News Summary
Generated by OK AI. Editorially reviewed.- इमरान खानले एसआईआरविरुद्धका प्रदर्शनमा सहभागी भएकोमा बिनासर्त माफी माग्दै आगामी दिनमा यस्ता प्रदर्शनमा सहभागी नहुने लिखित प्रतिबद्धता बम्बई उच्च अदालतलाई बुझाएका छन्।
- बम्बई उच्च अदालतले इमरानविरुद्ध जारी ‘लिभ इन्डिया नोटिस’ को कार्यान्वयन डिसेम्बर ७ सम्म रोक्न आदेश दिएको छ।
- अदालतले उनलाई नागरिकतासम्बन्धी प्रश्न गर्दै मानिसहरूलाई उक्साएको भन्दै माफी माग्न र भविष्यमा यस्ता गतिविधि नगर्न निर्देशन दिएको थियो।
अभिनेता इमरान खानले ‘एसआईआर’ विरुद्धका प्रदर्शनमा सहभागी भएकोमा बिनासर्त माफी मागेका छन् । उनले बम्बई उच्च अदालतसमक्ष आगामी दिनमा यस्ता कुनै पनि प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धता जनाएका छन् ।
इमरानलाई भारत छाड्न जारी गरिएको ‘लिभ इन्डिया नोटिस’ विरुद्ध परेको रिटमाथि बम्बई उच्च अदालतमा सुनुवाइ भइरहेको थियो । अदालतले उनलाई बिनासर्त माफी माग्न र आगामी दिनमा यस्ता प्रदर्शनमा सहभागी नहुने लिखित प्रतिबद्धता बुझाउन आदेश दिएको थियो ।
सुनुवाइका क्रममा उच्च अदालतले केन्द्र सरकारलाई ‘वसुधैव कुटुम्बकम्’ को सिद्धान्त स्मरण गराउँदै इमरानलाई आफूमाथि जारी गरिएको ‘लिभ इन्डिया नोटिस’ को जवाफ दिन केही समय दिन निर्देशन दिएको छ ।
अब यस मुद्दाको अर्को सुनुवाइ डिसेम्बर ७ मा हुनेछ । त्यतिन्जेल इमरानविरुद्ध जारी भारत छाड्नुपर्ने नोटिस कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ ।
बम्बई उच्च अदालतका पाँच टिप्पणी
सुनुवाइका क्रममा अदालतले इमरानलाई विभिन्न प्रश्न गरेको थियो ।
–तपाईं यति वर्षदेखि भारतमा बस्दै आउनुभएको छ । यस अवधिमा कहिल्यै कुनै प्रदर्शनमा सहभागी हुनुभएको थिएन । अहिले किन सहभागी हुनुभयो ?
–तपाईं ओसीआई कार्डधारक हुनुहुन्छ । तपाईंले भारतीय नागरिकले जस्तो व्यवहार गर्न मिल्दैन । एसआईआरबाट तपाईं प्रभावित हुनुहुन्न भने तपाईंलाई यस विषयमा प्रदर्शन गर्ने अधिकार किन चाहियो ?
–तपाईं बाल्यकालदेखि नै भारतमा बस्दै आउनुभएको छ भने भारतीय नागरिकताका लागि किन आवेदन दिनुहुन्न ? ओसीआईकै हैसियतमा बस्ने हो भने फेरि यस्ता प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धता दिनुपर्छ ।
–तपाईंले बिनासर्त माफी पनि माग्नुपर्छ, किनकि तपाईंले मानिसहरूलाई उक्साउनुभएको छ । सेलिब्रेटीबाट यस्तो व्यवहार अपेक्षित हुँदैन । तपाईंको जीविकोपार्जनदेखि सबै कुरा यही देशसँग जोडिएको छ ।
‘भारतको उदारता हेर्नुस्, पहिले नै नोटिस दिइयो’
मुख्य न्यायाधीश महेश चन्द्र त्रिपाठी र न्यायाधीश अद्वैत सेठनाको इजलासले भारतको उदारताको उदाहरण दिँदै इमरानलाई तत्काल देश निकाला गर्नुको सट्टा पहिले नोटिस जारी गरिएको टिप्पणी गरेको थियो ।
अदालतले अमेरिकी नागरिक तथा ‘ओभरसिज सिटिजन अफ इन्डिया’ कार्डधारक इमरानलाई तत्काल भारतबाट निष्कासन गर्नुको सट्टा देश छाड्न नोटिस दिएर आफ्नो भनाइ राख्ने अवसर दिइएको बताएको थियो ।
अदालतले कुनै भारतीय नागरिकले विदेशमा यस्तै गतिविधि गरेको भए उसलाई अर्को उडानबाटै भारत फर्काइने अवस्था हुन सक्ने टिप्पणीसमेत गरेको थियो ।
दैनिक भास्करबाट
प्रतिक्रिया 4