Comments Add Comment

अख्तियार अगाडि प्रदर्शन गर्ने विवेकशील साझाका कार्यकर्ता पक्राउ

रवीन्द्र मिश्रको प्रश्न–सांसदलेजस्तै बलजफ्ती गरोस् भन्ने चाहनु भएको हो ?

८ फागुन, काठमाडौं । प्रहरीले विवेकशील साझा पार्टीका कार्यकर्ताहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, नक्साल अगाडिबाट नियन्त्रणमा लिएको छ ।

बढ्दो भ्रष्टाचार तथा बेथितिको छानबिन माग गर्दै बुधबार बिहान विवेकशील साझाले अख्तियार अगाडि धर्ना कार्यक्रम राखेको थियो ।

‘ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका नारा लेखिएका प्लेकार्डसहित विवेकशीलका कार्यकर्ताले धर्ना दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

विवेकशील साझाले ३० भन्दा बढी आफ्ना नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

पार्टी संयोजक रवीन्द्र मिश्रका अनुसार, पक्राउ पर्नेमा पार्टीकी प्रदेश ३ संयोजक समीक्षा बास्कोटासहित केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठलगायत छन् ।

शान्तपूर्ण प्रदर्शन गर्नेलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रको उपहास गरेको भन्दै मिश्रले तत्काल नेता–कार्यकर्तालाई रिहा गर्न माग गरेका छन् ।

‘भ्रष्टाचार नियन्त्रणका लागि एउटा सशक्त निकाय हुनसक्ने अख्तियारको अगाडि अख्तियारलाई नै सुझाव र सल्लाह दिँदै शान्तपुर्ण प्रदर्शन गर्दा समेत पक्डिएर लाने भनेको कस्तो लोकतन्त्रको स्वरूप हो ?’ मिश्रले फेसबुकमा स्ट्याटस लेख्दै प्रश्न गरेका छन् ।

मिश्रले सत्ताधारीहरुले हिंसा र भ्रष्टाचार मात्रै बुझ्ने गरेको आरोप लगाउँदै कडा संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् ।

‘सरकारका पदाधिकारीहरूले हामीले पनि उहाँहरूका सांसदहरूले संसदमा गरेजस्तै बलजफ्ती गरोस् भन्ने चाहनुभएको हो ?’, मिश्रले चेतावनी दिँदै भनेका छन्, ‘ पार्टीको भष्टाचार विरोधी अभियानको यो शुरूवात मात्र हो। विस्तार देख्दै जानुहुनेछ। हामी के गर्छौं ।’

प्रहरीले भने अख्तियार अगाडि धर्ना तथा नारावाजी गरेर अवरोध गरेपछि नियन्त्रणमा लिएको जनाएको छ ।  तर, विवेकशीलले आफूहरुले कुनै अवरोध नगर्दा नगर्दै पनि शान्तिपूर्ण प्रदर्शनबाट वञ्चित गरेको आरोप लगाएको छ ।

पक्राउ परेकालाई प्रहरीले महेन्द्र पुलिस क्लबमा राखेको छ ।

   तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment