Comments Add Comment

प्रधानमन्त्री नआएपछि मुख्यमन्त्री राउतले गरे महायज्ञको समापन

२२ फागुन, वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओली नआएपछि वीरगञ्जमा सञ्चालित गायत्री अश्वमेध महायज्ञको समापन प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले गरेका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री अस्पताल भर्ना भएपछि वीरगञ्ज भ्रमण रद्द भएको थियो ।

महायज्ञ आयोजक समितिका अध्यक्ष डा उपेन्द्र महतोले प्रधानमन्त्री ओलीले पठाएको सन्देश पढेर सुनाएका थिए । महायज्ञले विश्वमा शान्ति र समाझदारीको भाव फैलाओस् भन्ने कामना प्रधानमन्त्रीले आफ्नो सन्देशमा गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले भौतिकवाद र सम्पत्ति मोहमा रहेको पुरै विश्वलाई महायज्ञले मानवताको सन्देश दिने दावी गरे ।

‘पुरै दुनियामा भौतिकवादमा डुबेको छ । धन प्राप्तिमा लागेको छ । मानवता र अध्यात्मिकताको कमी देखिएको छ । एक राष्ट्र अर्को राष्ट्रलाई, एउटा जातीय समुदायलाई, एउटा कम्पनीले अर्को कम्पनीलाई कसरी खत्तम गर्ने भनेर लागेको छ’ उनले भने ‘यस्तो अवस्थामा पुरै दुनिया र मुलुकमा अमन चयन शान्ति होस, मानवका लागि सेवा गर्नुपर्छ । मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो भनेर महायज्ञ आयोजना गरिएको छ । यो पक्कै पनि फलदायी हुनेछ ।’

त्यसअघि देव संस्कृत विश्व विद्यालय हरिद्वारका उपकुलपति चुनमय पाड्याले प्रवचन दिँदै सृष्टिलाई जब जब आवश्यकता पर्छ अश्वमेध यज्ञ हुने गरेको बताए । उनलाई नेपाली टोपी र रुद्राक्षको माला लगाएर विदाइ गरिएको थियो ।

गायत्री महायज्ञमा ४० देशबाट ५ लाख भक्तजन आउने भनिए पनि मौसममा आएको खराबीका कारण भारतबाट खासै भक्तजन आउन नसकेको मेला आयोजक समितिका संयोजक एवं वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । महायज्ञमा २ करोड खर्च लाग्ने अनुमान शुरुमा गरिएको भएपनि खर्च बढ्न सक्ने अनुमान आयोजक समितिले गरेको छ ।

महायज्ञ अवधीभर वीरगञ्जमा मदिरा, माछा मासु किनबेच गर्न, खान प्रतिबन्ध लगाइएको थियो भने महानगरपालिकाका सम्पूर्ण विद्यालय समेत बन्द गरिएको थियो । महायज्ञ समापनको पूर्व संन्ध्यामा मंगलबार बेलुका १ लाख १ द्विप प्रज्वलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment