+
+
Shares
नवनियुक्त सञ्चारमन्त्रीसँग वार्ता :

‘सरकारले चुनावका लागि दल र सरोकारवालासँग समन्वयात्मक ढंगले काम गर्छ’

‘संरचनागत रूपमा जहाँ जहाँ समस्याहरू छन् त्यसलाई मिलाउने र समन्वय, सहकार्य गर्ने वातावरण बनाउने काम सरकारको हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते २२:४३

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन् । सरकारको मुख्य सूचना संयन्त्र परिचालन गर्ने मन्त्रालयको जिम्मेवारी पाएका उनीसँग अनलाइनखबरले गरेको कुराकानी :

जटिल परिस्थितिमा सरकार बनेको छ । यो सरकारमा मन्त्रीको रूपमा आउनुभएको छ । अब तपाईंले आफूलाई कुन भूमिकामा कसरी प्रस्तुत गर्नुहुन्छ ?

मैले जिम्मेवारी प्राप्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हो । यो जिम्मेवारी सरकारले गरेका काम र जनताबीच ब्रिजिङ गर्ने पनि हो ।

पछिल्लो आन्दोलन सामाजिक सञ्जाल बन्द भएका कारण आएको हो । सूचना प्रविधिमा भइरहेको विकास र जनताको भावना नबुझ्दा यो स्थिति आएको हो ।

त्यसैले सूचना प्रविधि मन्त्रालयले यो परिवर्तनलाई बुझेर समग्र राज्य सञ्चालनका संयन्त्रलाई संवेदनशील र जिम्मेवारपूर्ण बनाउनका लागि पनि काम गर्नुपर्नेछ ।

यो सरकारको मुख्य निर्वाचन गर्ने हो । चुनाव गराउने प्रयोजनका लागि सरकार कसरी अघि बढ्छ ?

फागुन २१ गतेको मिति तोकिइसकेको छ । सरकारको पहिलो दायित्व समयभित्र चुनाव गराउने हो । त्यो चुनाव गराउनका लागि सरकारले यो सँग सम्बन्धित राख्ने जति पनि सरोकारवाला निकाय र एजेन्सी वा राजनीतिक दल छन् तीनसँग समन्वयात्मक ढंगले काम गर्नेछ । चुनावलाई सहज सम्पन्न गराउन नीतिगत रूपमा जहाँ-जहाँ अड्चन र गाँठाहरू छन् त्यो फुकाउँछ ।

संरचनागत रूपमा जहाँ जहाँ समस्याहरू छन् त्यसलाई मिलाउने र समन्वय, सहकार्य गर्ने वातावरण बनाउने काम सरकारको हो ।

निर्वाचनको माहोल तयार गर्नका लागि सबै पक्षसँग वार्ता गरेर चुनावलाई निष्पक्ष,स्वतन्त्र र धाँधलीरहित बनाउने कुरामा सरकारको प्राथमिकता रहन्छ ।

यो सरकारको काम चुनाव गराउने बाहेक आन्दोलनको छानबिन गर्नुपर्ने छ । दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेछ । अर्कोतिर जेनजी आन्दोनलमा सुशासन र भ्रष्टाचार नियन्त्रणको माग उठेको छ ।

भ्रष्टाचार नियन्त्रणको काम पूरा नभएपनि केही न केही रूपमा सरकारले काम गर्नुपर्ने अवस्था छ । सुरुवात गर्नुपर्ने अवस्था छ । त्यो बाटोमा सरकार अघि बढ्छ ।

चुनावका लागि राजनीतिक दलहरूसँग सरकारले कसरी संवाद अघि बढाउँछ ?

प्रधानमन्त्री ज्यूले पनि चुनाव गराउने र सम्बद्ध सबै पक्षहरूसँग वार्ता संवाद गरेर जाने भन्नु भएकै छ । चुनावको वातावरण बनाउने काम सरकारको हो । चुनाव गराउने काम निर्वाचन आयोगको हो । राजनीतिक दलहरूका लागि चुनाव समयमा हुने कुरा महत्त्वपूर्ण हो ।

राजनीतिक दलहरूले चाहिँ फागुन २१ गते तोकिएको मितिप्रति तयार छौं भन्नुभएको छ । सकारात्मक कुरा गर्नुभएको छ । राजनीतिक वृत्तमा चुनावलाई नमान्ने भन्ने कुरा कहिँबाट आएको छैन ।

चु्नावप्रति सरकारको र राजनीतिक दल र सबै निकाय तयार हुँदै गएका छन् । अरु त्यस्ता जटिलता र समस्याहरू आउँछन् भन्ने लाग्दैन । सहज रुपमा अगाडि बढ्छ ।

निर्वाचनका लागि वातावरण बनाउन सरकारको तर्फबाट गर्नुपर्ने जे काम छन् त्यो हुन्छ नै किनकी यो सरकारको मुख्य म्यान्डेट नै चुनाव हो ।

अब प्रविधिलाई राज्य संयन्त्रसँग जोड्ने गरी कसरी काम गर्ने सोच्नुभएको छ ?

मैले मन्त्रालयमा सम्बोधन गर्ने क्रममा पनि यो कु्रालाई प्राथमकितामा राखेको छु । सूचना प्रविधिलाई कसरी दैनिक जीवन र सरकारका कामकारबाहीमा जोड्न सकिन्छ भन्ने कुरामा थप स्पष्टता चाहिन्छ ।

आजसम्म ८ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । तर जेनजी युवाहरू त कोही पनि मन्त्री बन्न सकेनन् नी किन ?

प्रधानमन्त्रीज्यू र हामी मन्त्रीहरूलाई जेनजी पुस्ताले नै प्रस्ताव गरेको हो । हामी उनीहरूको भावना अनुसार अघि बढ्छौं । कतिपय समावेशी र प्रतिनिधित्वका कुरा छन् । यसमा पनि हेर्नुपर्नेछ । प्रधानमन्त्रीज्यूले यो कुरालई गम्भिरतापूर्वक लिएरै काम गरिराख्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?