Comments Add Comment

विस्तारित चक्रपथको बीच भागमा किन बिछ्याइयो टायल ?

२२ माघ, काठमाडौं । चक्रपथको विस्तारित कलंकी-सातदोबाटो-कोटेश्वर खण्ड अवैज्ञानिक र हचुवा भयो भन्ने आवाज चर्किएकै छ ।  चीनको डिजाइन र ठेक्कामा बनेको चक्रपथका कतिपय संरचनाको प्रयोगबारे अहिले पनि सरोकारवाला निकाय र विज्ञ नै अनभिज्ञ छन् ।

चक्रपथको केही भागमा मुख्य लेन र सहायक लेन छुट्याउन थारै भाग उठाएर टायल लगाइएको छ । यो के-का लागि बनाइयो होला ? यातायात इन्जिनियरहरुले पनि अहिलेसम्म यसको उत्तर पाएका छैनन् ।

यातायात इन्जिनियर शुभेच्छा भट्टलाई पनि यो टायल लगाइएको भाग के हो भन्ने जानकारी छैन । नेपाल साइकल सोसाइटीमा आवद्ध भट्ट यो भाग देखेर आफू दंग परेको बताउँछिन् ।

‘यो भाग किन बनाइयो भनेर मैले उत्तर पाएको छैन । मैले मात्रै हैन, धेरै सडक इन्जिनियरहरु पनि यो भाग के का लागि कुन प्रयोजनमा बनाइयो निश्कर्षमा पुग्नु भएको छैन,’ भट्टले भनिन्,’यो थोरै भिरालो गरी बनाइएको  छ । यसको जरुरी यो भागमा किन पर्‍यो भनेर हामलिे त बुझेका छैनौं भने सर्वसाधारणले त कसरी बुझ्लान् ।’

उनी विदेशमा पनि यस्तो प्रयोग गरिएको आफूले नदेखेको बताउँछिन् । यो मेडियन पनि नभएको यसले सवारी र यात्रु व्यवस्थापनमा पनि कुनै भूमिका खेल्न नदेखिएको विज्ञ बताउँछन् ।

पूर्वट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथु टायल पनि लगाइएकाले धेरै पैदलयात्रुले यसलाई फुटपाथ भन्ने ठानेर प्रयोग गर्ने गरेको बताउँछन् ।

‘यो फुटपाथ त हैन । तर यसलाई यात्रुले फुटपाथ नै हो भन्ने ठानेका छन्,’ उनले भने,’यो के हो भन्ने कुरा कसैले अहिलेसम्म भनेको पनि छैन ।’

शहरी सडकमा फुटपाथ बनाउँदा साइकल लेनभन्दा बाहिर पारिन्छ । रिंगरोडमा त साइकल लेन पनि छैन । फुटपाथ पनि छैन ।

मुख्य लेनमै ५० किलो मिटर प्रतिघन्टाको गतिमा गाडी कुदाउन सकिने गरी बनाइएको छ ।

मुख्य लेन र सहायक लेनको बीचमा बिछ्याइएको टायलले के प्रयोजनका लागि हो भन्नेबारे अहिलेसम्म सडक विभागका अधिकारी पनि स्पष्ट छैनन् ।

विस्तारित चक्रपथ सहरी सडक भए पनि एक्सप्रेश-वेका रुपमा डिजाइन गरेर बनाइएको छ । एक्सप्रेश वेमै पालना गर्नुपर्ने राष्ट्रिय मापदण्ड पनि पालना नगरिएको इन्जिनियर भुषण तुलाधर बताउँछन् ।

‘५० को गतिमा कुदेको गाडीले ठक्कर दिएको मान्छे मर्ने सम्भावना ६० प्रतिशत हुन्छ, तर ३०मा गति सीमित गरियो भने मर्ने सम्भावना १० प्रतिशतमा र्झछ,’ तुलाधर भन्छन्,’ रिंगारोडमा अहिले दुर्घटनाको दर बढ्दो छ ।’

इन्जिनियरहरु तत्कालै रिंगरोडलाई सुधार गर्नुपर्ने बताउँछन् । बीचमाग मेडियन राखेर मात्रै सवारी दुर्घटना घटाउन सकिने उनीहरुको भनाइ छ ।

‘बीचमा मेडियन राख्न लेन खुम्चाउँदा फरक पर्दैन,’ तुलाधर भनछन्,’मेडियन राख्ने भाग बीचमा निकाल्दा पनि लेनमा सवारी चल्न सक्ने अवस्था पर्याप्त हुन्छ ।’  हाल रिंगरोडका प्रत्येक लेन ३.५ मिटरका छन् । विदेशमा २.८ मिटरसम्मका लेन हुन्छन् ।

नेपालमा २.५ मिटरभन्दा बढी फराकिलो गाडी छैनन् । शहरी सडकमा जति साँघुरो लेन हुन्छ, त्यति नै दुर्घटना कम हुने विज्ञहरुको भनाइ छ ।

उनीहरुले सडक विभागले तत्कालै रिंगरोडलाई सुरक्षित गर्ने गरी काम सुरु गर्नुपर्ने माग गरेका छन् । विस्तारित चक्रपथमा भएका त्रुटिलाई नसच्याएर निकै गम्भीर आवस्था आउने सडक इन्जिनियरहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment