Comments Add Comment

रियल मड्रिडका नयाँ स्टार – एक भिन्सियसमा दुई रोनाल्डो !

बेललाई छायामा पारेर रोनाल्डो बिर्साउँदै

काठमाडौं । क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छाडेर इटाली लागेपछि ग्यारथ बेलका लागि आफूलाई प्रमाणित गर्दै पुनः उदाउने अवसर हुने अनुमान गरिएको थियो । तर, वेल होइन, १८ वर्षका ब्राजिलियन भिन्सियस जुनियर बर्नाबेउको केन्द्रमा छन् ।

रियल मड्रिड प्रशिक्षक सान्टियागो सोलारीले मात्रै होइन, दर्शकले पनि भिन्सियसमाथिको विश्वास बढाइरहेका छन् । मड्रिडको खेल भइरहेका बेला स्टेडियमदेखि सामाजिक सञ्जालमा उनै भिन्सियस छाउँछन् ।

शनिबार राति नौ बजे एथ्लेटिको मड्रिडविरुद्ध हुने ला लिगा खेलमा पनि भिन्सियस महत्वपूर्ण रहने छन् । एथ्लेटिको मड्रिड २२ खेलमा ४४ अंकका साथ दोस्रो स्थानमा छ भने तेस्रोमा रहेको मड्रिडको ४२ अंक छ । एथ्लेटिकोलाई हराउन सके रियल मड्रिडको खराब ला लिगाको दाग मेटिने छ ।

रियल मड्रिडले २०१७ को मे महिनामा १६ वर्षका भिन्सियसलाई ब्राजिलियन क्लब फ्लामेन्गोबाट किन्ने घोषणा गरिसकेको थियो । जतिबेला उनले सिनियर टिमबाट १६ मिनेट मात्रै आफ्नो खेल देखाएका थिए ।

नभन्दै उनी २०१८ जुलाईमा मड्रिड ल्याइए । प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गर्नुअघिसम्म भिन्सियसले जम्मा १२ मिनेट आˆनो खेल देखाएका थिए । लोपेटेगीले उनलाई बी टिममा नै खेलाइरहँदा र मड्रिड टिमको अवस्था नाजुक हुँदा धेरैले भिन्सियसलाई सम्झिएका थिए ।

लोपेटेगी बर्खास्त भएर सोलारीले भिन्सियसलाई नियमित खेलाइरहेका छन् । मड्रिडको पछिल्लो पाँच खेललाई हेर्दा भिन्सियसको प्रभाव एउटा स्टार खेलाडीकै रुपमा बढ्दै गएको बुझ्न सकिन्छ ।

यस्तो छ विगत

भिन्सियस जोस पाइजो डि ओलिभिरा जुनियर अर्थात भिन्सियस जुनियरले ब्राजिलका अरु स्टार खेलाडी जस्तै फुटसलबाट आˆनो खेल यात्रा सुरु गरेका हुन् । उनले ब्राजिलियन क्लब फ्लामेन्गोको युथ टिमबाट फुटबल सुरु गरेका थिए । पहिलो पटक क्लबमा छनोट हुन नसकेका उनी एक वर्षपछि पुनः छनोट भएका थिए ।

ब्राजिलको १५ वर्षमुनि र १७ वर्षमुनिको टिमबाट खेलेर उनले फ्लामेन्गोमा आफू हुनुपर्ने कारण पनि प्रमाणित गरेका थिए । त्यसपछि नै उनी ˆलामेन्गोमा प्रमुख खेलाडीका रुपमा रहन थाले ।

फ्लामेन्गोमा ३० मिलियन डलर बाइआउट क्लजमा रहेका भिन्सियस पहिलो खेलपछि नै ४५ मिलियन बाइआउट क्लजमा पुगेका थिए । त्यसले उनको खेल शैली र आवश्यकता थप प्रमाणित गरेको थियो । त्यसपछि नै उनलाई स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाले किन्न चाहेका खबर फैलिएका थिए ।

छक्क पार्ने कला

रियल मड्रिडमा भिन्सियसको खेललाई उनको राष्ट्रिय टिमको बाटोको रुपमा पनि हेरिएको छ । ब्राजिलको २० वर्षमुनिको टोलीमा पनि स्थान नबनाएका उनले मड्रिडमा आˆनो खेल देखाउँदै जाँदा प्रभाव बढ्दै गएको छ ।

लोपेटेगी रहँदा नै नयाँ सिजन सुरु हुनुअघि भएको मैत्रीपूर्ण खेलमा मड्रिडबाट अवसर पाएका भिन्सियसले आˆनो कलाले त्यतिबेलै धेरैलाई चकित पारेका थिए । अहिले अवसर पाउँदै जाँदा उनको खेल थप निखारिँदै गएको पनि छ । उनको छिटो छिटो बल छुने र बढाउने साथै क्रस पास फाल्ने शैली अदभुत नै देखिन्छ । उनी फुटबलबाटै दर्शकलाई रोमाञ्चित बनाउन सक्छन् ।

भिन्सियस आफूअघि बलियो डिफेन्स लाइन रहँदा पनि बल छक्काएर अघि बढ्न सक्षम हुन्छन् । पास आएको बल लिने उनको शैली पनि अरु खेलाडीको भन्दा भिन्न देखिन्छ । विपक्षीतर्फ नै फर्किएर पनि उनी पास बल रिसिभ गर्न सक्छन् । त्यसमा उनको शैली एलेक्स सान्चेजसँग कताकति मिलेको जस्तो लाग्छ ।

वन भर्सेस वनको अवस्थामा पनि उनी आˆनो फरक फरक कलाले बल प्रहार गर्न सक्छन् । यसैले उनले के गर्छन् भन्ने अनुमान लगाउन विपक्षीका लागि सहज हुँदैन । उनी अट्याकिङका बेला एकै शैली पनि अपनाउँदैनन् ।

अवसरसँगै चुनौती

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस गएपछि रियल मड्रिडमा झण्डै दशकपछि लेफ्ट साइड अट्याकको लागि ठाउँ खुलेको हो । भिन्सियसका लागि पनि त्यही स्थान विशेष उपयोगी देखिन्छ ।

प्रशिक्षक सोलारीले पनि भिन्सियसलाई सहज लाग्ने ४-३-३ कै शैली अपनाइरहेका छन् । यसैले मड्रिडको यही शैलीमा लेफ्टविङमा भिन्सियस बराबर अर्को खेलाडी देखिएका छैनन् । त्यसका लागि भिन्सियसले ग्यारथ बेल र करिम बेन्जेमासँग नै प्रतिस्पर्धा गर्दा पनि कमजोर देखिँदैनन् । मड्रिडमा उनका लागि अवसर जस्तै अग्लो चुनौती पनि छ । अझ आउँदो समयले नै उनी आˆनो खेलमा कसरी बढ्छन् र नयाँ स्टारका रुपमा देखा पर्छन् भन्ने देखाउँछ ।

एक भिन्सियसमा दुई रोनाल्डो !

भिन्सियसमा क्रिष्टियानो रोनाल्डोको मात्रै होइन, ब्राजिलियन रोनाल्डोको कला बिर्साउने शैली रहेको पनि विश्लेषण हुन थालेका छन् ।

स्पेनिस फुटबल लेखक तथा विश्लेषक जिलियम बालागु पनि भिन्सियसमा दुवै रोनाल्डोको शैली विकशित भइरहेको बताउँछन् । ‘मड्रिडमा भिन्सियसले अहिले उर्जा, तीव्रता र बहादुरी ल्याइरहेका छन्, जसको अभाव अभाव रोनाल्डो गएपछि देखिन्थ्यो’ उनले बीबीसीसँग भनेका छन्, ‘मेरो आँखामा भिन्सियसमा दुवै रोनाल्डोको गुण छ ।’

‘जब उनी बल लिएर दौडन्छन् तब शक्ति, गति र नियन्त्रण यस्तो देखिन्छ जस्तो ब्राजिलियन रोनाल्डोमा देखिन्थ्यो । उनी दुई रोनाल्डो जस्तै उत्कृष्ट होलान् या नहोलान् तर उनको मानसिकता सकारात्मक नै हुनुपर्छ, कडा मेहनत गरेर प्रशिक्षकको समेत विश्वास बढाउनु पर्छ ।’

बेलमाथि थियो आश

भिन्सियसले ला लिगाको ११ खेलमा दुई गोल गरेका छन् । यस्तै कोपा डेलरेमा पनि दुई गोल गरेका उनले करिम बेन्जेमासँगको तालमेल राम्रो बनाइरहेका छन् । जारी सिजन बेन्जेमाले १० गोल गरिसकेका छन् ।

मड्रिडका अर्का स्ट्राइकर करिम बेन्जेमाको फुटबल करिअर आˆनो गोलमा भन्दा पनि गोलको अवसर सिर्जना गर्ने र अर्का स्ट्राइकरमा भर पर्ने गरी बढीरहँदा भिन्सियससँग उनको तालमेल मिलिरहेको छ ।

‘बेन्जेमासँग भिन्सियसको तालमेल बेन्जेमा र बेलको भन्दा राम्रो छ’ इटालियन फुटबल विज्ञ मिना रजोकी भन्छन्, ‘बेन्जेमा र भिन्सियस मिलेर रियल मड्रिडमा राम्रो काम गरिरहेका छन् । बेन्जेमाले एक कदम बढेर भिन्सियसलाई मद्धत पनि गरिरहेका छन् ।’

ला लिगाको १७ खेलमा पाँच गोल गरेका ग्यारथ बेलले भन्दा प्रशिक्षक सोलारीमाथिको प्रभाव पनि भिन्सियसले जितिरहेका छन् । यसैले नयाँ वर्षको पहिलो एलक्लासिकोमा पनि बेललाई बेन्चमा राखेर भिन्सियसलाई सुरुवातमै खेलाइएको थियो ।

एम्बाप्पे र मार्सियल जस्तै

केलियन एम्बाप्पेले १६ वर्षकै उमेरमा मोनाकोमा डेब्यू गरेका थिए । यस्तै एन्थोनी मार्सियल युरोपा लिगमा लायोनबाट खेल्दा १७ वर्ष पुगेका मात्र थिए ।

फ्रेन्च फुटबल विज्ञ जुलियन लोरेन्स भिन्सियसले फुटबलमा जे गरिरहेका छन्, कुनै समय त्यस्तै उदय एमबाप्पे र मार्सियलमा पनि देखिएको बताउँछन् । ‘एमबाप्पे, मार्सियल र भिन्सियस तीनैजनाले प्रमुख टिममा करिअर अलि विस्तारै सुरु भएको थियो’ उनले भने ।

उनीहरुले १९ वर्ष नपुग्दा लिगको प्रमुख टिममा गरेको प्रदर्शन हेर्दा चर्चाको विषय पनि उस्तै छ ।

एम्बाप्पेले १९ वर्षअघि प्रमुख टिमबाट खेलेको ५४ खेलमा २३ गोल र १६ असिस्ट गरेका थिए । यस्तै मार्सियलले २७ खेलमा ३ गोल र एक असिस्ट गरेका थिए । जहाँ भिन्सियसले ११ खेलमा दुई गोल गरेका छन् । ‘रियल मड्रिड आउनुअघि उनको नाम धेरैले सुनेका थिएनन्, उनले मड्रिडको जीवनशैली अपनाउन पनि केही समय त लाग्यो नै’ फुटबल विज्ञ लोरेन्स भन्छन्, ‘भिन्सियस एल क्लासिकोमा पनि प्रमुख रोजाइमा छन् । उनको खेलले गर्दा बेलनै दुई नम्बर रोजाइमा पुग्नु सानो कुरा छैन ।’

 बीबीसी, मार्का र गोलको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment