Comments Add Comment

विपद् ब्यवस्थापनका लागि स्वयंसेवक दस्ता तयार पार्दै कामपा

२५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले विपद् उद्धार तथा अग्नी नियन्त्रक स्वयंसेवक टोली बनाउने भएको छ । घटनास्थलमा पहिलो प्रतिकार्य गर्न कामपाले एक हजार भन्दा बढी स्वयंसेवकहरुको टोली बनाउन लागेको हो ।

महानगरपालिकाका विपद् ब्यवस्थापन समितिका संयोजक एवं कामपा-२५ का वडा अध्यक्ष नीलकाजी शाक्यका अनुसार हरेक वडामा ४० जना स्वयंसेवक छनोट गरी विपद् ब्यवस्थापन र उद्धारको आधारभूत तालिम दिने तयारी छ ।

हालसम्म वडा ६, ७ र २१ बाट स्वयंसेवक टोली गठन भई नामावली आइसकेको उनले जानकारी दिए । ‘हामी महानगरभित्रको विपदमा तत्काल खटिने सक्ने १ हजार २८० जना दक्ष उद्धारकर्मी तयार गर्ने तयारीमा लागेका छौं, यी जनशक्तिले विपद पूर्व तयारी तथा प्रतिकार्यको काम गर्नेछन्’, उनले भने ।

छनोट भएका स्वयंसेवकलाई विपदका बेला गरिने उद्धार कार्य सम्बन्धी ७ दिने आभारभूत तालिम दिइनेछ । स्वयंसेवकलाई ब्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएर स्थानीय स्तरमा हुने घटनाको ब्यवस्थापन गर्न पहिलो प्रतिकार्य दस्ता विकास गराउन लागिएको संयोजक शाक्य बताउँछन् ।

कामपाले विपद् पूर्व तयारी तथा तत्काल राहत उद्धारको लागि ‘महानगर आपतकालीन कार्य सञ्चालन केन्द्र’ समेत स्थापना गरेको छ ।

राष्ट्रिय सभागृहमा रहेको यस केन्द्रले अहिले वडा स्तरीय अग्नि नियन्त्रण सम्बन्धी सैद्धान्तिक तथा ब्यवहारिक तालिमसँगै प्राथमिक उपचार सम्बन्ध्ाी एक दिने अनुशिक्षण तालिम दिइरहेको छ ।

वडा विपद ब्यवस्थापन तथा नागरिक सुरक्षा समितिका पदाधिकारीहरुलाई तालिममा सहभागी गराइएको छ । हाल सम्ममा २० वटा वडाका पदाधिकारीलाई तालिम दिइएको छ । यो तालिम सकिएपछि ४ सय ४८ जना अर्ध-दक्ष तालिम प्राप्त जनशक्ति तयार हुने केन्द्रका प्रमुख किशोरकुमार भट्टराई बताउँछन् ।

उनका अनुसार वडा ५, ६, ७, ८, ९, १२, १५, १६, १८, १९, २०, २१, २३, २४, २६, २७, २८, २९, ३० र ३२ का लागि तालिम सकिएको छ । त्यस्तै वडा ६, ७ र २१ मा बिपद उद्धार तथा अग्नि नियन्त्रक स्वयसेवक गठन भइसकेको छ ।

कामपाका सबै वडामा १४ सदस्यीय विपद ब्यबस्थापन तथा नागरिक सुरक्षा समिति गठन भएको छ । यस समितिमा अनिवार्य ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने  ब्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment