News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता इमरान खान १० वर्षपछि कमब्याक फिल्म ‘अधुरे हम अधुरे तुम’मार्फत अभिनयमा फर्किने तयारीमा छन् ।
- इमरानले नाम नखुलाइएको फिल्मका लागि जीवनकै सबैभन्दा धेरै पारिश्रमिक पाए पनि सुटिङमा जीवनकै सबैभन्दा दुःखद् अनुभव भएको बताएका छन् ।
अभिनेता इमरान खान १० वर्षको लामो विश्रामपछि फेरि अभिनयमा फर्किने तयारीमा छन् । सन् २००८ मा रोमान्टिक कमेडी फिल्म जाने तू… या जाने नाबाट आशालाग्दो सुरुवात गरेका यी अभिनेताको करियर सन् २०१५ वरपर लगातार फिल्महरू फ्लप भएपछि ओरालो लागेको थियो ।
हालैको एक अन्तर्वार्तामा इमरानले नाम नखुलाइएको एउटा फिल्मका लागि आफ्नो जीवनकै सबैभन्दा धेरै पारिश्रमिक पाएको तर त्यसको सुटिङका क्रममा जीवनकै सबैभन्दा दुःखद् अनुभव भोगेको खुलाएका छन् ।
त्यसले आफूलाई पैसाको मूल्य कति हो ? समय तथा मनको शान्तिको मूल्य कति हो ? भन्ने पाठ सिकाएको समेत उनले बताएका छन् । यहीँ कारण आफूले आफ्ना लागि सीमा तय गरेको र पैसाका लागि मात्र केही पनि नगर्ने सुनाएका छन् ।
‘जब कसैले यो पैसा लेऊ र यो काम गर भन्छ, म तिम्रो पैसाका लागि त्यो गर्दिनँ भन्छु । तपाईं कुनै न कुनै विन्दुमा पुग्नुहुन्छ जहाँ हरेक कुराको मूल्य हुन्छ, तर मलाई लाग्छ कि हामीसँग एउटा यस्तो रेखा पनि हुन्छ जुन हामी पैसाका लागि कहिल्यै काट्दैनौं । यदि पारिश्रमिक दोब्बर वा तेब्बर नै किन नहोस् । जब तपाईंले त्यो विन्दु भेट्टाउनुहुन्छ, त्यसले सोचाइमै परिवर्तन ल्याइदिन्छ’ कुराकानीमा उनले भनेका छन् ।
इमरान खानको अभिनय करियर
आई हेट लभ स्टोरिज, दिल्ली बेली र मेरे ब्रदर कि दुल्हन जस्ता सफल रोमान्टिक कमेडी फिल्महरू पछि सन् २०१३ मा मातृ की बिजली का मन्डोला, वन्स अपन अ टाइम इन मुम्बई दोबारा र गोरी तेरे प्यार में जस्ता फिल्महरू बक्स अफिसमा लगातार असफल भए । त्यसपछि इमरानको करियरको गति निकै सुस्त भयो ।
कङ्गना रनौतको अभिनय रहेको रोमान्टिक कमेडी ड्रामा कट्टी बट्टी (२०१५) बक्स अफिसमा असफल भएपछि उनी बलिउडबाट टाढा भएका थिए । इमरान अहिले १० वर्षपछि आफ्नो कमब्याक प्रोजेक्ट अधुरे हम अधुरे तुममार्फत फेरि चर्चामा आउँदैछन् । दानिश असलमले निर्देशन गरेको यो नेटफ्लिक्स फिल्ममा गुरफतेह पिरजादाको पनि अभिनय रहेको छ । यो फिल्म अहिले पोस्टप्रोडक्सनको चरणमा छ । र यसै वर्षको अन्तिमतिर स्ट्रिम हुने बताइएको छ ।
सन् २०२४ मा फिल्म कम्प्यानियनसँगको अन्तर्वार्ताका क्रममा इमरान खानले फिल्मबाट ब्रेक लिने आफ्नो निर्णयबारे कुरा गरेका थिए ।
‘वास्तवमा मैले मेरो २० देखि ३० वर्षको उमेर काम गर्न र करियर बनाउनमै बिताएँ । तर ३० देखि ४० वर्षको उमेरमा पुगेपछि मलाई त्यो कुरामा ध्यान दिन मन लागेन । जिन्दगीले मलाई अर्कै मोडमा पुर्यायो । तर, यी पछिल्ला १० वर्ष मैले म को हुँ ? म के गर्न चाहन्छु ? म के बन्न चाहन्छु ? भन्ने जस्ता ठूला प्रश्नहरूसँग जुध्नमै बिताएको छु । जीवनका विभिन्न परिस्थितिहरूले मलाई यस्तो ठाउँमा पुर्याए, जहाँ मैले सन्तुष्टि पाइरहेको थिइनँ,’ उनले भनेका थिए ।
प्रतिक्रिया 4