Comments Add Comment

पाकिस्तानले भन्यो : चरमपन्थी मारिएको भारतीय दाबी मनगढन्ते

'अनावश्यक आक्रमण'को जवाफ दिन्छौं'

१४ फागुन, काठमाडौं । मंगलबार विहान भएको आक्रमणमा ठूलो संख्यामा चरमपन्थी मारिएको भारतीय दाबीलाई पाकिस्तानले ठाडै अस्वीकार गरेको छ ।

भारतीय वायुसेनाले भारत-पाकिस्तान नियन्त्रण रेखा (एलओसी) पार गर्दै गरेको बम हमलाले आफ्नो देशको सम्प्रभुता उल्लंघन गरेको पाकिस्तानको ठहर छ । साथै उसको आफ्नो रोजाईको स्थान र समयमा जवाफ दिइने समेत बताएको छ ।

भारतीय वायुसेनाले मंगलबार विहान(एलओसी) पार गर्दै बालाकोट नजिकै बम खसालेको थियो ।

सुरुमा पाकिस्तानी सेनाले यसबारे सूचना दिएको थियो । उसको दाबी छ कि भारतीय वायुसेनाले घुसपैठ गर्न खोजेपछि पाकिस्तानी सेनाले जवाफी कारबाही गरेको थियो र भागने क्रममा केही बम खसाले पनि कुनै क्षती भएन ।

तर, भारत सरकारले पाकिस्तानी भूमिमा रहेको आतंकवादी संगठन जैश-ए-मोहम्मदको अखडामा आक्रमण गरेको र थुप्रै चरमपन्थी मारिएको दाबी गरेको छ ।

घटनालाई लिएर पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको छ । बैठकपछि जारी बयानमा भारतको दाबी खारेज गर्दै भनिएको छ, ‘हामी भारतको बालाकोट नजिकै कथित आतंकी शिविर नष्ट गरेको र ठूलो मानवीय क्षति भएको दाबी खारेज गर्छौं ।’

यसको पुष्टि गराउन पाकिस्तान सरकारले स्थानीय र अन्तराष्ट्रिय सञ्चार माध्यमलाई घटनास्थलमा लैजाँदैछ ।

साथै भारतीय ‘अनावश्यक आक्रमण’को जवाफ आफ्नो रोजाईको स्थान र समयमा दिने बताएको छ ।

बैठकपछि विदेशमन्त्री शाह मोमम्मद कुरैशीले भनेका छन्, ‘एक पटक फेरि भारत सरकारले आफ्नो उद्देश्य पुरा गर्न अविश्वसनीय र मनगढंते दाबी गरेको छ । यो आफ्नो घरेलु आवश्यकता पुरा गर्न गरिएको हो किनकी माहौल चुनावको छ र यसका लागि क्षेत्रीय सुरक्षा र स्थिरतालाई गम्भीर खतरामा राखिएको छ ।’

प्रधानमन्त्री खानले पाकिस्तानी सेनाको सबै अंग र आम नागरिकलाई कुनै पनि स्थितिका लागि तयार रहन भनेका छन् । त्यहाँका विदेशमन्त्री कुरैशीले भनेका छन्, ‘यो पाकिस्तानविरुद्धको आक्रमण हो र पाकिस्तानले जवाफ दिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment