Comments Add Comment

आर्मीद्वारा झापा गोल्डकपको उपाधि रक्षा

२७ फागुन, भद्रपुर । त्रिभुवन आर्मी क्लबले झापा गोल्डकपको उपाधि रक्षा गरेको छ । सोमबार भएको फाइनल भिडन्तमा आयोजक झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उसले १२ लाख ५५ हजार हात पारेको छ । उपविजेता झापाले छ लाख पाँच हजारमा चित्त बुझाएको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आर्मीले २४ मिनेटमा सन्तोष तामाङको ‘फ्री किक’ गोलबाट अग्रता लिएको थियो । उनले व्यक्तिगत दुई गोल गरे । आर्मीको जीतका लागि क्याप्टेन भरत खवास, टेकबहादुर बुढाथोकी र नवयुग श्रेष्ठले गोल गरेका हुन् ।

झापाका लागि योगेश गुरुङ, विदेशी खेलाडी फान्सिस र भिक्टोरले गोल गरे ।

आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो । झापा ११ भने चौथो पटक फाइनलमा पुगे पनि हालसम्म उपाधि रक्षा गर्न सकेन ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’का रुपमा झापाका दिलेन लोक्ताम घोषित भए । उनले एक थान मोटरसाइकल प्राप्त गरेका छन् ।

‘बेस्ट डिफेन्स’ झापाकै देवेन्द्र तामाङले २१ हजार, ‘राइजिड प्लेयर’ निशान्त खड्काले १५ हजार, ‘बेस्ट कोच’ आर्मीका चुनबहादुर थापाले २१ हजार, ‘बेस्ट किपर’ विकेश कुथुले २१ हजार र ‘म्यान अफ दी म्याच’आर्मीका सन्तोष तामाङले नगद १५ हजार पाए ।

त्यस्तै सर्वाधिक गोलकर्ता आर्मीका नवयुग श्रेष्ठले तीन गोल गर्दै नगद २१ हजार पाउन सफल भए । ‘बेस्ट मिडफल्डर’ झापाका पुजन उपरकोटी घोषित हुँदै नगद २१ हजार पाउन सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment