Comments Add Comment

कोटेश्वरको जाम हटाउन जापानी विज्ञ टोलीले थाल्यो अध्ययन

५ फागुन, काठमाडौं । काठमाडौंको कोटेश्वरमा हुने ट्राफिक जामको समस्या हटाउन अध्ययन थालिएको छ ।  कोटेश्वर क्षेत्रको जामको समस्या न्युनिकरण गर्न सुरुङमार्गसहित अन्य विकल्पका बारेमा अध्ययन थालिएको हो ।

७ जना जापानी विज्ञहरुको टोलीले कोटेश्वर क्षेत्रमा सम्भावित विकल्पहरुबारे अध्ययन गरिरहेका सडक विभागको वैदेशिक समन्वय महाशाखाका प्रमुख केशव शर्माले जानकारी दिए ।
उनका अनुसार सडक विभागको पहलमा जापानी नियोग जाइकाको अनुदान सहयोगमा अध्ययन भइरहेको हो ।  विज्ञहरुको टोलीले एक महिना लगाएर त्यसक्षेत्रमा अपनाउन सकिने सम्भावित विकल्प र रायसहितको प्रतिवेदन सडक विभागलाई दिनेछ ।

प्रारम्भिक अध्ययनबाट आएका विभिन्न विकल्पमाथि छलफल गरी उपयुक्त निर्णय गरिने महाशाखा प्रमुख शर्माले अनलाइनखबरसँग बताए ।  ‘तिनकुने-कोटेश्वर-जडिबुटी सडकखण्डमा अण्डरपास, फ्लाइओभर वा अन्य के उपयुक्त हुन्छ त्यो अध्ययनबाट सुझाव आउँछ, त्यसपछि हामी डीपीआर निर्माणमा लाग्छौं’, उनले भने ।

अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्ष ०७५/७६ को बजेटमा कोटेश्वरमा अण्डरपास निर्माण गर्ने उल्लेख गरेका थिए ।  अघिल्लो बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरेर अण्डरपास बनाइने उल्लेख थियो । तर, सडक विभागले अन्य विकल्प खुट्याउन विज्ञहरुमार्फत अध्ययन अघि बढाएको हो ।

कोटेश्वरबाट पूर्वी क्षेत्रका बासिन्दा काठमाडौं छिर्दा घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ ।  कार्यालय समयमा पर्यो भने त २-३ घन्टै जाममा बित्छ । सडक जति नै चौडा भए पनि जाम घटेको छैन, बढेको बढ्यै छ ।

केही समयअघिसम्म सबैभन्दा बढी जामको सूचीमा कलंकी चोक अग्रस्थानमा थियो । अण्डरपास बनेसँगै कलंकी चोकमा अहिले जाममा बस्नुपर्ने बाध्यता घटेको छ । तर, कोटेश्वरमा भने तीनतिरको सडक चौडा भइसक्दा पनि जाम झन् बढेको छ ।

काठमाडौंबाट बाहिरिने सवारी साधन कोटेश्वर चोकमा पुगेर यात्रु ओराल्ने र पर्खेर बस्ने गर्छन् । त्यस कारण पनि कोटेश्वर चोक अघोषित बसपार्क बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment