Comments Add Comment

विदेसिने कामदार ४० प्रतिशतले घटे

रेमिट्यान्स ३० प्रतिशतले बढ्यो

२४ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०७५/७६को पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.८ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत(नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा गत वर्षकोभन्दा ठूलो गिरावट आएको छ । नेपालीको प्रमुख श्रम गन्तब्य मलोसियाको रोजगारी आर्थिक वर्षको सुरुआतबाटै बन्द छ । यसैका कारण विदेशिने नेपाली कामदारको संख्यामा उच्च गिरावट आएको हो ।

मलेसियामा कामदार लैजाने गरी श्रम समझदारी भएपनि प्रक्रियाबारे कुरा नमिल्दा मलेसियामा नेपाली कामदारको आपूर्ति ठप्प छ । श्रम तथा रोजगार मन्त्रालयले पुरानो संयन्त्रबाट कामदार लैजान नदिने अडान लिएपछि नयाँ कामदार मलेसिया जाने बाटो बन्द छ ।

तर, मलेसियाबाहेक अन्य देश जाने नेपालीको संख्यामा पनि गत वर्षभन्दा केही कमी आएको छ ।

साउनबाट पुससम्म पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ ।

तर, यसै अवधिमा विप्रेषण -रेमिट्यान्स) आप्रवाह ३०.२ प्रतिशतले वृद्धि भएको छ । ६ महिनामा ४ खर्ब ४३ अर्ब ३६ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २८.७ प्रतिशतले वृद्धि भई ५ खर्ब ५ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १.८ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment