२० माघ, काठमाडौं । नेपाललाई अहिले पनि कृषिप्रधान मुलुक भन्ने गरिन्छ । तर, कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान निरन्तर खस्किरहेको छ भने कृषिजन्य उत्पादनहरु नै विदेशबाट आयात गर्नुपर्ने स्थिति छ ।
भारतीय बजारबाट भित्रिएको तरकारी हाम्रो भान्सामा पुगिरहेका छन् भने नेपाली कृषकले उत्पादन गरेको कृषि उपजले बजार पाएका छैनन् । हाम्रा कृषकले कहिले गोलभेडा सडकमा मिल्काएको त कहिले काउलीबारीमा डोजर लगाएको समाचारहरु सञ्चारमाध्ममा आउँछन् । तर, सरोकारवाला निकायले भने अझै पनि त्यति चासो देखाएको देखिदैन ।
गत शुक्रबार बिहान सुनसरीको सदरमुकाम इनरुवामा रहेका गुद्री बजार पुग्दा किसानका धेरै थरीका पीडा सुनियो । उनीहरुले कयौं विगाहामा रोपेको तरकारी नाफा कमाउनभन्दा पनि खेत खाली गर्न बेच्नु परेको सुनाए ।
सुनसरीकै भोक्राहामा तरकारी खेति गर्ने चन्द्रकिशोर राजबंशीले भने, ‘तरकारी बेचेर नाफा हुने देखिएन । तर, खेतमै कुहाउनुभन्दा ५ रुपैयाँ किलोमै काउली बेचिरहेको छु ।’
राजबंशीमात्रै होइन इनरुवाको गुद्री बजारमा भेटिएका सबै तरकारी व्यापारीको पीडा उस्तै छ । गुद्री बजारमा व्यापारीहरु ३ प्रकारका थिए । कोही आफै उत्पादन गरेर बजारसम्म ल्याएर बेच्ने त कोही किसानकोमा गएर किनेर ल्याएर बेच्ने । तेस्रोथरी चाहिँ आफू पनि उत्पादन गर्ने र आफूले उत्पादन गरेको तरकारीसँगै अरु तरकारीसमेत किनेर ल्याएर बेच्ने ।
गुद्री बजारमा पुग्दा काउली कतै ५ रुपैयाँ किलो त कतै ६ रुपैयाँ किलो थियो । इनरुवाको मूख्य चोकमा ७ रुपैयाँसम्म पर्ने काउली गुद्री बजारसम्म पुग्दा प्रतिकिलो ५ रुपैयाँमा नै पाइन्थ्यो ।
मर्नुभन्दा बहुलाउनु बेश !
काउली कसरी ? काउली र हातमा तराजु बोकिरहेकी एक वृद्धालाई ग्राहकले सोधे, ‘७ रुपैयाँ दिनोस न हजुर ।’ ती वृद्धले भनिन् । तर, उनले सात रुपैयाँ किलोमा अडान लिन सकिनन् ।
फेरी ग्राहकले भने, ‘म तीन किलो लान्छु, ५ रुपैयाँले दिने हो ?’ वृद्धाले मानिनन् । ग्राहक रित्तै हिँड्न लागे । अन्ततः वृद्धाले ५ रुपैयाँमै दिन राजी भइन् । त्यसपछि ति ग्राहकले १५ रुपैयाँ तिरेर ३ किलो काउली लगे ।
ग्राहकले काउली बोकेर गएपछि हामीले वृद्धालाई सोध्यौं, ‘५ रुपैयाँ किलो बेचेर फाइदा कति हुन्छ ?’ जवाफ फर्काउन उनले गाह्रो मानिन् । मुसुक्क हासिन् मात्रै ।
हामीले फेरि सोध्यौं, ‘आफैले फलाउनु भएको हो कि किनेर ल्याउनु भएको हो ?’
‘आफ्नै बारीमा छ, आफ्नै बारीमा छ,’ उनले भट्टै जवाफ फर्काइन् ।
हामीले थप प्रश्न गर्दै गएपछि उनी खुल्दै गइन् । उनले भनिन्, ‘फाइदाभन्दा पनि बेच्नकै लागि आएको हो । नुन तेल त किन्नुपर्यो नि ।’
उनले आफ्नो खेतमा धान नफल्ने र तरकारी बेचेर आफ्नो गुजारा टार्नुपर्ने सुनाइन् । करिब १५ दिन अगाडि नै खेतमा तरकारी बेच्ने तयारी भए पनि भाउ नपाएका कारण खेतमै तरकारी राखेको उनले बताइन् ।
‘केही समयपछि बढ्छ कि भनेर पर्खिएको, तर बढेन,’ उनले भनिन्, ‘बारीमै कुहाउनुभन्दा थोरै पैसा भए पनि आउँछ भनेर बेचिरहेकी छु । मर्नुभन्दा बहुलाउनु निको होइन त ?’
सुनसरीकै भोक्राहाका चन्द्रकिशोर राजबंशी ‘बारीमै कुहिनुभन्दा त थोरै भए पनि पैसा आउँछ भनेर ल्याएको ।’
व्यापार, विचौलियाको गुनासो उस्तै
तरकारीमा पछिल्ला केही वर्षहरुदेखि त्यति फाइदा नभए पनि पुख्र्यौली पेशा भएका कारण छाड्न नसकिएको तरकारी व्यापारीहरुले सुनाए । गुद्रीबजारमा गोलभेडा र भाण्टा फिँजाएर बसिरहेकी इनरुवाकै ललिताकुमारी मण्डलले परिवारको पुरानो पेशा नै तरकारी खेति भएका कारण यसलाई अपनाएको बताइन् ।
‘मेरो ससुराले पनि तरकारी बेच्नु हुन्थ्यो, त्योभन्दा पहिले पनि तरकारी नै बेच्न चलन रहेछ । माइतीमा पनि त्यस्तै हो,’ मण्डलले भनिन्, ‘पुर्ख्याैली पेशा भएका कारण पनि घाटा/नाफा नभनी व्यापार गरिरहेका छौं ।’ आफ्ना सन्तानहरुले भने तरकारी व्यापार नगरेको उनले बताइन् ।
मण्डलका ३ छोरा र २ छोरी गरी ५ सन्तान छन् । छोरीको बिहे भइसक्यो । छोराहरु पनि घरमा छैनन् ।
‘एउटा छोरो विदेश भएको छ भने अर्को छोरो विराटनगरमा बाइक बनाउने मिस्त्री बनेको छ,’ उनले सुनाइन् ।
केहीवर्ष अघिसम्म राम्रै नाफा हुने भए पनि पछिल्ला केही वर्षहरुदेखि भने सस्तोमा तरकारी बिक्री गर्नु परेको उनको गुनासो छ । छोरालाई ३ वर्षअघि विदेश पठाउँदा लागेको ऋण तरकारी बेचेरै तिरेको भए पनि अहिले तरकारी बेचेर खानै नपुग्ने स्थिति सिर्जना भएको मण्डलले बताइन् ।
किसानहरुको उत्पादनस्थलबाटै उठाएर बजारसम्म ल्याई बेच्ने विचौलियाहरुको गुनासो पनि कम्ति छैन । तरकारी व्यापारबाट पछिल्लो समय धेरै नाफा नहुने गरेको उनीहरु बताउँछन् ।
‘खेतमै गएर काउली किनेर ल्याउँदा अहिले सस्तो भएको छ, तर खेतमा सस्तो हुँदा बजारमा पनि सस्तोमा बेच्नु पर्छ,’ ट्रकबाट काउली ओरालिरहेका एक व्यापारीले भने, ‘मैले ४ रुपैयाँ किलो किनेर ल्याएको छु, अब यहाँ ५/६ रुपैयाँमै खोज्छन्, एक रुपैयाँ नाफा खाएर कसरी ट्रकको भाडा उठाउनु ?’
खेतमै महंगो भए बरु नाफा धेरै हुने उनको भनाइ छ । उनी भन्छन्, ‘पोहोर मैले १५ रुपैयाँमा किनेर २२ देखि २५ रुपैयाँसम्म बेचेँ, किलोमै १० रुपैयाँसम्म फाइदा भयो । तर अहिले ४ मा किनेर ५ मा बेच्दा एक रुपैयाँ फाइदाले लगानी नै उठाउन सकिदैन ।’ नेपालमै उत्पादन भएको तरकारीहरु बेच्नु भन्दा भारतबाट ल्याएर बेच्दा फाइदा हुने गरेकोसमेत उनले सुनाए ।
नेपालमा उत्पादन कम हुने सिजनमा महंगी बढ्ने र त्यसबेला भारतबाट ल्याएर बेच्दा फाइदा हुने उनको अनुभव छ ।
काठमाडौंमा उस्तै महंगो
तराईमा तरकारीको मूल्य यति धेरै सस्तो भइरहँदा पनि काठमाडौंमा भने सस्तिएको छैन । सुनसरीको इनरुवमा काउली प्रतिकिलो ६ रुपैयाँमा किनबेच भइरहदा काठमाडौंका तरकारी बजारमा उपभोक्ताले प्रतिकिलो ५० रुपैयाँसम्म मूल्य तिरिरहेका छन् ।
हामीले शुक्रबार इनरुवाको गुद्री बजार घुम्दा थाहा पाएको मूल्य र काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारले गत शुक्रबारका लागि तोकेको मूल्यको तुलनात्मक टेबल हेर्नुसः
तरकारीको नाम | इनरुवाको मूल्य | कालिमाटीमा तोकिएको मूल्य | मूल्य अन्तर |
काउली | ६ रुपैयाँ प्रति केजी | ३५ रुपैयाँ प्रति केजी | २९ रुपैयाँ प्रतिकेजी |
ठूलो गोलभेडा | २० रुपैयाँ प्रति | ६५ रुपैयाँ प्रतिकेजी | ४५ रुपैयाँ प्रतिकेजी |
मटर कोसा | ३५ रुपैयाँ प्रतिकेजी | ६५ रुपैयाँ प्रतिकेजी | ३० रुपैयाँ प्रतिकेजी |
ब्रोकाउली | १५ रुपैयाँ प्रतिकेजी | ५५ रुपैयाँ प्रतिकेजी | ४० रुपैयाँ प्रतिकेजी |
हरियो खुर्सानी | ३५ रुपैयाा प्रतिकेजी | ६५ रुपैयाँ प्रतिकेजी | ३० रुपैयाँ प्रतिकेजी |
सेतो मूला | १० रुपैयाँ प्रतिकेजी | ३५ रुपैयाँ प्रतिकेजी | २५ रुपैयाँ प्रतिकेजी |