Comments Add Comment

समान सुविधा नपाए आन्दोलन गर्छौं : पूर्वब्रिटिश गोर्खा सैनिक

५ फागुन, काठमाडौं । भुतपूर्व ब्रिटिस गोरखा सैनिकले समान कामको लागि समान ज्याला पाउनुपर्ने भन्दै आफूहरुलाई पनि ब्रिटिशसरह नै सेवा सुविधा दिनुपर्ने माग गरेका छन् ।

आइतबार रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा भूतपूर्व ब्रिटिश गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले आफूहरुले प्रतिशतको आधारमा नभई ‘समान कामको समान दाम’ पाउनुपर्ने माग गरेको स्पष्ट पारे ।

उनले भने,‘ब्रिटिश सरकारले आफ्ना सैनिकसरह हामीलाई पनि सेवा सुविधा दिन्छु भनेको छ, तर यतिका वर्ष हुँदासमेत बोलेको कुरा कार्यान्वयन गरेन ।’ आफूहरुको समस्या समाधान गर्न नेपाल सरकार र ब्रिटिश सरकारले पनि ११ महिना बितिसक्दापनि समस्याको समाधान नगरेको उनले गुनासो पोखे ।

कार्यक्रममा पूर्व महान्यायधिवक्ता प्रा.डा.युवराज संग्रौलाले करिब २५ वर्षदेखि माग राख्दै आएका भूपू ब्रिटिश गोरखा सैनिकको माग पूरा गर्न सरकारले पहल गर्नुपर्ने बताए ।

गेसोको उपाध्यक्ष मणि किराँत बान्तवा राईले आफूरुलाई ब्रिटिश सरकारले मानवताको नभई दानवताको भारी बोकाएको गुनासो पोखे । उनले भने,‘मानवताको वकालत गर्ने राष्ट्रले स्वतन्त्र नेपालमाथि विभेद गर्यो । त्यही भएर हामीले संघर्षका कार्यक्रमहरु अघि सारेका छौं ।’

सत्याग्रह संघर्ष समितिका प्रवक्ता क्याप्टेन हिमाल राईले ब्रिटिश सरकार, नेपाल सरकार र गोरखा सैनिकका प्रतिनिधिबीच भएको त्रिपक्षीय वार्ता पनि फलदायी नभएको गुनासो पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment