Comments Add Comment

कुलेखानी–३ को निर्माण अझै सुस्त

चिनियाँ कम्पनीको बेवास्ता, मन्त्रीले पनि सकेनन्

६ फागुन, काठमाडौं । पटक–पटक भाका सारिएको मकवानपुरमा निर्माणाधीन १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अझै अनिश्चित छ । पुसमा परीक्षण उत्पादन गर्ने भनिएको आयोजनाको काम अझै सकिएको छैन ।

अन्तिम चरणमा पुग्दा पनि कामको गति सुस्त भएपछि आयोजनाले परीक्षण उत्पादनको नयाँ मिति तय गर्नसमेत सकेको छैन । नेपाल विद्युत प्राधिकरणले बनाइरहेको यो आयोजना बनाउन लक्ष्यभन्दा ७ वर्ष ढिला भइसकेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अबको केही महिनाभित्रै कुलेखानी तेस्रोलाई सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउँछन् ।

चिनियाँ कम्पनीको बेवास्ता

चिनियाँ ठेकेदार कम्पनीको बेवास्ताको शिकार बनेको यो आयोजनामा धेरै वर्ष सरकारी अधिकारीहरु मूकदर्शक बने, जसले गर्दा निर्माणको गति सुस्त भयो ।

चिनियाँ कम्पनी चे जियाङ जिल्लुनले अहिले इलेक्ट्रो मेकानिकल अन्तरगतको काम गरिरहेको छ । कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएर आएपछि आयोजनालाई गति दिन प्रयत्न गरे पनि उनी सफल भएका छैनन् ।

चिनियाँ ठेकेदारले टेर्दै नटरेरेपछि चिनियाँ दूतावासमार्फत कुटनीतिकरुपमै पहल गरेर आयोजनामा जिम्मेवार भएर काम गर्न ठेकेदारमाथि दबाव सिर्जना गरियो ।

मन्त्रीले पनि सकेनन्

पछिल्लो समयमा ऊर्जामन्त्री वर्षमान पुन आफैंले पनि कुलेखानीको चिनियाँ ठेकेदारलाई काम छिटो गर्न दबाव दिन विभिन्न स्तरमा पहल गरेका थिए । तर, कामको गति अझै सुस्त हुँदा नयाँ वर्षमा पनि आयोजनाले परीक्षण उत्पादन गर्ने/नगर्ने अझैसम्म टुंगो लाग्न सकेको छैन ।

आयोजनाका प्रमुख सुवास मिश्र सकेसम्म वैशाखभित्र काम सकिने गरी आयोजनामा इलेक्ट्रोमेकानिलक जडानको काम भइरहेको बताउँछन् । काममा ढिलाइ भएको स्वीकार्दै उनले भाका सार्दा–सार्दा हैरान भएको सुनाए ।

सन् २०११ मै उत्पादन थाल्नुपर्ने आयोजना निर्माणमा चिनियाँ कम्पनीको कछुवा गति हाल पनि जारी छ ।

यो कामको जिम्मा चिनियाँ कम्पनीले पाए पनि काम भने स्वदेशकै हुलास इञ्जिनियरिङ एन्ड कन्स्ट्रक्सनले गरिरहेको छ । चे जियाङ जिल्लुनसँग आपसी मेलमिलापमा सहायक ठेकेदारका रुपमा उक्त आयोजनामा हुलासको ‘इन्ट्री’ भएको हो । तर, सहायक ठेकेदार नियुक्तिका लागि प्राधिकरणसँग अनुमति लिनुपर्ने प्रावधान मिचिएको छ ।

आयोजनास्थलमा चिनियाँ कामदार राखेर कामै नगर्ने प्रवृत्तिका कारण आयोजना धेरै वर्ष थलियो । अहिले ऊर्जामन्त्रीसहित प्राधिकरणको नेतृत्व र आयोजना प्रमुखको संयुक्त दबावका कारण कुलेखानीको अड्किएर बसेको काम सम्पन्न हुने चरणमा पुगेको छ । तर, परिणाम आउन अझै केही महिना लाग्ने देखिएको छ ।

यो आयोजनाको सिभिलतर्फ ९९ प्रतिशत काम सकिएको छ । आयोजनाको शुरुको लागत अढाइ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । निर्माण अवधि लम्बिँदा साढे चार अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ ।

कुलेखानी बाँधबाट ६० मेगावाटको कुलेखानी प्रथम र दोस्रो सञ्चालनमा छन् । पहिलो आयोजनाबाट निस्केको पानी दोस्रोमा पठाएर ३२ मेगाबाट उत्पादन भइरहेको छ । दोस्रोबाट निस्केको पानी तेस्रोमा पु‍र्‍याएर १४ मेगावाट उत्पादन गरिनेछ ।

आयोजनाको ठेक्का लागाउँदै लापरवाही गरिएको थियो । आयोजनाका अधिकारीहरु राम्रो ठेकेदार नपरेको र स्थानीयले पटक–पटक अवरोध गरेका कारण सानो आयोजनामा ठूलो मूल्य चुकाउनुपरेको दाबी गर्छन् ।

प्राधिकरणको तत्कालीन व्यवस्थापन कमजोर भएकाले पनि सुरुबाटै आयोजना समस्या फसेको उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment