Comments Add Comment

गाउँ छिरेको हरिण वन कार्यालयको जिम्मामा

६ फागुन, वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा बस्तीमा फेला परेको हरिण डिभिजन वन कार्यालय पर्साको जिम्मा लगाइएको छ ।

बिन्दवासिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजित साहले वन कार्यालयका फरेस्टर सुनिलकुमार पाण्डेको जिम्मा लगाएका हुन् ।

हरिणलाई पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाइने डिभिजन वन कार्यालय पर्साका फरेष्टर पाण्डेले जानकारी दिए । ‘अहिले हामीले जिम्मा लिएका छौं, अब यसलाई लगेर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाउने छौं ।’ उनले भने ‘निकुञ्जले यसलाई जंगलमा लगेर छोड्न सक्छ ।’

बिन्दवासिनी २ बहुअर्वाभाठा चोक नजिकबाट सोमबार बिहान स्थानीयले एउटा हरिण नियन्त्रणमा लिएका थिए । जंगली जनावरहरु आहारको खोजीमा वा समूहसँग अलग्गिएर बाटो भुलेर बस्तीमा पस्ने गरेका छन्, कतिपय स्थानीयले शिकार गरेर मासुसमेत खाइदिने गरेका छन् ।

बहुअर्वाभाठा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बिजय साह र सशस्त्र प्रहरीका सई रामएकवाल यादव नेतृत्वको टोलीले हरिणलाई नियन्त्रणमा लिएर राखेको थियो ।

सशस्त्र प्रहरी निरीक्षक मदन धानुक, नेपाल प्रहरी लगायत अन्य सरोकारवालाको रोहबरमा हरिण वन कार्यालयको जिम्मा लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment