Comments Add Comment

ब्यवसायीलाई मुख्यमन्त्रीको सुझाव–शहरका घर छाड्नुस्, गाउँमा कृषि फर्म खोल्नुस्

२१ माघ, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बजार क्षेत्रका घरलाई व्यवसायिक हब बनाएर गाउँमा गएर बस्न व्यवसायीलाई सुझाव दिएका छन् । उनले बुटवल जस्तो व्यापारिक केन्द्रमा रहेका घरहरुलाई व्यवसाय गर्न भाडामा दिएर गाउँमा कृषि र्फम खोलेर बस्न सुझाव दिएका हुन् ।

‘बजारका घरलाई आवासको रुपमा हैन, सपिङ सेन्टरका रुपमा विकास गर्नुस् र बजार भन्दा आधा घण्टा टाढा गाउँमा गएर सानो भएपनि कृषि फर्म खोलेर त्यही बस्नुस्,’ मुख्यमन्त्री पोखरेलले अघि भने, ‘ब्यापारबाट कमाएको नाफाको केही हिस्साले गाउँमा कृषि र्फम खोल्नुस् र त्यतै बस्नुस्, दिउँसो शहरमा आएर ब्यापार गर्नु्स् ।’

बुटवलमा सोमबारदेखि सुरु भएको नवौं कृषि मेलाको उद्घाटन गर्दै उनले कृषिमा व्यवसायिक क्षेत्र प्रवेश गरेमात्रै यसको व्यवसायिकरण र आधुनिकरण सम्भव रहेको औंल्याउँदै उनले उद्योग वाणिज्य संघ जस्ता संस्थाहरुले व्यवसायिक कृषिको नेतृत्व गर्नुपर्नेमा जोड दिए ।

प्रदेश ५ को समृद्धिको आधार कृषि भएको दोहोर्‍याउँदै मुख्यमन्त्री पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए ।

भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कृषि उत्पादन बढाउन करार खेती, स्मार्ट कृषि गाउँ, प्रदेशका १२ वटै जिल्लामा सहकारी बजार र शीत भण्डार स्थापनाको प्रकृया सुुरु गरिसकेको बताइन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले कृषिको व्यवसायिकरण र आधुनिकरणका लागि संघले विशिष्टीकृत कृषि मेलालाई निरन्तरता दिँदै आएको बताए ।

माघ २६ गतेसम्म चल्ने मेलामा ४५ जिल्लाबाट आएका १ सय २५ वटा स्टलहरु रहेका छन् । मेलामा निःशुल्क माटो परीक्षण शिविर, उन्नत जातका बीउबिजनको बिक्री वितरण, बोटविरुवाको स्वास्थ्य परीक्षण शिविर, कृषि कर्जा तथा बीमा, स्थानीय खानाका परिकारहरु, कृषि सूचना केन्द्र आदि आकर्षणको रुपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment