Comments Add Comment

स्थानीय तहको गाडी मोह : डेढ वर्षमा ११ करोड खर्च

गाडी खरिदमा नगरपालिकाभन्दा गाउँपालिका अगाडि

Photo Credit : प्रतीकात्मक तस्वीर

२८ फागुन, डोटी । डोटीका स्थानीय तहहरुले डेढ वर्षको अवधिमा गाडी खरीदमा झण्डै एघार करोड रुपैयाँ खर्च गरेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि २०७४ साल साउनदेखि २०७५ पुस मसान्तसम्मको अवधीमा १० करोड ९३ लाख ८६ हजार ८ सय २९ रुपैयाँ खर्च भएको हो ।

अचम्म त यो छ कि गाडी खरिदमा जिल्ला सदरमुकामसमेत रहेको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको भन्दा धेरै खर्च पूर्वीचौकी गाउँपालिकाको छ । पूर्वीचौकी गाउँपालिकाले दिपायल सिलगढी नगरपालिकाभन्दा १ करोड ६० लाख ६८ हजार १६३ रुपैयाँ बढी खर्च गाडी खरिदमा गरेको छ ।

‘नगरपालिकाको भूगोल ठूलो हुने, कर्मचारी धेरै हुने, जिम्मेवारी र दायित्व पनि बढी हुने भएकाले गाउँपालिकाको भन्दा धेरै सवारी साधन आवश्यक पर्छ । धेरै सवारी साधन खरिद गर्नुपर्दा खर्च पनि गाउँपालिकाको भन्दा नगरपालिकाको धेरै हुनुपर्ने हो, तर डोटीमा त उल्टो देखिएको छ,’ कोष तथा लेखा नियन्त्रकको कार्यालयका एक अधिकारीले भने ।

यतिमात्र होइन, डोटीका अधिकांश स्थानीय तहसँग एक्जाभेटर र डोजरहरु छन् । कतिपय किन्ने तयारीमा छन् । तर, डोजर प्रयोगको नीति नियम पालना भएको छैन ।

कसले कति खर्च गरे ?

यातायातका साधनहरुमा सबैभन्दा बढी खर्च पूर्वीचौकी गाउँपालिकाले गरेको छ । यस गाउँपालिकाले २०७४ साल साउनदेखि २०७५ पुस मसान्तसम्मको अवधीमा दुई करोड ६७ लाख ५५ हजार ६ सय ५२ रुपैयाँ बिभिन्न सवारी साधन खरिदमा खर्च गरेको छ ।

१० मोटरसाइकल खरिदमा २४ लाख ९७ हजार दुई सय रुपैयाँ खर्च भएको छ । ३७ लाख २० हजारमा पिकअप जीप, १ करोड २३ लाख ६२ हजार ४ सय ५० रुपैयाँमा एक्जाभेटर खरीद गरिएको छ । यसैगरी ८१ लाख ७६ हजार रुपैयाँमा दुईवटा बस पनि पूर्वीचौकी गाउँपालिकाले किनेको छ ।

यसैगरी शिखर नगरपालिकाले १ करोड ५४ लाख २९ हजार ३ सय रुपैयाँ खर्च गरेर बिभिन्न गाडी खर्च गरेको छ । दुई वटा नगर बसमा ५६ लाख ६० हजार, टिपरमा ३८ लाख ६९ हजार, जीपमा ३६ लाख ९५ हजार, ८ वटा मोटरसाइकलमा २० लाख २६ हजार ४ सय र एउटा स्कुटरमा एक लाख ७८ हजार ९ सय रुपैयाँ खर्च भएको देखिन्छ ।

दिपायल सिलगढी नगरपालिकाले १ करोड ६ लाख, ८७ हजार, ४ सय ८९ रुपैयाँ गाडी खरिदमा खर्चेको छ । यस नगरपालिकाले ३४ लाख आठ हजार ६ सय पाँच रुपैयाँमा १५ मोटरसाइकल खरीद गरेको छ । यस्तै दुई नगर बसमा ५१ लाख ९० हजार, एउटा ट्याक्टरमा १६ लाख ३८ हजार आठ सय ८४ रुपैयाँ र सक्सनम ट्यांकमा ४ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

पूर्वी चौकी गाउँपालिका, शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकाले समान दुई–दुई वटा बस खरिद गरेका छन् । तर, पूर्वचौकी गाउँपालिकाले दिपायलभन्दा २९ लाख ८६ हजार रुपैयाँ बढी खर्च गरेको देखिन्छ । दिपायल र शिखर नगरपालिकाले खरिद गरेका बसको मूल्यमा ४ लाख ७० हजार रुपैयाँ अन्तर देखिन्छ ।

गाडी खरिदको खर्चमा बडीकेदार गाउँपालिकाले पनि डोटीका दुवै नगरपालिकालाई उछिनेको छ । बडीकेदारले बिभिन्न गाडी खरिदमा १ करोड ८१ लाख ७९ हजार एक सय रुपैयाँ खर्च गरेको छ । १ करोड २० लाख रुपैयाँमा एउटा एक्जाभेटर, ३८ लाख ७० हजार रुपैयाँमा एउटा पिकअप जीप र २३ लाख ९ हजार १ सय रुपैयाँमा नौवटा मोटरसाइकल खरिद गरिएको छ ।

सायल गाउँपालिकाले मोटर गाडी खरिदमा एक करोड ५६ लाख १६ हजार दुई सय रुपैयाँ खर्च गरेको छ । यस गाउँपालिकाले सात लाख ४६ हजार दुई सयमा तीनवटा मोटरसाइकल खरीद गरेको छ । यस्तै महिन्द्रा बोलेरो जीपमा २३ लाख ८५ हजार र एक्जाभेटरमा एक करोड २४ लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ ।

केआई सिंह गाउँपालिकाले सबैभन्दा धेरै १७ वटा मोटरसाइकल खरिद गरेको छ । मोटरसाइकल खरिदमा ३२ लाख ६९ हजार एक सय १५ रुपैयाँ खर्च भएको छ । यस्तै मिनि टिपरमा २० लाख १३ हजार दुई सय ७४ रुपैयाँ र व्याक लोडरमा ४० लाख ९९ हजार ९ सय ९९ गरी जम्मा ९३ लाख ८२ हजार ३ सय ८८ रुपैयाँ खर्च भएको देखिन्छ ।

बोगटान गाउँपालिकाले ७६ लाख १३ हजार ८ सय रुपैयाँ खर्च गाडी खरिदमा गरेको छ । उसले ४ वटा मोटरसाइकल खरीद गरेको छ । मोटरसाइकल खरिदमा ९ लाख ७८ हजार ८ सय रुपैयाँ खर्च भएको छ । यस्तै व्याक लोडर (डोजर)मा ४२ लाख ५० हजार र महिन्द्रा बोलेरो जीपमा २३ लाख ८५ हजार रुपैयाँ खर्च भएको देखिन्छ ।

जोरायल गाउँपालिकाको खर्च अन्यको भन्दा तुलनात्मक कम देखिन्छ । यस गाउँपालिकाले ५८ लाख ३८ हजार नौ सय ९९ रुपैयाँ खर्च गाडी खरिदमा गरेको छ । जोरायलले १० वटा मोटरसाइकल खरिद गरेको छ र यसमा २२ लाख आठ हजार ९ सय ९९ रुपैयाँ खर्च भएको देखिन्छ । यसैगरी एउटा महिन्द्रा पिकअप जीपमा ३६ लाख ३० हजार रुपैयाँ खर्च भएको छ ।

आदर्श गाउँपालिकाले डोटीका स्थानीय तहहरुमध्ये सबैभन्दा कम खर्च गरेको छ मोटर गाडी खरीदमा । उसको खर्च ५७ लाख २२ हजार ९ सय रुपैयाँ देखिन्छ । १४ वटा मोटरसाइकल खरीदमा ३३ लाख ३७ हजार ९ सय र एउटा महिन्द्रा बोलेरो जीप खरीदमा २३ लाख ८५ हजार रुपैयाँ खर्च देखाइएको छ ।

एकरुपता छैन मूल्यमा

डोटीका नौ स्थानीय तहहरुमा यो डेढ वर्षको अवधीमा ९१ मोटरसाइकल भित्रिएका छन् । सबैभन्दा बढी केआई सिंह गाउँपालिकाले १७ वटा र सबैभन्दा कम सायल गाउँपालिकाले ३ वटा मोटरसाइकल भित्राएका छन् ।

दिपायल सिलगढी नगरपालिकाले १५, आदर्श गाउँपालिकाले १४, जोरायल गाउँपालिकाले १०, पूर्वीचौकीले १०, शिखर नगरपालिकाले एक स्कुटरसहित ९, बडीकेदार गाउँपालिकाले ९ र बोगटानले ४ मोटरसाइकल खरिद गरेका छन् ।

स्थानीय तहले खरीद गरेका दुई पांग्रे सवारी साधनहरुको मूल्यमा भने एकरुपता छैन । एउटै कम्पनीको एउटै मोडलको र एउटै क्षमताको मोटरसाइकल पनि फरक–फरक दरमा खरिद गरिएको छ ।

यस्ता मोटरसाइकलहरुको व्यापक दुरुपयोग भइरहेको गुनासो पटक–पटक आइरहे पनि प्रभावकारी नियमन नहुँदा दुरुपयोग रोकिएको छैन । स्थानीय तहसँग असंलग्न व्यक्तिहरुले पनि चलाउने, लाइसेन्स नभएकाहरुले चलाउने, एउटै मोटरसाइकलमा एकैपटक तीन जना चढ्ने र बिदाको दिन पनि सवारी साधनहरु चलाउने गरेको पाइन्छ । स्थानीय तहका सवारी साधनहरुको प्रभावकारी अनुगमन नहुँदा जनप्रतिनिधिहरुका आफन्त र कर्मचारीका परिवारका सदस्यहरुले मेला र भोज भतेरमा समेत सरकारी प्रयोजनका सवारी साधन प्रयोग गरेको जनगुनासो छ ।

डोजर प्रयोगको नीति लागू भएन

पूर्वीचौकी गाउँपालिका, बडीकेदार गाउँपालिका र सायल गाउँपालिकाले एक्जाभेटर खरीद गरेका छन् । के आई सिंह गाउँपालिका र बोगटान गाउँपालिकाले व्याक लोडर खरीद गरेका छन् भने आदर्श गाउँपालिका पनि व्याक लोडर खरीद गर्ने तयारीमा रहेको बताइएको छ । दिपायल सिलगढी नगरपालिकासँग जनप्रतिनिधिहरु आउनुअघि नै व्याक लोडर छ ।

सरकारले फागुन १ गतेदेखि लागु हुने गरी एक करोडभन्दा कम रकम बिनियोजन भएका सडक योजनाहरुमा मेसिनको प्रयोग गर्न नपाउने नीति ल्याएपछि करोडौं खर्च गरेर भित्रिएका डोजरहरुको भविश्य के हुने भन्ने विषय अन्यौलमा छ ।

यद्यपि उक्त नीति डोटीमा लागु भएको छैन । गाउँपालिकाले खरीद गरेको डोजर प्रयोगको बिषयमा विवाद भएपछि केही दिनअघि बडीकेदार गाउँपालिकाको कार्यालय र वडा नं. ३ को कार्यालयमा तालावन्दी समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment