Comments Add Comment

भारत र पाकिस्तानमा को शक्तिशाली ?

सैन्य शक्तिमा भारत अगाडि, आणविक शक्तिमा पाकिस्तान

१५ फागुन, काठमाडौं । भारतले पाकिस्तानी भूमिमा बम खसालेपछि दुई देशबीच तनाव झन बढेको छ । भारत सरकार र त्यहाँका मिडियाहरुको उत्तेजना हेर्दा कुनै पनि क्षण पाकिस्तानको धैर्यको बाँध फुट्न सक्ने खतरा देखिन्छ । यसबाट कुनै पनि समय दुई देशबीच युद्ध भड्किन सक्ने खतराले विश्व समुदायलाई चिन्तित बनाएको छ । यदि निर्णायक युद्धमा होमिएको खण्डमा दुबै देश ध्वस्त हुन सक्छन्, किनकि दुवै आणविक शक्तिसम्पन्न राष्ट्र हुन् ।

भारतमा तीन महिनापछि लोकसभा चुनाव हुँदैछ । त्यसैले सरकारलाई जनताका अगाडि बढीभन्दा बढी राष्ट्रवादी देखिनु छ । भारतमा भोट बटुल्ने प्रमुख अस्त्र भनेकै धर्म र राष्ट्रवाद हो । र, राष्ट्रवादी देखिने प्रमुख अस्त्र भनेको पाकिस्तानमाथि जाइलाग्नु हो । त्यसैले पुलुआमा घटनाले भाजपा सरकारलाई ठूलो मौका मिलेको छ, उग्र राष्ट्रवाद प्रदर्शन गर्ने । यसमा भारतीय मिडियाले सरकारलाई थप मलजल गरिरहेका छन् ।

भारतीय मिडियाको उत्तेजना यतिसम्म छ कि मानौं उनीहरुको सेनाले चाहे पाकिस्तानलाई खर्लप्पै निल्न सक्छ ।

पाकिस्तान अहिलेसम्म प्रतिरक्षात्मक स्थितिमै देखिन्छ । तर, यसको अर्थ ऊ भारतका अगाडि निरीह भने पक्कै छैन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भनेका छन् कि भारतले आक्रमण गरे उनीहरुले उचित जवाफ फर्काउनेछन् ।

तर, के यदि भारतले पाकिस्तानमाथि आक्रमण नै गर्‍यो भने पाकिस्तानले जवाफ फर्काउन सक्छ त ?

बाहिरबाट हेर्दा पाकिस्तानको तुलनामा भारत निकै शक्तिशाली देखिन्छ । पाकिस्तान राजनीतिक अस्थिरता, आन्तरिक कलह र भ्रष्टाचारले थिलथिलो अवस्थामा छ । भारतले भने राजनीतिक स्थिरता र सुदृढ अर्थतन्त्रसँगै विश्वस्तरमा आफ्नो प्रभाव बढाइरहेको छ । साथै, राष्ट्रियताको मामलामा सम्पूर्ण शक्तिहरुको आन्तरिक एकता भारतको विशेषता हो ।

सैन्य शक्तिमा भारत अगाडि

पहिले यी देशको सैन्य शक्तिको तुलना गरौं, जसमा पाकिस्तानभन्दा भारत प्रष्ट अगाडि देखिन्छ । भारतको भूगोल र जनसंख्या नै पाकिस्तानको भन्दा कयौं गुणा ठूलो छ । त्यसैले सैन्य जनशक्ति पनि ठूलो हुने नै भयो ।

१ अर्ब ३३ करोड जनसंख्या रहेको भारतसँग १२ लाखको सैन्य शक्ति छ । संख्याका आधारमा चीन र अमेरिकापछि विश्वमै सवैभन्दा धेरै सैनिक भारतसँग छन् । पाकिस्तान पनि धेरै पछाडि भने छैन । २० करोड मात्रै जनसंख्या रहे पनि पाकिस्तानसँग करिब ८ लाख सेना छन् ।

पाकिस्तानले जनसंख्याको अनुपातमा अत्यधिक सैनिक पाल्नुको कारण भारतसँगको सुरक्षा संवेदनशीलता नै हो । यसका अतिरिक्त भारतसँग २० लाख प्यारामिलिटरी फोर्स छन्, जसलाई सीमा क्षेत्रमा खटाइएको छ ।

रक्षा बजेटको कुरा गर्दा भारत पाकिस्तानभन्दा निकै अगाडि छ । भारतको जीडीपी उच्च भएकाले रक्षा बजेट धेरै हुनु स्वभाविक नै हो ।

भारतले गत वर्ष ४ लाख करोड भारु सेनाका लागि छुट्याएको थियो । यसका आधारमा भारतीय सेना विश्वकै पाँच धनी सेनामध्ये पर्छ । पाकिस्तानको सैनिक बजेट ५० हजार करोड रुपैयाँ मात्र छ ।
यो पनि पढ्नुहोस पाकिस्तानी क्षेत्रमा बम खसालेर भाग्यो भारतीय लडाकु विमान

अब तुलना गरौं सैन्य हतियारको ।

भारतीय सेनासँग चार हजार चार सय ट्याङ्क छन् भने पाकिस्तानसँग २९ सय ट्याङक छन् । यस्तै भारतसँग ६ हजार ८ सय ६ हजार ७ सय बख्तरबन्द लडाकु बहान छन्, जुन पाकिस्तानसँग २८ सयको संख्यामा छन् । पाकिस्तानसँग ४६५ सेल्फ प्रोपेल्ड गन छन् भने भारतसँग २९० वटा । रकेट लन्चर भारतसँग २९२ वटा छन् भने पाकिस्तानसँग १३४ वटा छन् ।

पाकिस्तानी सेनासँग भएको सबैभन्दा खतरनाक हतियार हो, अल खालिद ब्याटल ट्याङ्क । जसलाई पाकिस्तानी सेनाको मेरुदण्ड पनि भन्ने गरिन्छ । भारतले भने अर्जुन एमके–२ नामको नयाँ ट्यांक विकास गरिरहेको छ ।

स्थल सेनासँगै वायूसेनामा पनि भारत बलियो छ । भारतको वायूसेनासँग १७ सय एयरक्राफ्ट छन् । यस आधारमा भारत विश्वको चौथो ठूलो एयरफोर्स मानिन्छ । पाकिस्तानसँग ९६० एयरक्राफ्ट छन् ।

पाकिस्तान एयरफोर्सको बलियो पक्ष हो लडाकु हेलिकोप्टर । पाकिस्तानसँग ५१ वटा एएचवानएस कोब्रा हेलिकोप्टर छन् र १५ एएचवानजेड भाइपर छन् । भारतीय सेनासँग अट्याक हेलिकोप्टर पहिले थिएन । तर, अहिले रक्षा मन्त्रालयले ३९ वटा अट्याक हेलिकोप्टर किनेको छ ।

जलसेनामा भारत विश्वमै अग्रणी छ । भारतीय जलसेनामा ६७ हजार सैनिक छन् । पाकिस्तानसँग यसको आधा छन् । भारतीय जलसेनासँग ११ डिट्रोयर, १४ फ्रिगेट्स, १५ सबमरिन, २३ कोर्बेट, ७ माइन वारफेयर सिप र ७२ पेट्रोल सिप छन् । यसैगरी पाकिस्तानसँग १० फ्रिगेट्स, १ क्रुजर, ८ सबमरिन, ३ माइन वारफेयर सिप र १७ पेट्रोल सिप छन् ।

आणविक शक्तिमा पाकिस्तान अगाडि

सामरिक शक्तिको कुरा गर्दा सबैभन्दा महत्वपूर्ण मानिन्छ आणविक शक्ति । भारत र पाकिस्तान दुवै आणविक शक्तिसम्पन्न राष्ट्र हुन् । यसमा भारतभन्दा पाकिस्तान केही अगाडि छ । पाकिस्तानसँग १३० आणविक हतियार छन् भने भारतसँग ११० वटा छन् ।

तर, आणविक हतियारको प्रयोग भनेको अन्तिम विकल्प हो । यो प्रयोग गर्नुको अर्थ दुवै देशले आफू पनि सिद्धिन तयार हुनुपर्छ ।

दुवै राष्ट्रसँग आणविक हतियारहरु प्रहार गर्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र छन् ।

भारतसँग ९ प्रकारका अपरेसनल मिसाइलहरु छन्, जसमा अग्नि–३ सबैभन्दा खतरनाक हो । वासिङ्टनस्थित सेन्टर फर स्ट्रेटिजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) का अनुसार यो क्षेप्यास्त्रले ३ हजार देखि ५ हजार किलोमिटरसम्म मार हान्न सक्छ ।

पाकिस्तानले चीनको सहयोगमा आफ्नो मिसाइल प्रोग्राम बनाएको छ, जसमा चलायमान छोटो तथा मध्यम दूरीमा प्रहार गर्न सक्ने हतियार छन् । यी हतियारले भारतको कुनै पनि भागमा आक्रमण गर्न सक्ने सीएसआईएसले जनाएको छ । पाकिस्तानको ‘द सासिन २’ ले २ हजार किलोमिटरसम्म प्रहार गर्न सक्छ ।

सन् २०११ मा पाकिस्तानले रणनीतिक आणविक हतियार क्षमता हासिल गरेको पुष्टि गरेको थियो । यसका साथै ५० देखि १०० किलोमिटर क्षमताका मिसाइलहरुले पनि भारतलाई तर्साउन सक्छन् ।

पाकिस्तानसँग १४० देखि १५० वटा न्यूक्लियर वारहेडहरु छन्, जुन भारतसँग १३० देखि १४० वटासम्म छन् ।

न्युक्लियर वारहेडको कुरा गर्दा अमेरिका र रसियाको विश्वमै प्रभुत्व छ । अमेरिकासँग ६ हजार ४ सय ५० र रसियासँग ६ हजार ८ सय ५० आणविक अस्त्र छन् । अर्थात विश्वभर रहेका आणविक अस्त्रमध्ये ९२ प्रतिशत अमेरिका र रसियासँग छन् । त्यसैले यदि भारत–पाकिस्तान युद्ध भयो र त्यसमा अमेरिका–रुसले भारतलाई समर्थन गरेको खण्डमा पाकिस्तान सहजै धराशयी हुन सक्छ ।

आणविक अस्त्रको प्रयोग सम्वन्धमा भारतले एनएफयू (नो फस्र्ट युज) नीति अवलम्वन गरेको छ । अर्थात्, उसले आणविक अस्त्र प्रयोग आक्रमणमा होइन, प्रत्याक्रमणमा मात्र गर्न सक्छ । तर, युद्धमा उत्रिसकेपछि कागजी नीतिको खासै अर्थ भने हुँदैन ।
यो पनि पढ्नुहोस पाकिस्तानी सेनाका प्रवक्ता भन्छन् – हामी जवाफ दिन्छौं, भारत तयार रहोस्

पाकिस्तानको भन्दा थोरै आणविक हतियार भए पनि पाकिस्तानको भूगोल सानो भएकाले सहजै सिध्याउन सकिने भारतीयहरुले सोचेका छन् । अर्कोतर्फ पाकिस्तानले पनि आफ्नो आणविक अस्त्रसँग डराएर भारतले आक्रमण गर्न नसक्ने अनुमान गरेको छ । पाकिस्तानको आणविक अस्त्र प्रयोगसम्वन्धी स्पष्ट नीति छैन ।

भारतले सन् १९७४ मा पहिलोपटक आणविक परीक्षण गरेको हो भने पाकिस्तानले सन् १९९८ मा आएर मात्रै गरेको हो ।

भारतीय मिडियाको प्रोपोगान्डा

आजको विश्वमा मिडिया पनि एउटा ठूलो शक्ति हो । विश्व जनमतलाई प्रभावित बनाउन मिडियाको ठूलो भूमिका हुन्छ ।

मिडियाको कुरा गर्दा पाकिस्तान भारतभन्दा धेरै पछाडि छ । भारतीय मिडिया प्रपोगान्डा फैलाउनमा विश्वमै अगाडि छन् । तिललाई पहाड बनाउने कला उनीहरुलाई राम्रोसँग थाहा छ । ठूला अन्तर्राष्ट्रिय मिडियाहरुमा पनि भारतीय सञ्चारकर्मीहरु राम्रै संख्यामा छन् ।

अहिले भारतीय मिडियाले पाकिस्तानलाई आतंकवादको संरक्षकको रुपमा तीव्र प्रचार गरिरहेका छन् र पाकिस्तानविरुद्ध कडा नीति लिन सरकारलाई उक्साइरहेका छन् । जब कि पलुआमा हमलामा पाकिस्तानी सरकारको संलग्नता देखिँदैन, उसको देशमा क्रियाशील अतिवादी समूहले यसको जिम्मेवारी लिएको छ ।

भारतीय लडाकु विमानले सोमबार राति पाकिस्तानी सीमाक्षेत्रभित्र बमबारी गरेको विषयलाई यति अतिरञ्जित बनाएका छन् कि कुनै पनि तटस्थ व्यक्तिलाई यसले दिक्क लगाउन सक्छ । भारतीय मिडियाको यस्तो प्रचार चलिरहँदा पाकिस्तानी मिडियाको भने विश्वस्तरमा खासै उपस्थिति देखिँदैन ।

भारतीय मिडियाले पाकिस्तानमा घुसेको लडाकू विमानले करिब ३ सय जना आतंककारीलाई मारेको प्रचार गरेका छन् । तर, पाकिस्तानी मिडियाले भने त्यहाँ केही सल्लाका रुखहरु भाँचिएको बाहेक कुनै मानवीय क्षति नपुगेको बताएका छन् ।

भारतको मुस्लिम जनमत

अंग्रेजले सन् १९४७ को अगष्ट १४/१५ मा अंग्रेजले भारत छोड्ने क्रममा पाकिस्तानलाई अलग राष्ट्र बनाइदिएका थिए । मुस्लिम बहुल क्षेत्रहरु पाकिस्तानमा गए भने हिन्दु बहुल क्षेत्र भारतमा ।

तर, हिन्दू बहुल भारतमा अझै पनि उल्लेख्य संख्यामा मुस्लिमहरु छन् । सन् २०११ को जनगणना अनुसार त्यहाँ १७ करोड २० लाख मुस्लिमहरु छन्, जुन कुल जनसंख्याको १४.२ प्रतिशत हो ।

हिन्दू कट्टरपन्थी भारतीय जनता पार्टी सत्तामा आएपछि भारतमा मुस्लिमहरु निकै दबाइएको विपक्षीहरुले गुनासो गर्दै आएका छन् । राष्ट्रियताप्रति उनीहरुको समर्पणमा हिन्दुवादीहरुले शंका गर्ने गर्छन् ।

चलचित्र क्षेत्रका तीन सुपरस्टार आमिर खान, शाहरुख खान र सलमान खान मुस्लिम भएकाले नै बारम्बार राष्ट्रदोहीको आरोप खेप्न बाध्य छन् ।

भारतीय मुस्लिमहरु कुनै हालतमा पनि पाकिस्तानसँग भारतको युद्ध होस भन्ने चाहँदैनन् । किनकि पाकिस्तानीहरु उनीहरुका दाजुभाई हुन् । रगत एउटै हो उनीहरुको । पाकिस्तानसँग भारतको तिक्तता बढ्दै जाँदा भारतमा रहेका मुस्लिमहरु झन् बढी प्रताडित हुने उनीहरुलाई डर छ ।

यदि युद्ध भएको खण्डमा भारतीय मुस्लिमहरुको भूमिका कस्तो हुनेछ भन्ने यसै भन्न सकिँदैन । पाकिस्तानमा भने हिन्दू जनसंख्या अत्यन्त नगण्य छ ।

अन्तर्राष्ट्रिय जनमत

अन्तर्राष्ट्रिय स्तरमा पाकिस्तानको तुलनामा भारतको प्रभाव अत्यधिक छ । बलियो कुटनीति र प्रभावशाली मिडियाको माध्यमबाट भारतले पाकिस्तानलाई आतंकवादलाई प्रश्रय दिने मुलुकका रुपमा अन्तर्राष्ट्रिय स्तरमै बदनाम बनाइरहेको छ ।

विश्व शक्ति राष्ट्र अमेरिकासँग पाकिस्तानको सम्वन्ध त्यति न्यानो छैन । युद्धमा यदि अन्तर्राष्ट्रिय समुदायसमेत मुछिने स्थिति आयो भने अमेरिकाले भारतलाई सघाउने सम्भावना बढी हुन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलेदेखि नै भारत र भारतीयप्रति सद्भाव राख्ने व्यक्ति हुन् । यसैगरी सुरक्षा परिषदका अन्य सदस्य राष्ट्रहरु पनि पाकिस्तानभन्दा भारतसँगै बढी नजिक छन् ।
यो पनि पढ्नुहोस पाकिस्तानले भन्यो : चरमपन्थी मारिएको भारतीय दाबी मनगढन्ते

दक्षिण एशियाको कुरा गर्दा चाहिँ यहाँ भारतविरोधी जनमत कम छैन । भारत पाकिस्तानबीचको टकरावमा दक्षिण एशियाली राष्ट्रहरुको सहानूभुति पाकिस्तानलाई हुनेछ, किनकि यी राष्ट्रहरु भारतको हस्तक्षेपकारी नीतिबाट आजित छन् ।

तर, यस्तो सहानुभूतिले पाकिस्तानलाई खासै सहयोग गर्न सक्दैन किनकि अन्य दक्षिण एसियाली राष्ट्रहरु सामरिक रुपमा कमजोर छन् र पाकिस्तानलाई सघाउने क्षमता राख्दैनन् । त्यसैले पाकिस्तान धेरै हदसम्म चीनसँग निर्भर छ ।

त्यसो त मुस्लिम बहुल राष्ट्रहरु पनि पाकिस्तानको समर्थनमा छन् । केही मुस्लिम राष्ट्रहरु समृद्ध भएकाले पाकिस्तानलाई आर्थिक सहायता प्राप्त हुन सक्छ । तर, सामरिक सहायता भने खासै उनीहरुबाट पाकिस्तानले अपेक्षा गर्न सक्दैन ।

के हो काश्मिर मुद्दा ?


भारत र पाकिस्तानको लामो समयदेखि लफडाको विषय भनेको काश्मिर नै हो । यो विवादित क्षेत्रमा दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् ।

काश्मिर विवाद सन् १९४७ देखिकै हो, जतिबेला भारत र पाकिस्तान अंग्रेजबाट स्वतन्त्र भए । त्यसबेला काश्मिर स्वतन्त्र देशका रुपमा रहेको थियो । राजा हरी सिंहले काश्मिरमा शासन गरिरहेका थिए । उनी हिन्दू राजा थिए । तर, देशको जनसंख्या भने मुस्लिमबाहुल्य थियो ।

सन् १९४७ मा मुस्लिम समुदायले काश्मिरको राजधानी श्रीनगरमा आन्दोलन चर्काए । त्यसपछि राजा हरि सिंह भागेर भारत गए । भारत पुगेर उनले अक्टोबर २६ मा काश्मिरलाई भारतमा गाभ्ने प्रस्तावमा हस्ताक्षर गरिदिए । तर, काश्मिरी जनता भने भारतमा गाभिन तयार थिएनन् । यसरी यो भूभाग आजपर्यन्त भारत र पाकिस्तानबीच कलहको बिउका रुपमा रहेको छ ।
यो पनि पढ्नुहोस भारतले पाकिस्तानमा खसाएको बमले सल्लाको रुख भाँच्यो (४ तस्वीर)

अहिले जम्मु र काश्मिर राज्यको ४३ प्रतिशत क्षेत्रमा भारत शासित छ भने ३७ प्रतिशत क्षेत्र पाकिस्तान शासित छ । बाँकी रहेको २० प्रतिशत आवादीरहित क्षेत्र भने चीनको नियन्त्रणमा छ ।

जम्मु, काश्मिर उपत्यका, लद्दाख र सियाचेन ग्लेसियर भारतको नियन्त्रणमा छन् । यसैगरी आजाद काश्मिर र गिलगित बालिस्तान पाकिस्तानको नियन्त्रणमा छन् ।

काश्मिरको विवादमा भारत र पाकिस्तानले तीनपटक युद्ध लगिसकेका छन् । सन् १९४७, १९६५ र १९९९ मा ती युद्धहरु भएका थिए । यी युद्धमा दुवै तर्फका हजारौंको ज्यान गएको थियो ।

काश्मिरमा भारतले मानवअधिकार उल्लंघन गर्ने र हत्या हिंसालाई बढावा दिने गरेको पाकिस्तानको आरोप छ भने भारतले चाहिँ त्यहाँ पाकिस्तानीहरुबाट आतंकवादी क्रियाकलाप हुने गरेको आरोप लगाउने गरेको छ ।

राजा हरि सिंहले हस्ताक्षर गरिसकेको हुनाले काश्मिर भारतको भूमि भएको भारतीइ दाबी छ भने पाकिस्तानले चाहिँ काश्मिरको भविश्य काश्मिरी जनताले निक्र्यौल गर्ने गरी संयुक्त राष्ट्र संघले निर्णय गरेको हुनाले सोहीअनुसार अघि बढ्नुपर्ने तर्क गर्दै आएको छ ।

अन्ततः करिब ६० वर्ष अघिदेखिको काश्मिर विवाद अहिलेसम्म दक्षिण एशियाको अशान्ति एवं संकटको कारक तत्व बन्दै आइरहेको छ । र, अहिले भारत र पाकिस्तानवीच बढेको तनावको जड पनि यही काश्मिर विवाद नै हो ।

 एजेन्सीको सहयोगमा

यो पनि पढ्नुस्

पाकिस्तानी सेनाका प्रवक्ता भन्छन् – हामी जवाफ दिन्छौं, भारत तयार रहोस्

पाकिस्तानले भन्यो : चरमपन्थी मारिएको भारतीय दाबी मनगढन्ते

बालाकोट आक्रमण: जैश–ए–मोहम्मदका वरिष्ठ कमाण्डर मारिएको भारतको दाबी

भारतले पाकिस्तानमा खसाएको बमले सल्लाको रुख भाँच्यो ! (४ तस्वीर)

पाकिस्तानी क्षेत्रमा बम खसालेर भाग्यो भारतीय लडाकु विमान

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment