Comments Add Comment

सिके राउतको दाबी : मधेसमा जनमतसंग्रह गराउन सरकार सहमत !

‘अधिकारका लागि लडेका हौं, एउटा समृद्ध देश बनाउन चाहन्छौं’

२४ फागुन, काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर सरकारसँग ११ बुँदे सम्झौतामा हस्ताक्षर गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले मधेसमा जनमत संग्रह गराउन राज्य पक्ष सहमत भएको दाबी गरेका छन् ।

डा. राउतले स्वतन्त्र मधेसको मुद्दामा सरकारले जनमत संग्रह गराउने सहमति जनाएको दाबी गरेका हुन् ।

गृहमन्त्री रामबहादुर थापा बादलसँग संयुक्त हस्ताक्षर गरेका डा. राउतले आफ्नो फेसबुक स्टाटसमा ‘जनमतसंग्रह गराउन सरकार सहमत’ शीर्षकमा यस्तो लेखेका छन्– ‘नेपाल सरकार र स्वतन्त्र मधेस गठबन्धनसँग भएको वार्तामा नेपाल सरकार मधेसको माग जन अभिमतमा आधारित लोकतान्त्रिक विधि (जनमत संग्रह) को मार्फत पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।’

गृहमन्त्रालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा पृथकतावादी आन्दोलन छाडेको कुनै घोषणा नगरेका डा. राउतले फेसबुकमा  लेखेका छन्, ‘स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लागेका सबै मुद्दाहरु फिर्ता हुने भएको छ । साथै स्वतन्त्र मधेस गठबन्धनले आफ्नो कार्यालय विभिन्न जिल्लामा खोलेर खुल्ला रुपले राजनीति गर्ने भएको छ ।’


‘अधिकारका लागि लडेका हौं’

गृहमन्त्रालयले सभागृहमा आयोजना गरेको कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा डा. राउतले विगतको पृथकतावादी आन्दोलन छाडेको घोषणा गरेनन् । उनले विगतको आफ्नो आन्दोलनलाई ‘अधिकारको लडाइँ’ को संज्ञा दिए । र, आफूले राख्दै आएको जनमत संग्रहको मागप्रति राज्यले सहमति जनाएर हस्ताक्षर गरेकाले अब त्यो अधिकरको लडाइँ शान्तिपूर्णरुपमै पूरा हुने राउतले दाबी गरे ।

डा. राउतले ११ बुँदे सहमतिको दोस्रो बुँदाको व्याख्या गर्दै अब आफ्ना मागहरुको समाधान जनमत संग्रहबाटै गर्नका लागि राज्य तयार रहेको दाबी गरे । उनले आफ्नो भाषणमा नेपाल राष्ट्रको अखण्डताप्रति कुनै प्रतिवद्धता जनाएनन् । आफूहरुले समृद्ध देश बनाउन चाहेको बताए ।

डा. राउतले आफ्नो भाषणमा भने– ‘वार्तामा राज्य पक्षले पनि स्वीकार गरेको अवस्था छ कि जन अभिमतमा आधारित लोकतान्त्रिक व्यवस्थाद्वारा समस्याको निवारण गर्ने । हाम्रो माग पनि त्यही हुँदै आएको छ । हाम्रो मागभन्दा यो फरक होइन । हाम्रो नारा नै के थियो भन्दाखेरि अब कि बार एक ही माग जनमत संग्रह का ।’

सिके राउतले आफ्नो विगतको आन्दोलन ‘अधिकार प्राप्तिको आन्दोलन’ भएको दाबी गर्दै अगाडि भने– ‘हाम्रो आन्दोलन चलिराख्दाखेरि विभिन्न किसिमका भ्रमहरु सिर्जना नगरिएको होइन । कहिले हामीलाई घृणाको पात्रका रुपमा देखाउने कार्य भयो भने कहिले समुदाय–समुदायको वीचमा लडाउने कार्य पनि यहाँ भयो । तर, हामीले पटक–पटक भन्यौं, हाम्रो संघर्ष भनेको आफ्नो अधिकारका लागि हो, कुनै समुदायको विरोधमा हुँदै होइन । हामीले पटक–पटक आफ्नो विचारबाट, लेखाइबाट, आफ्ना प्रेस विज्ञप्तिहरुबाट प्रष्ट गरिराखेका छौं र गर्दै आएका छौं ।’

राज्य पक्षले जनतामा निहित रहेको सम्प्रभुतालाई स्वीकार्दै आफूहरुलाई स्पेस दिएको डा.राउतको विश्लेषण छ । उनले भनेका छन्– ‘नेपाली जनतामा रहेको सार्वभौम सत्तालाई स्वीकार्दै, यही वार्ताको पोइन्ट नम्बर २ मा उहाँहरुले स्वीकार गर्दै हामीलाई राजनीतिक स्पेस दिनुभएको छ । जे चाहिन्छ, त्यो जनमतबाटै जनताले लिए हुन्छ ।’

‘एउटा समृद्ध देश बनाउन चाहन्छौं’

डा. राउतले एउटा समृद्ध देश बनाउने बताउँदै अगाडि भनेका छन्, ‘हामी भन्न चाहन्छौं, हामीचाहिँ सकारात्मक दिशातिर, एउटा सुखद गन्तव्यतिरको यात्रा प्रारम्भ गरिसकेका छौं । सबैलाई म के आग्रह गर्न चाहन्छु भने यसलाई सकारात्मक रुपमा लिएर हामी अगाडि बढौं । हामी सबै पक्षसँग सकारात्मक कुराका लागि सहकार्य गर्नका लागि हामी तयार छौं । हामी एउटा समृद्ध देश बनाउनेतिर, विकसित देश बनाउनेतिर सबै जनताको शुख र समृद्धिका लागि अगाडि बढौं ।’

‘समृद्ध देश’ बनाउने आफ्नो अभियानलाई साथ दिन डा. राउनले आग्रह गरे । उनले भने, ‘यसका लागि सबैको साथको आवश्यकता छ । तपाईहरु सबैले हामीलाई यस सकारात्मक अभियानमा साथ दिनुहुनेछ भन्ने पूरा भरोसाका साथ यी भनाइ राख्छु ।’

डा. राउतले आफ्नो भाषणमा विगतको ‘आस्था’ प्रति अडिग हुँदै भनेका छन्, ‘आज हामी यो मोडमा आइपुगेका छौं । यसका लागि म आफ्ना समर्थकहरुलई, तराईका जनताहरुलाई पनि धेरै धन्यवाद दिन चाहन्छु । ठोस आस्थाका साथ, ठोस धैर्यका साथ, उनीहरुले यो आन्दोलनलाई निरन्तरता दिए । र, यो शान्तिपूर्णरुपमै सम्पन्न हुँदैछ, अवतरण हुँदैछ । यसका लागि हाम्रा कार्यकर्ताहरु उत्तिकै धन्यवादका पात्र छन् ।’

डा. राउतले यहाँ समुदाय–समुदायवीचमा लडाउनेहरुलाई कुनै स्थान नदिने तर अधिकार प्राप्तिको लडाइमा अघि बढ्ने बताउँदै भने, ‘यो कुनै समुदाय र वर्गको विरोधमा हाम्रो आन्दोलन उठेकै होइन । हाम्रो अधिकारका लागि हो । हाम्रो समृद्धिको लागि हो । हाम्रो सुखका लागि हो । हामीले फूल आन्दोलन चलायौं । शान्तिपूर्ण आन्दोलनलाई हामीले अगाडि बढायौं र यहाँ निकाससम्म दिने मोडमा हामी आइपुगेका छौं ।’

अब जनमत संग्रहबाटै शान्तिपूर्ण रुपमा अधिकार लिइने बताउँदै राउतले भाषणमा भने,‘ म समस्त जनतालाई, पूरै देशका जनतालाई के भन्न चाहन्छु भन्दाखेरि अब हामीले हिंसात्मक युद्धहरु गरेर, हिंसात्मक आन्दोलनहरु गरेर समय खेर फाल्ने बेला अब छैन । जनता त सार्वभौमसत्ता सम्पन्न छँदैछन् । जनताले चाहे भने जे पनि उनीहरुले हासिल गर्न सक्छन् । यसका लागि संविधानमा नै पृष्ठभूमि तयार भएको छ । वार्तामार्फत पनि राज्यले प्रतिवद्धता दोहोर्याएको छ । अब त्यो जनमत प्रयोग गर्ने काम जनताको हो । त्यो प्रयोग गरेर आफ्नो अधिकार हासिल गर्ने बाटोमा अब सबै अधिकार, सबै शक्ति जनताको हातमा आएको छ ।’

डा. राउतले थपे, ‘अब जे हासिल गर्नु छ, जसो हासिल गर्नु छ, जस्तो व्यवस्था ल्याउनु छ, जनताले आफ्नो अधिकार प्रयोग गरुन्, आफ्नो मताधिकार प्रयोग गरुन् । आफ्नो जन अभिमत प्रकट गरुन् र उनीहरुले आफ्नो कुरा शान्तिपूर्ण तरिकाबाट नै हासिल गरुन् । र, समस्त देशको विकास, हित, समृद्धि र सुखका लागि अब त्यो हासिल गर्नेबेला आएको छ ।’

सरकारले सिके राउतका विगतका किताब र दस्तावेजहरु प्रचार नगर्ने भनिरहेका बेला डा. राउतले विगतको पृथकतावादी आन्दोलनको बचाउ गर्दै आफ्नो भाषणमा यसो भने, ‘हाम्रो आन्दोलन चलिराख्दाखेरि विभिन्न किसिमका भ्रमहरु सिर्जना नगरिएको होइन । कहिले हामीलाई घृणाको पात्राका रुपमा देखाउने कार्य भयो भने कहिले समुदाय समुदायको वीचमा लडाउने कार्य पनि यहाँ भयो । तर, हामीले पटक–पटक भन्यौं, हाम्रो संघर्ष भनेको आफ्नो अधिकारका लागि हो, कुनै समुदायको विरोधमा हुँदै होइन । हामीले पटक–पटक आफ्नो विचारबाट, लेखाइबाट, आफ्ना प्रेस विज्ञप्तिहरुबाट प्रष्ट गरिराखेका छौं । र, गर्दै आएका छौं ।’

उनले भने, ‘अब यहाँ समुदाय– समुदायवीचमा लडाउनेहरुलाई हामी कुनै स्थान नदिऔं । यो कुनै समुदाय र वर्गको विरोधमा हाम्रो आन्दोलन उठेकै होइन । हाम्रो अधिकारको लागि हो, हाम्रो समृद्धिका लागि हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment