+
+

सेयर बजारमा विदेशी लगानी भित्र्याउने कानून संसदमा

लगानीकर्ता भन्छन्– स्वागतयोग्य काम, बजारमा सुधार हुन्छ

रोयल आचार्य रोयल आचार्य
२०७५ फागुन १५ गते ५:१३

१४ फागुन, काठमाडौं । नेपाली सेयर बजारमा विदेशी लगानीकर्ताले लगानी गर्न पाउने गरी सरकारले तयार पारेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालको पुँजी बजारमा वैदेशिक लगानी भित्र्याउने गरी नयाँ ऐनको प्रस्ताव गरेको हो ।

मन्त्रालयले प्रस्ताव गरेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, ०७५ मा विदेशीले लगानी गर्न पाउने प्रस्ताव गरिएको छ । उक्त विधेयकमा विदेशी लगानीकर्ताले नेपालको सेयर बजारको दोस्रो बजारमा मात्रै लगानी गर्न पाउनेछन् ।

विदेशी लगानी भित्र्याउन सके पुँजी बजारमा ठूलो सुधार हुने अपेक्षासहित मन्त्रालयले यस्तो व्यवस्था प्रस्ताव गरेको हो । विधेयकमा संस्थागतरुपमा मात्रै दोस्रो बजारमा लगानी गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको मन्त्रालयका सहसचिव दिनेश भट्टराईले जानकारी दिए ।

‘धितोपत्र दोस्रो बजारमा संस्थागत लगानीकर्ताहरुले लगानी गर्न सक्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ, सहसचिव भट्टराईले भने, ‘आधिकारिक च्यानलबाट लगानी भित्रियोस् भनेर हामीले संस्थागतका लागि यो व्यवस्था गरेका छौं ।’

पुँजी बजार लगातार ओरालो लागिरहेको सन्दर्भमा यो व्यवस्थाले पुँजी बजारमा सकारात्मक प्रभाव पार्ने मन्त्रालयले बताएको छ ।

प्रस्तावित विधेयकमा के छ ?

मन्त्रालयले सोमबार संघीय संसद सचिवालयमा दर्ता गरेको उक्त विधेयकले विदेशी लगानीकर्ताहरुलाई प्रोत्साहन गर्ने सहसचिव भट्टराई बताउँछन् । सहसचिव भट्टराईका अनुसार विधेयकले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न र फिर्ता लैजान सहज बनाउने प्रस्तावहरु गरेको छ ।

विधेयकले विदेशी लगानी ल्याउन र फिर्ता लैजान आएको प्रस्ताव १५ दिनभित्र स्वीकृत गरिसक्नुपर्ने प्रस्ताव गरेको छ भने स्वीकृत हुन नसक्ने भए ७ दिनभित्र जानकारी गराउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ । यसले विदेशी लगानीलाई प्रोत्साहन गर्ने मनत्रालयले बताएको छ ।

यसैगरी यसअघि लगानी गर्न रकम ल्याउदा नेपाल राष्ट्र बैंकको स्वकृति अनिवार्य भएकामा यसलाई सहज बनाउँदै लगानीकर्ताले आफ्नो लगानी वैधानिक भएको स्वघोषणा गर्नुपर्ने उल्लेख गरेको छ । ५ अर्बसम्मको लगानी उद्योग विभागले नै स्वीकृत गर्ने प्रस्ताव विधेयकमा गरिएको छ । ५ अर्बभन्दा बढीको लगानी भने औद्योगिक प्रवद्र्धन बोर्डले स्वीकृत गर्ने प्रस्ताव पनि गरिएको छ ।

यसैगरी एकल विन्दु सेवा सञ्चालन गरी विदेशी लगानीकर्ताहरुका लागि आवश्यक विभिन्न कामहरु जस्तै उद्योग दर्ता, विदेशी लगानी तथा ऋण स्वीकृति, कम्पनी दर्ता, श्रम स्वीकृति, भिसा एकै ठाउँबाट दिने गरी कार्यालय स्थापना गर्ने प्रस्तावसमेत विधयेकले गरेको छ ।

यसैगरी आमसञ्चार माध्यम, सुरक्षा तथा पर्यटन सम्बन्धी उद्योगमा भने नेपालीहरुलेमात्रै लगानी गर्न पाउने विधेयकले व्यवस्था गरेको छ ।

लगानीकर्ताले गरे स्वागत

लामो समयदेखि पुँजी बजार ओरालो लागिरहेको छ । सरकारी नीतिका कारण बजार ओरालो लागेको र कतिपय नीतिगत कुराहरु सुधार गर्नुपर्ने भन्दै सेयर बजारका लगानीकर्ताहरुले माग समेत गरिरहेका छन् ।

गैरआवासीय नेपालीहरुले पुँजी बजारमा लगानी गर्न पाउनुपर्छ भन्दै आएका लगानीकर्ताहरु यो विधेयक संसदमा दर्ता भएपछि खुसी भएका छन् । विधेयकको उक्त व्यवस्था स्वागतयोग्य भएको सेयर बजारका लगानीकर्ताहरुले बताएका छन् ।

सेयर बजारका लगानीकर्ताहरुको सबैभन्दा ठूलो संगठन नेपाल इनभेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले विधेयकले गरेको उक्त व्यवस्थाले पुँजी बजारमा सकरात्मक असर गर्ने बताए ।

‘आज दिनभर बाहिर–बाहिर थिएँ, विधेयकमा यो व्यवस्था छ भन्ने कुरा मलाई जानकारी थिएन, अब अध्ययन गर्छु’ अनलाइनखबरसँगको कुराकानीमा फोरमका अध्यक्ष रौनियारले भने, ‘विदेशी लगानी भित्र्याउने गरी गरिएको यो व्यवस्था एकदमै स्वागतयोग्य छ, यसले पुँजी बजारमा सकरात्मक प्रभाव पार्छ ।’

विकसित मुलुकहरुमा समेत विदेशी पुँजी लगानी रहेको भन्दै नेपालजस्तो मुलुकका लागि त अझ धेरै विदेशी लगानी भित्रिनुपर्ने उनले बताए ।

पुँजी बजार विकास र विस्तारका लागि भन्दै आमरण अनसम्म बसेको लगानकर्ताहरुको अर्को समूह सेयर लगनीकर्ता दबाव समूहले पनि यो स्वागत योग्य भएको बताएको छ । समूहका महासचिव नयन बास्तोलाले आफूहरुको आन्दोलनको एउटा उपलब्धी यसलाई पनि मानेको बताए ।

अब गैरआवासी नेपालीहरुको पनि पुँजी बजारमा लगानी भित्र्याउन आवश्यक रहेको महासचिव बास्तोलाले बताए ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि विधेयकले गरेको व्यवस्था एकदमै स्वागतयोग्य भएको बताइन् । आफूहरुले गैरआवासीय नेपाली (एनआरएन) को लगानी भित्र्याउन लामो समयदेखि माग गरिरहेको सन्दर्भमा विदेशी लगानीकर्ताले लगानी गर्न पाउनु खुसीको कुरा भएको उनले बताइन् ।

‘उद्योग मन्त्रालयले विदेशी लगानीकर्ताले संस्थागत रुपमा सेकेण्डरी मार्केटमा लगानी गर्न पाउने गरी विधयेकमा प्रस्ताव गरेछ, यो नेपाली पुँजी बजारकै लागि खुसीको कुरा हो’ पोखरेलले भनिन्, ‘यसबाट पुँजी बजारका लगानीकर्ताहरुलाई साथै मुलुकलाई समेत फाइदा पुग्नेछ ।’

अध्यक्ष पोखरेलले अझ गैरआवासीय नेपालीहरुलाई समेत पुँजी बजारमा लगानी गर्न दिने व्यवस्था सरकारले गर्नुपर्ने बताइन् ।

लगानीकर्ताहरुकै अन्य संगठनहरुले पनि यो व्यवस्थालाई स्वागयोग्य भनेका छन् । यसले पुँजी बजारमा केही सुधार पक्कै हुने उनीहरुले बताएका छन् ।

नेप्से फेरि ओरालो

यसैवीच पछिल्लो समय लगातारजसो ओरालो लागेको सेयर बजारमा मंगलबारमात्रै पनि ७.१७ अंकको गिरावट आएर नेप्से परिसूचक १ हजार १ सय २ दशमलव ५६ अंकमा झरेको छ । यसअघि साताको पहिलो दिन बजार दोहोरो अंकले घटेको थियो भने दोस्रो दिन सोमबार ७ अंकभन्दा बढीको सुधार आएको थियो ।

सोमबार सुधार भएको बजार मंगलबार पुनः ओरालो लागेको हो । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । मंगलबार भएका ३ हजार ६ सय ८१ कारोबारबाट १ सय ६५ कम्पनीका ६ लाख ५३ हजार २८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १६ करोड ५६ लाख ७२ हजार २ सय ८५ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

एक समय १९ खर्ब रुपैयाँभन्दा माथि पुगिसकेको नेपाली पुँजी बजार खुम्चिएर अहिले १३ खर्बमा झरिसकेको छ । पछिल्लो तथ्यांक अनुसार नेपाली पुँजी बजारमा १३ खर्ब ४५ अर्ब ८५ करोड रुपैयाँको हाराहारीमा पुँजीकरण रहेको छ ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?