएकाले भिन्नता आउनु सामान्य कुरा हो । देशको नाम नेपाल रहे पनि सरकारी कामकाजी भाषा खसजुम्ली भनिएको भए अन्य मुलुकमा झै सहजता रहन्थ्यो । खसजुम्ली (नेपाली) बोल्ने मात्र नेपाली हुन् कि भन्ने भ्रम रहने थिएन ।

नेपाली साहित्य र खसजुम्ली साहित्यको परिभाषामा दुविधा आउने थिएन । लिपिको लेखनमा जति सजिलो र भाषाविज्ञान सम्मत बनायो त्यतिनै विश्वव्यापी जान सकिन्थ्यो । त्यसैले लेखनको विरासत भन्दा वैज्ञानिकतामा ध्यान दिन सक्नुपर्छ ।

खसजुम्ली नबोल्नेहरुलाई सच्चा नेपाली भइन्न कि भन्ने भ्रम रहने थिएन । देशको राष्ट्रियता र व्यक्तिमा हुने राष्ट्रियतामा दुविधा रहने थिएन । तर, समय आएको छ । सबैले सामुहिकरुपमा स्वस्थ चिन्तन, बहस गरौं र समयअनुकुल अगाडि बढौं । नेपाली, खसजुम्ली, नेपालयीय आदि शब्द र नेपाली साहित्यको परिभाषालाई अब संशोधन तथा सुधार गरौं ।

(लेखक विश्व नेपाली साहित्य महासंघ, अन्तर्राष्ट्रिय केन्द्रीय समितिको अध्यक्ष एवं हाल क्यान्टवरी युनिभर्सिटी युकेमा राजनीति विषयमा उच्चशिक्षा अध्ययनरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment