Comments Add Comment

बिहेकै दिन विद्यालयलाई पाँच लाख सहयोग

१२ फागुन, मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेको एक जोडीले बिहेकै दिन रु पाँच लाख बाराबर विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ ।

यहाँका नरेन्द्र विक र खोटाङको दिक्तेल नगरपालिका–७ की रीना राईले प्रगतिशील विवाह गरेर विवाहमा लाग्ने सबै खर्च आज विद्यालयलाई प्रदान गरेका हुन् । विकले आफूले प्राथमिक तह अध्ययन गरेको सरस्वती मावि सल्लेमा वैवाहिक कार्यक्रम गरेर उक्त सहयोग गरेका हुन् ।

छोराबुहारीको इच्छानुसार विवाहमा लाग्ने सबै फजुल खर्च कटाएर सामाजिक सेवाको काममा लगाउने निर्णय गरिएको नरेन्द्रका बुबा फत्तेसिंह नेपालीले बताए । उनका अनुसार विवाह, व्रतबन्ध, पूजाआजालगायत कार्यमा केही भड्किलोपन बढेको उल्लेख गर्दै त्यसलाई निरुत्साहन गरी नयाँ संस्कारको थालनी गरिएको बताए ।

वैवाहिक कार्यक्रमकै दिन सरस्वती मावि सल्लेलाई एक लाख ५१ हजार तथा ५० हजार रुपैयाँ बराबरको कापीकलम, डायरी र ५० हजार रुपैयाँ बराबरको जीवनोपयोगी पुस्तक हस्तान्तरण गरिएको छ ।

त्यस्तै जलजला मावि थवाङ रोल्पालाई समेत एक लाख र अभिभावकविहीन, दलित तथा विपन्न तीन बालबालिकालाई जनही ५० हजारका दरले एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको उनले जानकारी दिए ।

प्रगतिशील वैवाहिक कार्यक्रममा नरेन्द्रको शिक्षादीक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने शिक्षकलाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment