Comments Add Comment

खेलको माध्यमबाट देशलाई समृद्ध बनाउन सकिन्छ : खेलकुदमन्त्री बिक

१२ फागुन, रामेछाप । युवा तथा खेलकुदमन्त्री जगतबहादुर बिश्वकर्माले नेपालमा खेलको माध्यमबाटै देशलाई समृद्ध बनाउन सकिने बताएका छन् ।

देशमा हिउँ, पानी, हावा आदिमा खेलिने खेलकुदको माध्यमबाट बाहृय पर्यटकहरुलाई समेत भित्र्याइ समृद्धिको बाटोमा अघि बढ्ने सम्भावन रहेको उनले बताए ।

रामेछापको उमाकुण्ड गाउँपालिकाको अयोजनमा आइतबारबाट गाउँपालिकाको केन्द्र च्यादोलु पि्रतिमा सुरु भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बिश्वकर्माले देशले लिएको शान्ति, सुशासन र समृद्धिसहितको दीगो विकासको लक्ष पूरा गर्नको लागि पनि खेल आवश्यक रहेको बताए ।

खेलले अनुशासित बनाउने भएकाले त्यसले सुशासन कायम गर्न मद्धत पुर्‍याउने उनको भनाइ थियो ।

मन्त्री बिश्वकर्माले खेलमा गरिने खर्चले स्वास्थ्यमा गर्ने खर्च घटनाउने पनि बताए । ‘खेलले मानिसलाई स्वास्थ्य बनाउँछ, जसले स्वास्थ्य क्षेत्रमा गर्नु पर्ने लगानी घटाउँछ,’ उनले भने ।

कार्यक्रममा बोल्दै संघीय सांसद एवं पूर्वगृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले वर्तमान सरकारले जनताका कार्यक्रमलाई वैज्ञानिक रुपले अघि बढाइरहेको बताए । उनले अब कुनै पनि नेपाली बेरोजगार हुनु नपर्ने गरी कार्यक्रम ल्याइएको पनि बताए ।

कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गाउँपालिकाको तर्फबाट केन्द्र र प्रदेश सरकारलाई ध्यानाकर्षणसहितको मागपत्र प्रस्तुत गरेका थिए ।

उनले रामेछापको अति दुर्गम क्षेत्रको रुपमा रहेको उमाकुण्डको आर्थिक, सामाजिक तथा खेलकुद विकासमा ध्यान दिने केन्द्र र प्रदेश सरकारलाई आग्रह गरे ।

उमाकुण्ड गाउँपालिका भित्रका सबै माध्यामिक विद्यालहरुको सहभागिता रहेको खेलकुद कार्यक्रमको उद्घाटन सभालाई प्रदेश ३ का सांसद शान्तिप्रसाद पौडेललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम वडानम्बर ४ का वडाध्यक्ष मानबहादुर सुनुवारको अध्यक्षतमा भएको थियो । खेल तीन दिनसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment