
२६ फागुन, विराटनगर । मोरङ बेलबारीकी २६ वर्षीया युवतीको हत्या आरोपमा नेकपा मोरङका नेता योगेन्द्र गुरुङलाई पक्राउ परेका छन् ।
बेलवारी नगरपालिका-४ की रमिला राईको हत्या गरी शव बेपत्ता बनाएको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । राई फागुन १८ गते शुक्रबारदेखि हराएको सूचना पाएको प्रहरीले गुरुङलाई इलामबाट पक्राउ गरेको थियो ।
राईको हत्या गरी शव सप्तकोशीमा फालेको खुलेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । पक्राउ परेका गुरुङले युवतीलाई कोठामै हत्या गरी गाडीमा शव लगेर सप्तकोशीमा फालेको स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ ।

शुक्रबार भेटका क्रममा विवाद भएपछि गुरुङले हत्या गरी शव सप्तकोशीमा फालेको प्रहरीले बताएको छ ।
उनको बयानअनुसार शप्तकोशीमा शव खोज्न इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईको टोली परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले गुरुङ पक्राउ परेपछि केही बिषय बाहिर आएको र प्रमाण संकलनको काम भइरहेको बताए । ‘महिलासँग अन्तिम समयमा भेट भएका आधारमा गुरुङलाई पक्राउ गरिएको हो’ केसीले भने, ‘गुरुङविरुद्ध महिलाका आफन्तको जाहेरी पनि परेको छ ।’
तत्कालीन एमालेका पूर्व बेलवारी अध्यक्ष गुरुङ महिलासँग प्रेम सम्बन्धमा रहेको प्रहरी स्रोतले बताएको छ । गुरुङकी श्रीमती भने काठमाडौं बस्दै आएकी छन् ।
प्रतिक्रिया 4