Comments Add Comment

प्रदेश ५ सरकारले ‘लुम्बिनी भ्रमण वर्ष’ घोषणा गर्दै

२० लाख पर्यटक भित्र्याउने लक्ष्य

Photo Credit : टोपराज शर्मा/अनलाइनखबर

२४ फागुन, बुटवल । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित प्रदेश ५ सरकारले आउँदो नयाँ वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउँदैछ ।

विश्व शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन र संघीय सरकारको नेपाल भ्रमण वर्षलाई टेवा पुर्‍याउने उद्देश्यले प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै लुम्बिनी भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो ।
लुम्बिनी भ्रमण वर्ष कार्यक्रमलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेसँगै तयारीका काम थालिएका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनी र यससंग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह -पण्डितपुर), रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, अनोमा नदी, लगायतका क्षेत्रहरुलाई समेट्ने गरी भ्रमण वर्ष मनाउने कार्यक्रम तय भएको छ ।

भ्रमण वर्ष अवधिमा सभा, समारोह, उत्सव, पूजाआजा, लुम्बिनी र बुद्धको प्रचार प्रसार,सरसफाई तथा सौन्दर्यीकरण, खेलकुद, साहित्य, संस्कृति, अन्तर्राष्ट्रियस्तरको बौद्धदर्शन र लुम्बिनीका बारेमा कार्यपत्र प्रस्तुतिलगायतका कार्यक्रमहरु आयोजना गरिँदैछन् ।

सरकारले बुद्धकालीन घटनाक्रमहरु, संस्कृति र सभ्यताहरु, मान्यताहरुलाई समेत भ्रमण वर्षमा कार्यक्रमका रुपमा प्रस्तुत गर्ने योजना बनाएको छ ।

गौतमबुद्धको जीवनसंग पूणिर्मा तिथिको सम्बन्ध रहेकाले लुम्बिनी भ्रमण वर्ष कार्यक्रमको शुभारम्भ २०७६ बैशाख पूणिर्मामा गरिने छ भने २०७६ चैत पूणिर्मामा समापन गरिने छ ।

अन्य मुख्य मुख्य कार्यक्रमहरु पनि पूणिर्माकै दिन संचालन गरिनेछ । भ्रमण वर्ष सम्पन्न गर्न ४ करोड १९ लाख ६० हजार रुपैयां वजेट खर्च गरिँदैछ ।

कूल वजेट मध्ये चालु आर्थिक वर्षमा २ करोड २७ लाख ९० हजार र अर्को वर्ष १ करोड ९१ लाख ७० हजार खर्च गरिने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बताए ।

भ्रमण वर्ष मनाउन मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा मूल समिति र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको संयोजकत्वमा कार्यकारी समिति बनाइने छ ।

भ्रमण वर्षमा गौतमबुद्धको जीवनसंग सम्बन्धित सडक प्रदर्शनी (रोड शो), होटेल तथा पर्यटन व्यवसायीमार्फत सातवटै प्रदेश र भारतको कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्र भारतको सुनौलीमा समेत भ्रमण वर्षको प्रचारप्रसार गरिने मन्त्री गिरी बताउंछन् ।

भ्रमण वर्षको वजेट व्यवस्था आर्थिक मामिला तथा योजना मन्त्रालयबाट हुने छ । भ्रमण वर्ष कार्यक्रममा लुम्बिनी विकास कोष, रुपन्देही, नवलपरासी र कपिलवस्तुका जिल्ला समन्वय समिति तथा बुद्ध सर्किट जोडिएका स्थानीय तहहरुले सहकार्य गर्नेछन् । यस्तै पर्यटन व्यवसायी लगायत नीजि क्षेत्रले पनि सहकार्य गर्नेछन् ।

कुन कार्यक्रममा कति खर्च हुँदैछ ?

भ्रमण वर्ष कार्यक्रम उद्घाटनमा ७० लाख रुपैयाँ खर्च हुने छ । उद्घाटनलाई तामझामका साथ गर्ने तयारी भएको मन्त्री गिरी बताउँछन् ।

हाल १२ लाख ५० हजार स्वदेशी, १ लाख ६१ हजार भारतीय र १ लाख ५१ हजार जना पर्यटक तेस्रो मुलुकका ८७ वटा देशबाट गरी कूल १५ लाख ६२ हजार पर्यटक अघिल्लो वर्ष लुम्बिनी भ्रमणमा आएका थिए ।

यो संख्या बढाएर २० लाख बढी पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य भएकाले उद्घाटनलाई अलि प्रचारमुखी र तामझामका साथ गर्ने तयारीमा मन्त्रालय जुटेको मन्त्री गिरीले प्रष्ट पारे ।

अर्को वर्ष हुने समापन समारोहका लागि सरकारले १५ लाख रुपैया वजेट अनुमान गरेको छ । भ्रमण वर्षको नयाँ कार्यक्रमका रुपमा मायादेवी प्रसुति मार्ग (लुम्बिनी-तिलौराकोट) घोषणा तथा प्रसुति उत्सव मनाउन चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ छुट्टाइएको छ ।

यस्तै लुम्बिनी फुड फेस्टिबलका ८ लाख, सुजाता खीर उत्सवका लागि ५ लाख, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलनका लागि चालु आििर्थक वर्षमा ४ लाख र अर्को वर्ष ८ लाख रुपैयां खर्च छुट्टाइएको छ । मासिक फूल मून डे उत्सवका लागि यो वर्ष ३ लाख र अर्को वषर्ा ९ लाख खर्च गरिने छ ।

धार्मिक यात्रा, त्रिपिटक वाचन, पूजाआजामा ४ लाख, योग तथा ध्यान शिविरमा ५ लाख खर्च गरिंदैछ । स्वागत गेट, जाति विशेष झाँकी र वत्ती जडानमा १५ लाख खर्च हुने छ ।

प्रचारप्रसारमा एक करोड २५ लाख

प्रचारप्रसारमा एक करोड २५ लाख वजेट खर्च गर्ने सरकारको तयारी छ । ब्राण्डिंग, लोगो, जिंगल, वेबपेजमा ६ लाख,सञ्चार माध्यमहरुमा प्रचारप्रसार गर्न ३५ लाख रुपैयाँ खर्च हुँदैछ ।

जसमध्ये यो वर्ष २० लाख र अर्को वर्ष १५ लाख खर्च हुनेछ । भ्रमण वर्षको ब्रोसर छपाईमा २० लाख रुपैयां, बुद्ध सर्किट सूचना बोर्ड तथा होर्डिंग बोर्डमा १० लाख, सडक प्रदर्शनी (रोड शो) मा २२ लाख ५० हजार, टिसर्ट, क्याप वितरणमा १० लाख रुपैयां खर्च हुँदैछ ।

यस्तै सय फुट अग्लो राष्टिय झण्डा निर्माण तथा व्यवस्थापनमा १० लाख ५० हजार, स्टिकर छापेर वितरणमा ५ लाख, प्रदेश भित्रका उत्पादनको विक्रि कक्ष व्यवस्थापनमा ६ लाख खर्च हुने छ ।

बुद्ध सर्किटका विभिन्न स्थानहरुमा सरसफाई गर्न १५ लाख, लुम्बिनी प्रवेश नाकामा सरसफाई गर्न १० लाख, डस्टवीन खरिद तथा व्यवस्थापनमा ५ लाख तथा बेलहियादेखि भैरहवासम्म दीपमाला जडान तथा व्यवस्थापनमा १० लाख रुपैयां खर्च लाग्ने मन्त्रालयले जनाएको छ ।

लुम्बिनी पीस म्याराथुन गर्न ५ लाख, बुद्ध दर्शन र शान्ति विषयक निवन्ध प्रतियोगिता गर्न ३ लाख, साहित्यीक गोष्ठीमा ५ लाख र विश्व शान्ति सुमधुर साँझका लागि ४ लाख खर्च हुने भनिएको छ ।

पर्यटक गाइड स्वयंसेवक तालिममा १० लाख, अन्तर्राष्टियस्तरको वौद्ध दर्शन र लुम्बिनीका बारेमा कार्यपत्र प्रस्तुतिमा २० लाख, मूल समारोह समितिलाई ६ लाख र कार्यकारी समितिलाई ५ लाख ६० हजार वजेट छुट्टाइएको छ ।

यस्तै उपसमितिलाई ५ लाख र सचिवालयलाई २० लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले पर्यटनलाई प्रदेशको दीर्घकालीन समृद्धिको आधार मानेको छ ।

लुम्बिनी भ्रमण वर्षले लुम्बिनीको प्रचार अन्तर्राष्टिय जगतमा फैलिने र आन्तरिक तथा बाहृय पर्यटकको आगमन बढ्नुका साथै पर्यटकको बसाई समेत लम्बिने प्रदेश सरकारको आशा छ ।

भ्रमण वर्ष कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सचिवालय रहने र त्यहाँ तीनजना शाखा अधिकृतसहित लेखा अधिकृत, चालक, कार्यालय सहयोगी लगायतका कर्मचारी व्यवस्थापन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment