Comments Add Comment

इमरान खानले हानेको एउटा ‘छक्का’

इमरान खान एक पूर्वक्रिकेटर हुन्, जसले विगतमा पाकिस्तानी क्रिकेट टिमको नेतृत्व गरेका थिए । अहिले उनी प्रधानमन्त्री पदमा रहेर देशकै नेतृत्व गरिरहेका छन् ।

क्रिकेट टिमको नेतृत्व गर्नु र देशको नेतृत्व गर्नुबीच खासै तादम्यता त नहोला । तर, स्पोर्ट्सम्यानसीपको आवश्यकता दुवै भूमिकामा उस्तै पर्दो रहेछ । यतिबेला भारत र पाकिस्तानबीचको एउटा क्रिकेट म्याचको सम्झना गर्नु सान्दर्भिक हुनेछ । उक्त म्याचमा पाकिस्तानी टोलीका कप्तान थिए इमरान ।

खेल तनावपूर्ण मोडमा रहेका बेला पाकिस्तानी बलर बकार युनिसले भारतीय कप्तान क्रिस श्रीकान्तलाई एलबीडब्लू धरापमा पारे । अम्पायरले तुरुन्त आउट दिए । तर, श्रीकान्तले मैदान छोड्न चाहेनन् । अम्पायरको निर्णयमा असहमति जनाउँदै चर्को प्रतिवाद गरेपछि तनावको स्थिति सिर्जना भयो ।

अम्पायरले लिएको निर्णय ठिक थियो वा थिएन आफ्नो ठाउँमा छ । तर, जुनसुकै खेलमा अम्पायरको निर्णय नै अन्तिम हुन्छ । खेलाडीले त्यसलाई चुनौती दिन सक्दैनन् । अन्यथा अनुशासनको कारवाही भोग्न तयार हुनुपर्छ । त्यसैले भारतीय कप्तान श्रीकान्त कारवाहीमा पर्ने सम्भावना प्रबल थियो ।

तर, त्यतिबेला पाकिस्तानी कप्तान इमरानले साहसिक निर्णय लिए । उनले श्रीकान्तलाई आउट गर्ने निर्णय रद्द गर्न अम्पायरलाई सल्लाह दिए । यसबाट पाकिस्तानी खेलाडीहरु चकित परे । किनकी श्रीकान्तको विकेट पाकिस्तानका लागि निकै महत्वपूर्ण थियो । यसबाट खेल पाकिस्तानको पक्षमा मोडिन सक्थ्यो । तर, इमरानलाई आफ्ना बलरमा ठूलो भरोसा थियो ।

इमरानको सल्लाहबमोजिम अम्पायरले श्रीकान्तलाई फेरि ब्याटिङ गर्न अनुमति दिए । तर, उनको दुर्भाग्य ! बकार युनुसले लगत्तै अर्को बलमा श्रीकान्तलाई विकेटकिपरबाट क्याचआउट गराए । यसपटक श्रीकान्तसँग चुपचाप मैदान छोड्नुभन्दा अर्को विकल्प थिएन । अन्ततः त्यो खेल पाकिस्तानले जित्यो । खेल मात्र होइन, भारतीय समर्थकको मन पनि जिते इमरानले ।

हेर्नुस भिडियो 

इमरानको यही स्पोर्ट्म्यानसीप अहिले प्रधानमन्त्रीको भूमिकामा पनि प्रकट भएको छ । भारतसँग तनाव बढिरहेका बेला उनले एउटा साहसिक निर्णय लिएका छन् । त्यो निर्णय हो, आफ्नो कब्जामा रहेका भारतीय पाइलट भारतलाई फिर्ता गरिदिने । उनको यो निर्णयले भारत-पाकिस्तानमा मात्रै नभएर विश्वभर नै तरंग पैदा गरेको छ । नेपालीहरुले पनि सामाजिक सञ्जालमा उनको प्रशंसा गरिरहेका छन् । भारतीय मिडियाले भने आफ्नै शैलीमा पाकिस्तानमाथि भारतको ठूलो जित भएको भन्दै खुशीयाली मनाएका छन् । तर, अभिनन्दनकी आमाले टेलिभिजनमा इमरानको मन्तव्य हेर्दै आँशु झारेको तस्वीर (तस्वीरको सत्यता पुष्टि हुन बाँकी) ले धेरै कुरा बोल्छ ।

गत १४ फेब्रुअरीमा काश्मिरको पलुअवामा आक्रमण गरी ४६ जना भारतीय सैनिकको मृत्यु भयो । भारतले आक्रमणको दोष पाकिस्तानमाथि लगायो । पाकिस्तानले आतंकवादी समूहहरुलाई संरक्षण गरेको उसले दावी गर्दै आएको छ ।

प्रतिउत्तरमा पाकिस्तानी प्रधानमन्त्रीले भारतलाई अनुसन्धानमा सहयोग गर्ने अफर दिए । तर, भारतले यदि आफ्नो भूमिमा आक्रमण गरे त्यसको उचित जवाफ दिने चेतावनी दिन पनि पछि परेनन् । भारत पाकिस्तानसँग संवाद गर्न तयार भएन ।

भारतीय वायुसेनाले पलुअमा आक्रमणको बदला लिने भन्दै गत मंगलबार पाकिस्तानी एयरस्पेसमा पसेर बमवारी गर्‍यो । यो बमवारीबाट आतंकवादी समूह जैश ए मोहम्मदको किल्ला ध्वस्त भएको र कैयौं हताहत भएको भारत सरकारको दाबी छ । तर, यसको कुनै प्रमाण सार्वजनिक गरेको छैन । पाकिस्तानले भने बमवारी भएको स्वीकारेको र जनधनको क्षति नभएको बताएको छ ।

उक्त घटनापछि प्रतिक्रिया दिँदै पाकिस्तानी प्रधानमन्त्री इमारान खानले भनेका थिए, हामी उचित समयमा यसको जवाफ दिनेछौं । नभन्दै भोलिपल्टै पाकिस्तानी वायूसेनाले भारतीय एयरस्पेसमा पसेर उही तरिकाले बमवर्षा गर्‍यो । त्यसपछि भारतीय र पाकिस्तानी लडाकु बिमानबीच आकाशमा भिडन्त भयो र भारतीय बिमानका पाइलट अभिनन्दन वर्धमान प्यारासुटबाट पाकिस्तान नियन्त्रित काश्मिरमा खसे । उनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लियो ।

आफ्ना विङ कमान्डर पाकिस्तानी नियन्त्रणमा पुगेपछि भारत ब्याकफुटमा आएको थियो । नेगोसिएसनमा पाकिस्तानको हात माथि थियो । उसले पाइलटलाई भारतसँग बार्गेनिङ चिपका रुपमा प्रयोग गर्न सक्ने आशंका भारतीय पक्षले गरेका थिए । तर, प्रधानमन्त्री इमरानले नसोचिएको कदम चाले । उनले पाइलट भारतलाई सुपुर्दगी गर्ने घोषणा आफ्नो संसदमा गरे र यो कदमलाई पिस गेस्चर -शान्ति संकेत) का रुपमा ब्याख्या गरे । यसमा उनले आफ्नो देशको घाटानाफा भन्दा पनि दुई देशबीच तनाव घटाउने दिशामा आफूलाई केन्दि्रत गरेको देखिन्छ ।

आफ्ना पाइलट फिर्ता पाउने भएपछि भारतको क्रोध कम भएको छ । दुई देशबीच तनाव केही मत्थर भएको मानिएको छ । तर, कतिपय भारतीय मिडियाहरुले यसलाई ‘पाकिस्तानमाथि भारतको ठूलो जित’ को रुपमा प्रचार गरेका छन् । कतिपयले चाहिँ जेनेभा महासन्धिअनुसार पाकिस्तानले पाइलटलाई छोड्न वाध्य भएको पनि बताएका छन् । तर, दुवै दाबी सही होइनन् ।

भारतीय पाइटल अभिनन्दन रिहा हुनु भारतको होइन, पाकिस्तानको नैतिक जित हो । यसबाट पाकिस्तान शान्ति चाहन्छ भन्ने सन्देश विश्वमाझ प्रवाह भएको छ । इमरान खानले आफ्नो कद बढाएका छन् । जहाँसम्म जेनेभा महासन्धीको दाबी छ, यो यहाँ आकर्षित हुँदैन किनभने भारत र पाकिस्तानबीच औपचारिक युद्ध भएको छैन र भारतीय पाइलट युद्धवन्दी होइनन् । पाकिस्तानी सेनाले उनलाई स्थानीयवासीहरुको आक्रमणबाट बचाएर आफ्नो नियन्त्रणमा लिएको थियो । आफूलाई पाकिस्तानी सेनाले सम्मानित व्यवहार गरेको पाइलटले बताएका छन् ।

यो पनि पढ्नुस्–भारत र पाकिस्तानमा को शक्तिशाली ?

भारत र पाकिस्तानबीच पछिल्लो तनावमा भारतीय पक्ष अत्याधिक आक्रामक देखिँदै आएको छ भने पाकिस्तानी पक्ष रक्षात्मक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानविरुद्ध उत्तेजक अभिव्यक्तिहरु दिइरहँदा पाकिस्तानी प्रधानमन्त्री भने शान्तिको अपिल गरिरहेका छन् । आफ्ना हरेक भाषणमा उनले भारतलाई संवादबाट समस्या हल गर्ने प्रस्ताव गरेका छन् । आफूले पटक-पटक संवादको प्रयास गर्दा पनि भारतीय पक्ष अनिच्छुक रहेको उनको गुनासो छ ।

पाकिस्तानभन्दा भारतको सैन्यशक्ति बलियो छ । तर, पाकिस्तान पनि आणविक शक्ति सम्पन्न राष्ट्र हो ।

इमरानले आफ्नो आणविक शक्तिको घमन्ड देखाएका छैनन् । न त उनले चीनलाई देखाएर भारतलाई तर्साउन खोजेका छन्, जसरी भारतले अमेरिकालाई देखाउने गरेको छ ।

इमरानले प्रधानमन्त्री पद सम्हालेको पाँच महिना भयो । प्रधानमन्त्री भएलगत्तै उनले देशको ढुकुटी जोगाउने भन्दै सरकारको खर्च घटाउने केही लोकपि्रय घोषणाहरु गरेका थिए । त्यसबाहेक यो पाँच महिनामा उनले कुनै ठूलो नीतिगत उद्घोष गरेका छैनन् । राजनीतिक अस्थिरता र भ्रष्टाचारले थिलथिलो भएको पाकिस्तानको अर्थतन्त्र उकास्ने मुख्य चुनौती उनीसँग छ । तत्कालको लागि चाहिँ भारतसँगको समस्या हल गर्नुछ । यसका लागि अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउन आवश्यक भएको उनी स्वीकार गर्छन् । यो काम सजिलो छैन, किनकी कुटनीतिक क्षमतामा भारत विश्वमै अग्रणी मानिन्छ ।

इमरानको कम्युनिकेसन स्किल राम्रो छ । उनी आफ्नो कुरालाई प्रष्ट र घुमाउरो दुवै तरिकाले भन्न सक्छन् । बेलायतमा राजनीतिशास्त्र पढेका उनी बौद्धिक पनि मानिन्छन् ।

र, सबैभन्दा महत्वपूर्ण उनी सकारात्मक सोचका धनी छन् । उनी प्रष्ट छन् कि युद्धबाट कसैको हित हुँदैन । पाइलटलाई रिहा गर्ने घोषणा गरेर उनले भारतविरुद्ध छक्का प्रहार गरेका छन् तर थोरै चुक गरेको खण्डमा उनी आफैं बोल्ड हुन सक्छन् ।

पाकिस्तान पहिलेदेखि नै आफ्नो पश्चिमी सीमामा चरमपन्थविरुद्ध लडाई लडिरहेको छ । पाकिस्तानी सेना पनि चाहँदैन कि लडाई होस् । इमरान पाकिस्तानलाई सही दिशामा लैजान चाहन्छन् । अफगानिस्तानसँगको लडाई अन्त्य गर्ने दिशामा उनी प्रयत्नशील छन् । उनले भनेका छन्, ‘लडाईंको पीडा के हुन्छ पाकिस्तानलाई थाहा छ किनकी हामीले ७० हजार जनता लडाईँमा गुमाएका छौं ।’

यता भारतीय प्रधानमन्त्री मोदीको अवस्था फरक छ । तीन महिनापछि हुने लोकसभा चुनावका कारण उनी पाकिस्तानप्रति कडा रवैया अपनाउन वाध्य छन् । किनभने थोरै मात्रै लचिलो देखिएको खण्डमा पनि चुनावमा उनको दल पछि पर्न सक्छ । पाकिस्तानलाई झुकाउन सफल भएको सन्देश जनतालाई दिन सकेको खण्डमा उनले चुनावी परिणाम आफ्नो पक्षमा पार्न सक्छन् ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment