Comments Add Comment

दीपेशको ‘दूत’ बन्दै राजनारायणका लागि बार्गेनिङ गर्ने माओवादी को हुन् ? (भिडियोसहित)

९ फागुन, काठमाडौं । लाखौं रुपैयाँ घुस लिएको खुलासा भएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आफ्नो गोप्य भिडियो फुत्काउन तत्कालीन माओवादीलाई प्रयोग गरेको रहस्य खुलेको छ ।

राजनारायण पाठक र घुस खुवाउने समूहबीच बार्गेनिङ चलेको गोप्य भिडियो बिचौलियासँग रहेको पत्तो पाएपछि राजनारायण पाठक ठूलो तनावमा परेका थिए । त्यसपछि पाठकले उक्त भिडियो जफत गर्नका लागि प्रहरीका साथै माओवादीलाई परिचालन गरेको अनलाइनखबरले प्राप्त भिडियो सम्वादबाट खुलेको छ ।

राजनारायण पाठकलाई जोगाउन माओवादीले खेलेको भूमिकासँगै राजनारायण पाठक र बिचौलियाको जारी बार्गेनिङमा नयाँ ट्वीस्ट आएको छ । अनलाइनखबरलाई प्राप्त भिडियो फुटेजमा राजनारायण पाठकको सम्बन्ध माओवादीका ‘बूढा’ सँग राम्रो रहेको बताइएको छ । भिडियोमा देखिने माओवादी कार्यकर्ता को हुन् र उनले भनेका ‘दीपेश’ र ‘बूढा’ को हुन् भन्ने आगामी अनुसन्धानमा खुल्दै जाला ।

आफूलाई माओवादी कार्यकर्ता बताउने दुई युवाले राजनारायणको भिडियो खिच्ने व्यक्तिलाई भेटेर उक्त प्रमाणबारे खोजीनीति गरेको भिडियोमा स्पष्ट देख्न सकिन्छ ।

भिडियो खिच्ने व्यक्तिले चाहिँ ती माओवादी कार्यकर्तालाई कडा जवाफ दिएर, कालो चिया खुवाएर पठाइदिएका छन् । बिचौलिया बनेर भिडियो खिच्ने व्यक्तिलाई माओवादी कार्यकर्ताले हामी एउटै पार्टीको भन्दै दाइ सम्बोधन गरेका छन् ।

तर, बिचौलिया बनेर भिडियो खिच्ने व्यक्तिले मओवादी कार्यकर्तालाई थर्काउँदै भनेका छन्- ‘तपाईहरु यत्रो च्यानल घुमाएर, यो पार्टीगत रुपमा गएर … पार्टीले के यो कुरालाई एक्स्क्युज गर्छ ? माओवादी पार्टीले ब्युरोक्रेसीको गलत मान्छेलाई पाल्छु भनेर त राखेको छैन !’

जो व्यक्तिले राजनारायण पाठकको भिडियो खिचेका थिए, उनैको कार्यालयमा राजनारायणका दूत बनेर छिरेका माओवादी कार्यकर्ताले अप्ठ्यारो मान्दै सुरुमा राजनारायणबारे कुरा झिक्छन्- ‘हामी त एउटै पार्टीको मान्छे’ भन्दै उनले ‘के रहेछ भनेर बुझ्न आएको….’

माओवादी र राजनारायणको एकसाथ नाम लिँदै वार्ता गर्न पुगेका युवकले भन्छन्, राजनारायण पाठक (हाँस्दै) हाम्रो बुढासँग पनि चिनजान, त्यसो हुँदा दाइको नाम लियो । के रहेछ त ?’ भनेर आएको ।

सुनौं, बिचौलिया बनेर राजनारायणको भिडियो खिच्ने व्यक्ति र सो प्रमाण माग्न पुगेका माओवादी कार्यकर्तावीच भएको सम्वाद-

यो पनि पढ्नुहोस राजनारायणको भिडियो फुत्काउन प्रयोग भएका व्यक्ति तत्कालीन माओवादीका विद्यार्थी नेता !

माओवादी- हामी त एउटै पार्टीको मान्छे, दीपेशले पनि यही केसका लागि फोन गरेको हो क्या ।

बिचौलियाः के कुरा हो ? खुलस्त भनौं त ।

माओवादीः खास चिनजान थिएन । अब -हाँस्दै ) एउटै पार्टीको मान्छे, दिपेशले पनि यही केसका लागि भन्न खोजेको हो । दिपेशले फोन गरेको पनि यही हो । तर, उहाँ बुटवल जानुभयो क्या । बाहिर जानुभो ।… त्यहाँ अख्तियारमा एकजना छन् पाठक ।

बिचौलियाः को पाठक ?

माओवादीः राजनारायण पाठक – खिस्स हाँस्दै) हाम्रो बुढासँग पनि चिनजान । त्यसो हुँदाखेरि दाइको नाम लियो । के रहेछ त ? हाम्रै पार्टीको मान्छे भनेर ….। यसो चिनजान थियो, अनि यसो के छ भनेर आएका हौं ।

बिचौलियाः हैन, कुरा क्लियर भएन है । राजनारायण पाठकले मेरोबारे सोध्यो । के विषयमा ?

माओवादीः तपाईकै नाम लिन्थ्यो । (अक्मकाउँदै) एकपटक भेट पनि भएको थियो रे तपाईको ।

बिचौलियाः म त अख्तियारका सबैलाई चिन्छु । दुईसय जना मान्छेलाई चिन्छु । एकजना मान्छेसँग यस्तो भएको रहेछ भनेर त क्लियर भएन नि । अब राजनारायण पाठकका बारेमा कुरा आयो, राजनारायण पाठकजीले मलाई कहाँ भेट्नुभएको, कुन विषयमा कुरा भएको हो, के सब्जेक्ट थियो, त्यो सब्जेक्ट क्लियर भइदियो भने …..कुरा क्लियर हुन्थ्यो । के विषयमा कुरा भएको रे ? राजनारायण पाठक र मेरोवीचमा के कुरा भयो रे ?

माओवादी: खासचाहिँ एउटा इञ्जिनिरयरिङ कलेजको विषयमा कुराकानी भएको थियो रे । …कलेजको विषयमा कुरा गर्‍या रहेछन् । अब दाइसँग चाहिँ रहेछ रे । त्योचाहिँ कुरोकानी (औंलाले पैसाको संकेत गर्दै) रहेछन् रे ।

बिचौलिया: घुस खाएको पैसा ? ए….

माओवादी: ढोका खुलेको आवाज आएपछि केहीबेर रोकिँदै) अनि त्यो चाहिँ दाइसँग रैछ । मलाई अप्ठ्यारो पार्नुभयो भन्ने कुरा गर्थे क्या…

बिचौलिया: म भाइहरुलाई क्लियर कुरा के गर्छु भने मसँग, म कस्तोखालको मान्छे भनेदेखि कसैको गल्तीको प्रमाण मसँग छ भनेर कसैले मलाई भेरीफाई गर्नुपर्‍यो क्या । छ कि छैन भन्ने कुरा । हैन ? शंकाको रुपमा यस्तो कुरा छ भनेर मेरोपछि लाग्नु भनेको समय वेस्ट हो । छ भने त मसँग आउनुपर्‍यो नि । यो कहाँबाट आयो, मैले गल्ती गरेको थिएँ, त्यो गल्ती आएछ, मिस्टेक भएछ, एउटा सानो डिल भएको थियो….. । अहिले भनौं न सप्पै ब्यूरोक्र्याट्सहरु डीलमै त चल्छन् नि । कल्लेचाहिँ सरकारको जागिर खाएर मात्रै पेट पालेको छ ? सबले भ्रष्टाचार गरेकै छ । उल्ले गल्ती स्वीकारेर हैन, मैले गल्ती गरेंछु तपाईसँग छ रे, हो कि हैन भनेर उल्ले आएर सोधे त सकिइहाल्छ नि । तपाईहरु यत्रो च्यानल घुमाएर, यो पार्टीगत रुपमा गएर … पार्टीले के यो कुरालाई एक्स्क्युज गर्छ ? माओवादी पार्टीले ब्युरोक्रेसीको गलत मान्छेलाई पाल्छु भनेर त राखेको छैन ।

माओवादी: त्यसो त हैन….

बिचौलिया: एक दुईवटा कुरा क्लियर गर्छु । अहिलेसम्मको करप्टेड … त्यहाँ ५ जना अख्तियारमा हुनुहुन्छ नि, तीमध्येमा सबैभन्दा करप्टचाहिँ राजनारायण पाठक नै हो । सीधा कुरा । राजनारायण पाठक यति करप्टेड मान्छे हो, चाह्यो भने तपाईको पनि धेरै गल्ती निकाल्न सक्छ क्या । त्यो समय हामीसँग छैन भाइ । सीधा कुरा ।

एउटा कर्पोरेट हाउस चलाइराखेको छु । एउटा सानो बिजनेस चलाइराखेको छु । एकजना इञ्जिनियरलाई राखेर चलाएको छु । १० जना एक्स्पर्टहरु आउँछन् यहाँ बेलाबेलामा । एउटा सानो बिजनेस चलाइराखेको छु, यो फुर्सद छैन यहाँ । राजनारायण पाठक त्यति बीग छ । यो देशको अख्तियार हो । उहाँले चाह्यो भने हजारौं जनतालाई समातेर लान सक्न नि । लगेर खोजखाज, खानतलास गर्न सक्छ नि त ।

माओवादी: हुन त दाइको नाममा कसैले ब्ल्याकमेलिङ गर्‍यो कि ?

बिचौलिया: हैन, राजनारायण पाठकले खुद तपाईहरुसँग कुरा गर्‍यो ?

माओवादी: हो ।

विचौलिया: भेटेरै ?

माओवादी: भेटेरै कुरा गरेको हो । हामी, दीपेशजीको राम्रो छ क्या ।

बिचौलिया: तर, एउटा कुरा बुझ्नोस्, तपाई उता, हाम्रो माओवादी पार्टीको मान्छे होइन ?

माओवादी: हामी सबैतिर पुग्छौं । अख्तियारमा पनि पुग्छौं ।…. (युवक केहीबेर बोल्छन्, वीचमा फोन आउँछ ।) र, फेरि सम्वाद जारी रहन्छ ।

कुराकानीकै क्रममा माओवादी कार्यकर्ताले राजनारायण पाठकलाई फोन गर्छन् र उनले भनेको मान्छेसागै रहेको सुनाउाछन् । उनीहरुबीच केही मिनेट कुराकानी हुन्छ । माओवादी कार्यकर्ताले पाठकलाई तपाईले भनेको जस्तो त छैन भन्दै रिपोर्टिङ गरेको पनि भिडियोमा रेकर्ड भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment